काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक विस्फोट मात्र थिएन, त्यो घटनाक्रम नेपाली राजनीतिको दिशा मोड्ने निर्णायक मोड साबित भयो ।
यदि भदौ २३ मा जेन–जी पुस्ताको आन्दोलन र त्यसलगत्तै भदौ २४ मा भएको विध्वंसकारी घटना नभएको भए प्रतिनिधिसभा निर्वाचन सम्भवतः २०८४ सालसम्म धकेलिने अवस्था थियो । तर ती घटनाले राजनीतिक प्रणालीलाई तत्कालै दबाबमा पार्दै फागुन २१ मै नयाँ निर्वाचन अपरिहार्य बनाइदियो ।
यही पृष्ठभूमिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई जेन–जी आन्दोलनको प्रत्यक्ष राजनीतिक परिणति मान्न सकिन्छ ।
किनकि यस निर्वाचनमा जेन–जी पुस्ता मतदाता मात्र नभई उम्मेदवारकै रूपमा उल्लेख्य संख्यामा चुनावी मैदानमा उत्रिएको छ। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पश्चात् सार्वजनिक गरेको अन्तिम सूचीअनुसार १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये ३ हजार १७ जना पुरुष र ३८८ जना महिला छन्।
निर्वाचन आयोगको सूची गहिरो रूपमा विश्लेषण गर्दा प्रत्यक्षतर्फ १५४ जना जेन–जी पुस्ताका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । तीमध्ये ७६ जना विभिन्न राजनीतिक दल र ७८ जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् ।
यो तथ्यांकले जेन–जी पुस्ता संस्थागत दलहरूप्रति पूर्ण रूपमा भरोसामा नरहेको र वैकल्पिक राजनीतिको खोजीमा रहेको संकेत दिन्छ।
कांग्रेसको शून्यता, पुराना दलको हिच्किचाहट
यो निर्वाचनको सबैभन्दा रोचक पक्ष भनेको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट एक जना पनि जेन–जी पुस्ताका उम्मेदवार अघि नआउनु हो ।
निर्वाचन आयोगको तथ्यांक र कांग्रेसका आधिकारिक उम्मेदवार सूची दुवै अध्ययन गर्दा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा जेन–जी पुस्तालाई प्रतिनिधित्व नगरिएको पुष्टि हुन्छ ।
एमालेले भने दुई जना मात्र जेन–जी उम्मेदवार अघि सारेको छ-ओखलढुङ्गाबाट २८ वर्षीया अस्मिता थापा र सर्लाही–४ बाट २७ वर्षीय अमनिसकुमार यादव । नेपाली कम्युनिस्ट पार्टीबाट पनि बारा–४ का २७ वर्षीय अजय कुशवाहा मात्र जेन–जी पुस्ताका प्रतिनिधि हुन् । यी तथ्यले परम्परागत दलहरू अझै पनि युवा पुस्तालाई नेतृत्वको तहमा ल्याउन अनिच्छुक देखिएको विश्लेषणलाई बल पुर्याउँछ।
रास्वपा दाबी ठूलो, संख्या सीमित
जेन–जी आन्दोलनको ऊर्जा आफूसँग रहेको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा धेरै ९ जना जेन-जी उम्मेदवार अघि सारेको छ। तर ‘पुराना दलको विकल्प’ भन्ने दाबीको अनुपातमा यो संख्या अपेक्षाकृत कम देखिन्छ।
रास्वपाबाट (सिरहा–१) मा २८ वर्षीय बब्लु गुप्ता, कैलाली–२ मा २५ वर्षीय केपी खनाल, नवलपरासी (बर्दघाट सुस्तापूर्व –२) मा २६ वर्षीय मनिष खनाल, तेह्रथुममा २८ वर्षीय सुरेन्द्र कार्की, मुगुमा २५ वर्षीय भुवन टमाटा, रुपन्देही–२ मा २८ वर्षीय सुलभ खरेल, हुम्लामा २६ वर्षीया टासी ल्हान्जोम, अछाम–१ मा २७ वर्षीय ओमप्रकाश रावल र मकवानपुर–२ मा २५ वर्षीय प्रशान्त उप्रेती उम्मेदवार बनेका छन्।
यसैगरी, भर्खरै जेन–जी उमेर समूह पार गरेका २९–३० वर्ष उमेरका निशा डाँगी, विनिता कठायत र सोबिता गौतमलाई पनि रास्वपाले उम्मेदवार बनाएको छ, जसले युवामैत्री छविलाई निरन्तरता दिन खोजेको देखिन्छ।
उनेपा र नेमकिपा : आन्दोलनको राजनीतिक रूपान्तरण
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले जेन–जी आन्दोलनको बलमा उदाएको दाबी गर्दै ७ जना जेन–जी युवालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।
आन्दोलनमा घाइते भएकी किशोरी कार्कीलाई उम्मेदवार बनाउनु उनेपाको प्रतीकात्मक राजनीतिक सन्देश हो । उनेपाले २८ वर्षीय मनोजकुमार गुप्ता (महोत्तरी–१) र २७ वर्षीय गोपाल तामाङलाई (सुनसरी–२) उम्मेदवार बनाएको छ।
२५ वर्षीय बसन्त बुढाथोकी (मोरङ–६) र २८ वर्षीय राजेश रावल अछाम–२ बाट उम्मेदवार बनेका छन् । सिरहा–३ बाट २६ वर्षीय श्रवण पासवान र रौतहट–२ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेलले उनेपाबाट उम्मेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीले पनि जेन–जी उमेर समूहका सात जनालाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। जस्तो, २५ वर्षीया निलमकुमारी यादव सप्तरी–२ र २५ वर्षीया गंगाकुमारी राजवंशी मोरङ–५ बाट नेमकिपाको उम्मेदवार बनेका छन्।
नेमकिपाबाट २७ वर्षीय सुग्रिम चाई रुपन्देही–३ , २८ वर्षीय तृष्ण पुनमगर कैलाली–५ र २६ वर्षीय राजु तामाङ काभ्रेपलाञ्चोक–२ बाट चुनावी मैदानमा उत्रिएका छन् भने अछाम–१ मा २६ वर्षीय सुरेन्द्र शाही छन् । नेमकिपाले कैलाली–१ बाट २५ वर्षीया सुनिता भण्डारीलाई प्रत्यक्ष उम्मेदवारको रूपमा मैदानमा उतारेको छ।
नेकपा एमालेले जेन–जी पुस्ताका दुई जना उम्मेदवार मात्र प्रत्यतक्षतर्फ अघि सारेको छ। एमालेले ओखलढुङ्गाबाट २८ वर्षीया अस्मिता थापा र सर्लाही–४ बाट २७ वर्षीय मनिषकुमार यादवलाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जेन–जी पुस्ताका एक जना मात्र उम्मेदवार छन्, बारा–४ बाट प्रतिस्पर्धा गरिरहेका अजय कुशवाहा। २७ वर्षीय कुशावाहा बास्केटबलका राष्ट्रिय खेलाडी हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा सहभागी ‘राष्ट्रिय परिवर्तन पार्टी’ ले चार जना जेन–जी उम्मेदवार अघि सारेको छ । तिनमा २५ वर्षीय सालिकराम राई (धनकुटा), २६ वर्षीया उषालक्ष्मी तुम्वाहाङफे (तेह्रथुम), २६ वर्षीय अरुण राई (उदयपुर) २० र २५ वर्षीय मिरेश राई (खोटाङ) छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पनि चार जना जेन–जी युवा चुनावी मैदानमा छन्। राप्रपाले आन्दोलनमै सक्रिय २७ वर्षीय रविकिरण हमाल (सुर्खेत १), २८ वर्षीय अधिवक्ता कल्याणविक्रम आचार्य (बागलुङ), २७ वर्षीय सविन निरौला (मोरङ–६) र २७ वर्षीय अजयकुमार दास (सप्तरी–२) लाई उम्मेदवार बनाएको छ।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले जेन–जी पुस्ताका २६ वर्षीय पंकज ठाकुर (सिराहा–४), २८ वर्षीय वसिम शेष (पर्सा–१) र २८ वर्षीय महेन्द्र पुन मगर (डडेलधुरा) लाई प्रत्यक्षतर्फका उम्मेदवार बनाएको छ ।
त्यस्तै, जनमत पार्टीले यही पुस्ताका २७ वर्षीय वीरेन्द्र महतो (महोत्तरी–१), २८ वर्षीय सोनु कुशहवा (रौतहट–२) र २८ वर्षीय रामकल्याण राउत (रौतहट–४) लाई उम्मेदवार बनाएको छ।
गतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्षतर्फ अघि सारेका तीनजना उम्मेदवारमध्ये सुर्खेत–२ मा उम्मेदवारी दिएका २७ वर्षीय पवन थापा मगर जेन–जी पुस्ताका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले जेन–जी पुस्ताका चार जना उम्मेदवार अघि सारेको छ जसमा विकास रसाइली (चितवन–१), २८ वर्षीय सन्दीप पुन (रुकुमपूर्व), २६ वर्षीय विकास बुढा (डोल्पा) र २६ वर्षीय प्रतीक अधिकारी (दाङ–२) छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २७ वर्षीय सुशान्त साम्पाङ राई (झापा–५) लाई उम्मेदवार बनाएको छ भने राष्ट्र निर्माण दल नेपालले २६ वर्षीय आदित्य आचार्यलाई (सुनसरी–२) मा उम्मेदवार बनाएको छ ।
‘नेपालका लागि नेपाली पार्टीले २५ वर्षीय रजनिश राज पाण्डे (महोत्तरी–३) र २७ वर्षीय कृष्ण यादव (सर्लाही–२) लाई जेन–जी पुस्ताका प्रतिनिधिको रूपमा उम्मेदवार बनाएको छ ।
त्यस्तै, जनता लोकतान्त्रिक पार्टीले २६ वर्षीय शिवशंकर कुमार शर्मा (महोत्तरी–४) लाई मैदानमा उतारेको छ । मंगोल नेशनल अर्गनाइजेसनबाट २६ वर्षीय विनोद थिङ (रसुवा), २८ वर्षीया श्रृषा गोले (चितवन–२), २५ वर्षीय कमान बुढामगर (जाजरकोट), २७ वर्षीय पेम्बा घले (भक्तपुर–२) र २८ वर्षीय सुस्मा आले (तनहू–२) चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल जनसेवा पार्टीले जेन–जी पुस्ताका २७ वर्षीय अर्जुनबहादुर शाही (काठमाडौँ– १), २६ वर्षीय हृदयन्द्र अधिकारी (सुर्खेत–२) र २८ वर्षीय उमेश तामाङलाई (काभ्रेपलान्चोक–२) लाई उम्मेदवार बनाएको छ।
समावेशी समाजवादी पार्टीले २८ वर्षीय सुरेन्द्र पाण्डे (काठमाडौँ–१) लाई उम्मेदवार बनाएको छ भने जय मातृभूमि पार्टीले २६ वर्षीय अविन मेयाङ्गवो (काठमाडौँ–३) लाई चुनावी मैदानमा उतारेको छ ।
जनादेश पार्टी नेपालले २५ वर्षीय केश्म सिंह (काठमाडौँ–३) तथा नेशनल रिपब्लिक नेपालले २६ वर्षीय विष्णुमान विक (नवलपरासी बर्दघाट सुस्तापूर्व)लाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टीले २८ वर्षीय प्रदीप भट्टराई (काठमाडौँ–४), २६ वर्षीय मोहम्मद ईस्तखार (पर्सा–३), २६ वर्षीय अजय बिक (मुस्ताङ) र २७ वर्षीया तिर्थाकुमारी बर्शी मगर बिक (दैलेख–२) लाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले २७ वर्षीय मदन डंगोल (काठमाडौँ–९) लाई उम्मेदवार बनाउँदा जनता समाजवादी पार्टीले २७ वर्षीय सरस्वतीप्रसाद बर्मा (बाँके–२) लाई उम्मेदवार बनाएको छ ।
मितेरी पार्टी नेपालले २७ वर्षीया सम्झना विष्ट थापा (कैलाली–२) र २७ वर्षीय सियाराम राना (कञ्चनपुर–१) लाई उम्मेदवार बनाएको छ। संयुक्त नागरिक पार्टीले २७ वर्षीय दानियल विक (कञ्चनपुर–१) लाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।
जनअधिकार पार्टीले २८ वर्षीय सञ्जयकमुार सहनी (बारा–३) लाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।
जनादेश पार्टी नेपालबाट २८ वर्षीय मिलन बास्कोटालाई लम्जुङ–१ मा उम्मेदवार बनाइएको छ । नेपाल जनता पार्टीले २६ वर्षीय रनील विक्रम शाहीलाई जुम्लामा उम्मेदवार बनाएको छ।
सबैभन्दा ठूलो संख्यामा—७८ जना जेन–जी उम्मेदवार स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।
देशका हिमाल, पहाड र तराईका लगभग सबै भूभागबाट स्वतन्त्र जेन–जी उम्मेदवारी देखिनुले दलप्रति अविश्वास र व्यक्तिगत राजनीतिक आकांक्षाको मिश्रित सन्देश दिन्छ ।
आन्दोलनबाट सत्तासम्मको यात्रा
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन जेन–जी पुस्ताका लागि केवल चुनाव होइन, राजनीतिक प्रणालीभित्र आफूलाई स्थापित गर्ने ऐतिहासिक परीक्षा हो ।
आन्दोलनबाट जन्मिएको ऊर्जा संसद्को ढोकासम्म पुगेको छ, तर पुराना दलहरूको संरचनात्मक प्रतिरोध, सीमित टिकट वितरण र स्वतन्त्र उम्मेदवारीको बढ्दो संख्या हेर्दा जेन–जी पुस्ता अझै पनि मूलधारको राजनीतिमा पूर्ण रूपमा स्विकारिएको देखिँदैन ।
अब अन्तिम निर्णय मतदाताको हातमा छ—जेन–जी आन्दोलन सडकमै सीमित रहन्छ कि संसद्मा उपस्थिति जनाएर रूपान्तरण हुन्छ ।













प्रतिक्रिया