काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि यात्रुहरु अलपत्र परेका छन् । दुबई, कतार, साउदी अरब जस्ता ट्रान्जिट नभई सीधा उडान हुने देशमा जान लागेका यात्रुहरुले पैसा नभएर खानासमेत नखाएको दुख व्यक्त गरेका छन् ।
सीमित खर्च बोकेर हिँडेका उनीहरु उडान स्थगित भएपछि विमास्थलमै सुतेका छन् । साथै, उनीहरुले विमास्थलभित्र पानीको मूल्य धेरै भएकाले किन्न नसकेको बताए । लोकतान्त्रिक होटल व्यवसायी संघले मारमा परेका यात्रुहरुको व्यवस्थापनमा जुटिरहेको प्रचार गरेपनि स्थल पुग्दा यात्रुहरु भने खानासमेत खान नपाइरहेको अवस्थामा भेटिए ।
दुई रातदेखि विमानस्थलको चिसो छिँडीमा सुतेर रात बिताएका केही यात्रुहरु बिरामी भएका छन् । केहीको शरीर र केही आँखा सुन्निएको अवस्थामा भेटिए । तर विमानस्थल कर्मचारीसँग सहयोगको अपेक्षा राख्दा केही गर्न नसकिने जवाफ आएपछि यात्रुहरु राज्यविहिन अनुभव गरिरहेको गुनासो गरिरहेका छन् ।
खबरहबसँग कुरा गर्दै उनीहरुले सरकार, मेनपावर र अन्य निकायसँग सहयोगको अपेक्षा राखेका छन् ।
– घर फर्किने गाडी भाडा छैन

रोशनकुमार यादव, सिरहा
पहिलो पटक कतार जाँदैछु । हिजो आइपुगेको थिएँ । बेलुका ९ः४५ मा उडान थियो । मेनपावरले ‘एयरपोर्टकै कर्मचारीसँग समन्वय गर्नू । हाम्रो यसमा कुनै भूमिका हुँदैन’ भन्यो । होटलमा गएर बस्नु भनियो । सुतेको पाँच सय, खाना बिहान र बेलुका दुई छाक खाएको पाँच सय रूपियाँ लियो । दैनिक हजार रूपैयाँ सकिएको छ ।
दुई दिन रोकिँदा पैसा सकियो । अब होटल जाने पैसा पनि छैन । युद्ध लम्बिएर उडान रोकियो र घर फर्किनु पर्यो भने अब घर फर्किने गाडी भाडा पनि छैन । एक दिनको खर्च बोकेर हिँडेको थिएँ ।
– बाटो खर्च नबोक्दा आपत व्यहोर्नुपर्यो

जयलाल मण्डल, धनुषा
कतार जान लागेको तेस्रो पटक हो । छुट्टीमा घर आएको थिएँ । छोरीको बिहेको लागि जम्मा २० दिनको बिदा लिएर आएको थिएँ । कार्पेन्टरको काम गर्छु । नेपालमा पहिले यहीँ काम गर्थेँ । यही कामको लागि कतारमा केही राम्रो पैसा छ । त्यसैले विदेश जान लागेको हुँ ।
आजको मेरो उडान हो । आजै बिहान जिल्लाबाट काठमाडौं आइपुगेँ । बेलुकासम्म कतार पुगिहाल्छु भनेर खर्च कमै बोकेँ । नेपाली पैसा धेरै बोकेर पनि के गर्ने ? उता गएपछि चल्दैन ।
त्यही भएर पनि पैसा बोकिन । कतारमा बम हान्यो भन्ने समाचार मैले थाहा पाइँन । पाएको भएपनि उडान समयमा एयरपोर्ट त आउनै पर्यो । घरबाट छोड्न पनि कोही आएको छैन । एक्लै यहाँ यता र उता गरेर बसेको छु । घरमा पनि पैसा भर्खर छोरीको बिहेमा ठूलो खर्च भयो । ऋणधन गरेर घरबाट पैसा मागेर होटलमा बस्नेहोला ।
भोट हाल्नेभन्दा कमाउन पर्यो । हामीले भोट दिएका नेताले हाम्रो पेट भर्दिदैनन् । मलाई चुनाव कत्ति पनि लागेको छैन । त्यही भएर विदा बढाएर बस्न मन लागेन । कतार कम्पनीमा फोन गरेर बुझेको नआत्तिन भनेको छ । टिकट रद्द हुँदैन । यही टिकटबाट आउन पाउँछ भनेको छ ।
पानीसम्म सोध्न कोही आएनन्

प्रकाशबहादुर सार्की, कञ्चनपुर
साउदी जान भनेर हिँडेको हो । पहिले केही वर्ष मलेसिया बसेँ । यो दोस्रो वैदेशिक रोजगारीमा हिँडेको हुँ । आजको टिकट थियो । तर उडान रद्द भयो भनेको छ । चार दिन भइसक्यो– काठमाडौं होटलमा बसेको पनि । केही भयो भने समस्या हुन्छ भनेर छिट्टै काठमाडौं पुगँे । अब घर जाने कि बस्ने ? दोधारमा छु ।
कहिले खुल्ने पनि यकिन छैन । एक, दुईदिन मात्रै हो भने ठीकै थियो । त्यो भन्दा धेरै दिन लाग्यो भने के गर्ने ? अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् । कोही एक गिलास पानी सम्म सोध्न आएनन् । हाम्रो अवस्थाको बारेमा सोध्न आउनुपर्छ नि ।
सरकारलाई चुनाव लागेको छ

राजकिशोर पण्डित, धनुषा
साउदीको उडान थियो । तीन दिनदेखि अलपत्र भएँ । हामी दुई जना साथी छौँ । हामी दुवै जनासँग पैसा छैन । तराईको मान्छे काठमाडौंमा धेरै जाडो लाग्ने । रातपरेपछि लगाएको लुगाले पुगेको छैन । जाडो भएको छ । यत्तिकै सिमेन्टको छिँडीमा पल्टिएका छौं । खाना खाने पैसा नभएर पानी मात्रै खाएर बसेका छौं ।
एयरपोर्टभित्र पानी पनि सय रूपियाँ छ । खल्तीमा दश रूपियाँ मात्रै छ । के गर्ने ? हामीलाई कसैले सहयोग गर्न आएन । तीनदिनदेखि एयरपोर्टमा छु । खान, बस्ने सुविधा कसैले दिएन । यहीँ बेवारिसे जस्तो भएर बसेको छु ।
सुत्न नपाएर आँखाहरू सुन्निसक्यो । ट्रान्जिट नहुने सिधै उडान हुने हुँदा धेरै पैसा बोकेर हिँडिनँ । यहाँ कर्मचारीलाई सोध्दा हामी केही गर्न सक्दैनौ भन्ने जवाफ आयो । घर फर्किउँ भने फेरि उडान भयो भने के गर्ने ? नफर्किउँ भने कति दिन बन्द हुने हो भन्ने पत्तो छैन । अब घरै फर्किने होला । यस्तो बेलामा सरकारले हेरिदिनुपर्छ । तर सरकारलाई यतिबेला चुनाव लागेको छ । उसलाई हामीजस्ताको पीडा सुन्ने फुर्सद कहाँ छ र ?
सबै उल्टिएर यतै आउनुपर्यो भने के होला ?

कृष्णसिंह बोहरा, धनगढी
शारजाह जान लागेको । ७/८ पटक आउने जाने गर्दै आएको हो । आज १२ बजे आइपुगेँ । बेलुका ९ः३५ बजे उडान छ । धनगढीबाट अघि भर्खरै आइपुगेको हुँ । यहाँ आउँदा सयौं यात्रु अलपत्र देखेर दिक्क लाग्यो । केही गरि उडान भएन भने के गर्ने भनेर सोचिरहेको छु ।
काठमाडौंमा आफन्तको शरण लिन जाने सोचमा छु । तर धेरै दिन रोकियो भने के गर्ने ?कम्पनीले आउनैपर्छ भनेर प्रेसर गरेको छैन । युद्धमा कसको के चल्छ र ? तर रोजगारीको कुरा छ । विदेश नगए, के गरी पैसा कमाउने ?
यो देशमा काम नपाएर विदेश गएको हो । विदेशमा भएकाहरू फर्किनुपर्यो भने झन् भयावह आउँछ । मान्छे मरिरहेका छन् । आफ्नो मात्रै चिन्ता गरेर भएन । एक्लै छु, धेरै टेन्सन छ ।













प्रतिक्रिया