काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको ठूलो परिमाणको क्लिङ्कर हिनामिना प्रकरणमा ८ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको निष्कर्ष निकालेको छ ।
जसको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा रहेको आयोगले आइतबार जनाएको छ। यो हिनामिना प्रकरणमा आयोगले तत्कालीन महाप्रबन्धक र दुई निमित्त महाप्रबन्कसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार छानबिनका क्रममा उद्योगमा क्लिङ्करको उत्पादन र मौज्दातमा ठूलो अन्तर देखिएको पाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदन र महालेखापरीक्षकको लेखापरीक्षणबाट क्लिङ्करको खपत बढी तर उत्पादन घटेको देखिएको थियो ।
भौतिक परीक्षणबाट पनि क्लिङ्करको मौज्दात अभिलेखभन्दा निकै कम फेला परेको थियो ।
कति फरक पर्यो ?
आर्थिक वर्ष २०७४/७५ मा १,१२९ मेट्रिक टन क्लिङ्कर घटी, जसको मूल्य १ करोड १४ लाख १० हजार ३४० रुपैयाँ ११ पैसा ।
आर्थिक वर्ष २०७५/७६ मा १०,२०० मेट्रिक टन घटी, मूल्य ११ करोड ३३ लाख ११ हजार ९०२ रुपैयाँ ।
आर्थिक वर्ष २०७६/७७ मा १,३२५ मेट्रिक टन घटी, मूल्य १ करोड ६२ लाख ४६ हजार ७१२ रुपैयाँ ७५ पैसा ।
२०७७ साउन १ देखि पौष मसान्तसम्म २६,११५ मेट्रिक टन घटी, मूल्य ३२ करोड ४३ लाख ५ हजार ४७१ रुपैयाँ ४ पैसा ।
आयोगले यो हिनामिना तत्कालीन पदाधिकारीहरूको मिलेमतो र बदनियतमा भएको ठहर गरेको न्यौपानेले बताए ।
आरोपीहरूले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी सरकार र उक्त उद्योगलाई हानि पुर्याएको आयोगले जनाएको छ।
भौतिक मन्त्रालयको छानबिन समितिले पनि क्लिङ्कर र चुनढुङ्गाको अनुपात असामान्य रूपमा घटी भएको पुष्टि गरेको थियो ।
मागदाबी
सुरेन्द्र कुमार पौडेल (तत्कालीन महाप्रबन्धक): बिगो १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कैद, जरिवाना र बिगो असुली ।
नवल किशोर साह (तत्कालीन निमित्त महाप्रबन्धक): बिगो ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा । त्यही ऐनअनुसार सजाय ।
महेश प्रसाद काफ्ले (तत्कालीन नायब महाप्रबन्धक): बिगो १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ ३१ पैसा । त्यही ऐनअनुसार सजाय ।
सञ्जय कुमार लाल (तत्कालीन उत्पादन महाशाखा प्रमुख), महेश प्रसाद साह (तत्कालीन भण्डार महाशाखा प्रमुख), रवीचन्द्र पौडेल (तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुख), हरिप्रसाद अधिकारी (तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख), र रामबहादुर जीसी (तत्कालीन बिक्री विभाग प्रमुख): जनही बिगो ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा ।
उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार कैद, जरिवाना र बिगो असुली माग गरिएको छ ।













प्रतिक्रिया