काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ । सन् २०२५ मा नेपाली संगीत क्षेत्रमा गायक दुर्गेश थापा र गायिका एलिना चौहान चर्चामा रहे ।
एलिना व्यक्तिगत कारणले चर्चामा आइन् । उनको गायनको पाटो भने ओझेलमै पर्यो भन्दा फरक पर्दैन । गायनका लागि प्रस्तुती दिन अमेरिका जाँदा पनि उनी आयोजकसँगको लफडाले नै चर्चामा आइन् ।
दुर्गेश थापा भने गायनले चर्चामा आए । सन् २०२४ को डिसेम्बर ३० मा उनले ‘दुस्मन हेरेको हेर्यै’ बाेलेको गीत सार्वजनिक गरे । सन् २०२५ को सुरुवातमा संगीत क्षेत्रमा यही गीत हाबी भयो ।
यो गीतले अहिलेसम्म १५ करोडभन्दा बढी भ्युज पाएको छ । १२ करोडभन्दा बढी भ्युज यो गीतले २०२५ मै पाएको हो । यो नै यस वर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको गीत हो ।
यो गीतमार्फत् उनले गायनमा कमब्याक गरे । उनी यो वर्षको सर्वाधिक डिमान्डेड र व्यस्त संगीतकर्मी पनि बने ।
अन्य मञ्चमा व्यस्त कलाकारमा गायिका समीक्षा अधिकारी, रचना रिमाल र शान्ति श्री परियार देखिए ।
गायिका तथा मोडल ज्योति मगर पनि यो वर्ष चर्चाको केन्द्रमा नै रहिन् । उनी गायिकाभन्दा पनि बढी राजनीतिक छेडखानीले चर्चामा आइन् । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा उनको सक्रियता अस्वभाविक थियो ।
उनी अध्यक्ष केपी शर्मा ओली निटक रहेको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल नै भयो । ग्ल्यामर शो गरेर चर्चामा आउने ज्योति यो पटक राजनीतिक चेत देखाएर चर्चामा आइन् ।
भाइरलले लिए शीर्ष दुई स्थान
बढी चर्चामा आउने र प्रभाव कम समय टिक्ने गीतलाई भाइरलको संज्ञा दिइन्छ । यो वर्ष सबैभन्दा बढी भ्युज पाउने गीतले नै भाइरल संज्ञा पाएको छ । सबैभन्दा बढी भ्युज पाउने दोस्रो स्थानमा पनि भाइरल गीत नै छ, ‘मकै बारी दर्याम दर्याम’ ।
विशाल सोने र सुष्मा शाही ठकुरीले गाएको यस गीतले ४ करोड ९९ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीत टिकटकमा पनि भाइरल भएको थियो ।
सबैभन्दा बढी भ्युज पाउने तेस्रो गीत भने ‘राधा’ हो । यो भने सुपरहिट हो । यसमा गायक स्वप्न सुमन र गायिका अभिज्ञा घिमिरेले स्वर दिएका छन् ।
बढी भ्युज पाउने फिल्मका गीतहरू
यो वर्ष प्रदर्शनमा आएका फिल्महरू मध्ये ‘ऊनको स्वीटर’का गीतहरू दर्शकले मन पराए ।
यो गीतमा समावेश तीन गीतले नै युट्युबमा राम्रो भ्युज पाए । ‘ऊनको स्वीटरमा समावेश ‘काफ्ले’ नै यस वर्षको सबैभन्दा बढी भ्युज पाएको फिल्मको गीत बन्यो ।
गायिका झुमा लिम्बू र सुजन चापागाईँले गाएको यो गीतले ३ करोड ४८ लाखभन्दा बढी भ्युज पाएको छ । यो फिल्मको अर्को गीत ‘चाइनेजो जिन्दगी’ ले २ करोड ९९ लाख पाएको छ ।
यही फिल्मको ‘मखमली’ले १ करोड ९४ लाख भ्युज पाएको छ । जुन सन् २०२४ मा सार्वजनिक भएको थियो । तथापि, सन् २०२५ मा प्रदर्शनमा आएका फिल्महरू मध्ये ‘ऊनको स्वीटर’को मात्रै तीन गीत हिट बने ।
सबैभन्दा बढी तेस्रो भ्युज पाउने फिल्मको गीत ‘न्याउली वनैमा’ हो । शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले गाएको यस गीतले २ करोड ९८ लाखभन्दा बढी भ्युज पाएको छ ।
त्यस्तै, टिकटकमा चर्चामा आएको फिल्मको गीत ‘सुतेर उठेको पैसा’मा हो । फिल्म ‘माग्ने राजा’का लागि गायक बाबुल गिरीले गाएको गीतले १ करोडभन्दा बढी भ्युज पाएको छ ।
जुन गीत टिकटकमा चले
अहिले ‘जुन गीतमा बढी टिकटक बन्छ त्यही हिट’ भन्ने भाष्य बनेको छ । ‘क्याच्ची’ लाइन भएका गीतहरू टिकटकमा बढी चर्चामा आउने गर्छन् ।
गायक अर्जुन सापकोटाको ‘झली’ बोलको गीतले पनि टिकटकमा चर्चा पायो । युट्युबमा पनि यो गीतको भ्युज राम्रै छ । १ महिनाअघि सार्वजनिक यस गीतले १ करोड ८२ लाखभन्दा बढी भ्युज पाएको छ ।
यही गीतले गायक सापकोटालाई एक्सपोजर मिलेको छ । यो गीतमा ८१ हजारभन्दा बढीले टिकटक बनाएका छन् ।
टिकटकमा भाइरल अर्को गीत हो, ‘आन्टी लभर’ । यो गीतका गायक अशिष अविरल र गायिका कला लम्साल हुन् । गीतको एक अंश ‘आइ ओ के छ खबर… केटी आन्टी लभर’ मात्रै ७१ हजार वटा टिकटक बनेका छन् । युट्युबमा यस गीतले २ करोड ७९ भन्दा बढी भ्युज पाएको छ ।
दुर्गेशको अर्को गीत ‘जाने भए जाम माया’ पनि टिकटकमा भाइरल गीतमा पर्छ । दुर्गेश र सिसन बालियाँको स्वर रहेको यस गीतले २ करोड ५४ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीतको विभिन्न अंशमा ६० हजारभन्दा टिकटक बनेका छन् ।













प्रतिक्रिया