काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा आएका नेपाली फिल्म बक्स अफिसमा फ्लप छन् । केही फिल्मले करोड ग्रस कलेक्सन गरे पनि प्रायः लाखमै सीमित छन् ।
यो अवस्थामा हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ले नेपाली हलमा दर्शकको राम्रो साथ पाएको छ । नेपाली बक्स अफिसमा ५ करोड ग्रस कलेक्सन कटाउने यो पछिल्लो फिल्म बनेको हो ।
यही शनिबारसम्म यो फिल्मले ६ करोड ६७ लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् जानकारी दिएको छ ।
बोर्डका अनुसार यो फिल्म हेर्न एक लाख ६२ हजार टिकट बिक्री भएको छ । यो फिल्म पुस ४ गतेदेखि प्रदर्शनमा आएको थियो ।
यसमा हलिउड स्टारहरू साम वर्दिङ्टन, जो साल्डाना र सिगोर्नी विभोरको अभिनय छ ।
उता अघिल्लो शनिबार माघ १० देखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘बोर्डर २’ले पनि राम्रो सुरूवात गरेको छ । यो फिल्मले सुरुवाती ८ प्रदर्शन दिनमा २ करोड २१ लाख ग्रस कलेक्सन गरेको छ ।
‘बोर्डर २’ मा सनी देओल, वरुण धवन र दिलजित दोसाँझ मुख्य भूमिकामा छन् ।













प्रतिक्रिया