काठमाडौं– पछिल्लो समयमा नेपालमा स्वरोजगार तथा व्यावसायिक सम्भावना नदेखेर धेरै नेपाली युवाले देश छाडिरहेका छन् । देश छाड्नेले मुलुकमा कुनै पनि सम्भावना नभएको भनाइ सामाजिक सञ्जालदेखि यत्रतत्र भन्ने गरेको पाइन्छ ।
तर, धेरै मान्छेको लागि भने नेपाल त्यस्तो छैन । नेपालमा विकट हिमाली पहाडी क्षेत्रदेखि सुविधा सम्पन्न पहुँच भएका ठाउँमा पनि धेरै नेपालीले राम्रो व्यवसाय तथा उद्यमको सम्भावना देखेका छन् । उनीहरूले सपना देख्ने मात्रै होइन त्यसलाई व्यवहारिक जीवनमा उतार्ने प्रयत्न पनि गरेका छन् ।
केही वर्ष अघि मात्रै चितवनमा केही किसानले दूधको उचित मूल्य नपाएको भन्दै सडकमा नै दूध पोखेर विरोध प्रदर्शन गरेका थिए ।

तर, धनकुटा महालक्ष्मी नगरपालिका खाप्राङका किसान कमलबहादुर अधिकारीले भने आफ्नो गाइको फार्मलाई अझै विस्तार गर्नेगरी काम गरिरहेका छन् । झण्डै आधा जर्सी र आधा होलिस्टिन जातको सय भन्दा बढी संख्यामा गाई पालन गर्दै आएका अधिकारीले अझै गाईको संख्या थप गर्ने तयारी गरिरहेका छन् ।
झण्डै आधा जर्सी र आधा होलिस्टिन जातको सय भन्दा बढी संख्यामा गाई पालन गर्दै आएका अधिकारीले अझै गाईको संख्या थप गर्ने तयारी गरिरहेका छन् ।
अधिकारीको सानो परिवार छ । उनका छोरा मोहन अदालतमा काम गर्छन् । बुवाले फर्मको पत्यक्ष सञ्चालनमा भूमिका खेलेका छन् भने छोरा मोहनले आफ्नो समय मिलाएर बाहिरी व्यवस्थापनमा बुवालाई सहयोग गर्छन् ।
मोहनका अनुसार फार्ममा अहिले ५० वटा भन्दा बढी माउ गाई छन् भने गर्भवती भएका र बाच्छीहरू ५० वटा जति छन् । फार्मबाट दैनिक ७ सय लिटर जति दूध उत्पादन हुने गरेको छ । त्यतिमात्रै होइन, सो फार्मले अरु गाई पालन फार्मको पनि दूध खरिद गर्ने गर्छ । तर, उत्पादन भएको र खरिद गरेको दूधको बजार व्यवस्थापनमा भने कुनै समस्या नभएको मोहन बताउँछन् ।
‘हाम्रो आफ्नै डेरी पनि छ, दूध बिक्री बाहेक हामीले दूधबाट छुर्पी र घिउ बनाउँछौँ, जसले गर्दा दूधको बजारीकरणमा कुनै समस्या छैन’, उनले भने ।

मोहनका अनुसार उनको फार्मले उत्पादन गरेको छुर्पी निर्यातकर्ताले घरमै आएर लैजान्छन् । जसले गर्दा छुर्पीको बिक्रीमा पनि कुनै समस्या छैन ।
‘हामीले उत्पादन गरेको छुर्पी विदेशमा निर्यात हुन्छ, शून्य ‘फ्याट’ भएको छुर्पी झण्डै ११ सय रुपैयाँ किलो बिक्री हुन्छ, थप उत्पादन गर्न सकेको खण्डमा पनि बजारको समस्या छैन’, उनले भने ।
नेपाली बजारमा भने छुर्पीको माग राम्रो नभएको र मूल्य पनि राम्रो नपाइने अवस्था रहेकोले नेपालमा बिक्री गर्दा फाइदा नहुने उनले बताए ।
मोहनका अनुसार दूध उत्पादन गरेर उनको फार्मलाई अहिलेसम्म दूध र छुर्पी बिक्रीको लागि समस्या भएको छैन । बरु अझै उत्पादन बढाउने योजनामा उनको परिवार जुटेको छ । जसको लागि अहिले थप गोठ बनाउने काम समेत गरिरहेको उनले बताए ।
फार्मले अहिले दैनिक १३ जनालाई रोजगारी दिएको छ भने दैनिक दूध, घ्यु र छुर्पी बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ ।
मोहनका अनुसार उनको फार्मले अहिले दैनिक १३ जनालाई रोजगारी दिएको छ भने दैनिक दूध, घ्यु र छुर्पी बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ ।
‘हामी बजारभन्द टाढा छौँ, जसले गर्दा खुद्रा बिक्री हुँदैन, घाँसको व्यवस्थापन, दूध दुहुने, छुर्पी तयार गर्ने, घिउ बनाउने लगायतका काममा दैनिक काम गर्ने १३ जना जति हुनुहुन्छ’, उनले भने।
मोहनका अनुसार उनका बुवाले गाई पालन गर्न लागेको भने धेरै वर्ष भयो । ०५२ सालमा बुवाले फिक्कलबाट गाई ल्याएर पाल्न सुरु गरेको र ०६९ मा गोर्खाको फार्मबाट केही थप गाई ल्याएर पाल्न सुरु गरेको उनले बताए ।
दूध उत्पादन गरेर अरुको डेरीमा बिक्री गर्दा फाइदा नभएपछि आफैँले डेरी सञ्चालन सुरु गरेको मोहले बताए । ‘अरुको डेरीमा दूध बिक्री गर्दा फाइदा भएन, समयमा पैसा पनि नपाइने, अनि आफैँले थालेका हौँ’, उनले भने ।
गाईलाई घाँस खुवाउनको लागि केही आफ्नो र केही अरूको जमिन भाडामा लिएर तीन सय रोपनी जग्गामा घाँस रोप्ने काम गरेको छ । दाना भने उद्योगबाट नै खरिद गरेर ल्याउने गरिएको मोहनले बताए ।
नबिलसँग झण्डै एक करोड सहुलियतपूर्ण ऋण साझेदारी
मोहनले ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने काममा पुँजी जुटाउन गाह्रो हुने बताउँछन् । मुख्य गरेर बैंकले लगानी गर्दा धितो माग्ने तर, ग्रामीण क्षेत्रको जमिनको कम मूल्यांकन गर्ने कारणले आवश्यकता अनुसार ऋण पाइने अवस्था नरहेको उनको गुनासो छ ।
तर, उनको फार्मले भने सुरुवातदेखि नबिल बैंकसँग सहुलितपूर्ण कर्जा लिएर काम सुरु गर्दै आएको छ । ‘८ वर्ष जति समय भयो होला हामीले नबिल बैंकसँग कारोबार गर्न लागेको, सुरुमा पाँच वर्षको लागि सहुलियतपूर्ण ब्याजदरमा २० लाख लिएका थियौँ, त्यो चलाइसक्यौँ, अहिले १ करोड जति होला, तर, सहुलियतको समय सकिएकाले थप ब्याजदरमा काम गरिरहेका छौँ’, उनले भने।
आफूलाई थप पुँजी लगानीको आवश्यकता भएको तर, धितो व्यवस्था गर्ने अवस्था नरहेको कारणले थप कर्जा लिने अवस्था भने नभएको उनले बताए ।
‘अब आधुनिक मेसिन आएका छन्, घाँस पनि मेसिनबाट हाल्न मिल्नेगरी सुविधासम्पन्न हुनेगरी आफ्नै क्षमतामा नयाँ गोठ बनाउँदै छौँ’, उनले भने, ‘दाना पनि नेपालभन्दा बाहिरबाट नै आउने अवस्थामा महंगो पर्छ, सरकारले अनुदान दिए त राम्रो तर, अनुदान नभए पनि हाम्रो धितो पनि समस्या छ, बैंकले धितो ल्याउनुस् थप पैसा लैजानुस् भन्छ, तर, त्यो अवस्था रहेन ।’
सरकारले यस्ता प्रकारका उत्पादनमूलक कृषि उद्यमलाई लक्षित गरेर कर्जा प्रवाहलाई आयोजनामा आधारित बनाउन सकेमा थप सहज हुने पनि उनले बताए ।
नबिल बैंकले सहकार्य गरिरहेको आधारमा सहयोगीपूर्ण ढंगले कर्जामा सहजीकरण गरेको भन्दै उनले विगतमा कोभिड महामारी पछि अप्ठ्यारो परेको अवस्थामा पनि कर्जा थप गरेर फार्मलाई नयाँ शिराबाट अगाडि बढाउन सहयोग गरेको सम्झिए ।

प्रदेश सरकारले विभिन्न प्राविधिक सामग्रीबापत एकपटक अनुदान दिएको पनि उनले बताए । साथै, पछिल्लो समयमा घाँस रोपिएका ठाउँहरूमा पनि सडक पुगेको र ट्रयाक्टरको प्रयोग गरेर घाँस ल्याउन पाइने हुँदा पनि काम गर्न सहज भएको मोहनको भनाइ छ ।
बुवाले पहिले गाउँमा मिल चलाउने काम गर्दै आएकोमा पछि काका र उनको बुवा दुवैले गाई फार्म सुरु गरेका थिए । अहिले गाउँमा अरुले पनि गाई फाम थप गरेका छन् । गाई फार्मको सुरुवात गरेपछि भएको आम्दानीलाई थप गर्दै जाँदा अहिले फार्म करोडौँ रुपैयाँको पुँजी पनि भइसकेको मोहनले सुनाए ।













प्रतिक्रिया