जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य « Khabarhub

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका– १ मा अवस्थित थलथले पोखरीको संरक्षण तथा स्तरोन्नति गरिएको छ । प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै स्थानीय आर्थिक विकासमा टेवा  पुर्याउने लक्ष्यसहित गाउँपालिकाले यो पहल अघि बढाएको हो ।

वर्षौंदेखि स्थानीयका लागि पानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको थलथले पोखरी पछिल्लो समय संरक्षण अभावका कारण जीर्ण बन्दै गएको थियो ।

पोखरी वरपर झारपात बढ्नु, संरचना कमजोर बन्दै जानु तथा पानीका मुहानहरू जोखिममा पर्न थालेपछि यसको संरक्षण गरिएको हो । पोखरीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालय र गाउँपालिकाको साझेदारीमा संरक्षण कार्य सुरु गरिएको हो ।

पोखरीभन्दा तल रहेका पानीका मुहानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको छ । ती मुहानहरू स्थानीय बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्, जसले खानेपानी र सिँचाइको प्रमुख आधारका रूपमा काम गर्दै आएका छन् । मुहान जोगाउने उद्देश्यले पोखरी क्षेत्र वरपर सरसफाइ, माटो कटान नियन्त्रण, संरचनागत सुधारका काम गरिएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिए ।

वडाध्यक्ष विष्टका अनुसार वडा कार्यालय र गाउँपालिकाको करिब सात लाख ५० हजारको लगानीमा पोखरी संरक्षण गरिएको हो । ‘हामीले जलस्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौँ’, वडाध्यक्ष विष्टले भने, ‘यससँगै पर्यटन विकासलाई जोडेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएका छौँ ।’

थलथले पोखरी जोर आहल–संखामचुली पदमार्ग नजिकै पर्ने भएकाले यसको रणनीतिक महत्व अझ बढेको छ । पछिल्लो समय यो पदमार्ग आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा थलथले पोखरीलाई सोही मार्गको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । पदयात्रामा निस्कने पर्यटकका लागि यो स्थान विश्राम, अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभूति लिन उपयुक्त स्थल बन्ने विश्वास गरिएको छ ।

पोखरी वरपरको हरियाली, शान्त वातावरण, चिसो हावा र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई विशेष बनाएको छ । संरक्षणपछि पोखरीको स्वरूप आकर्षक बनेसँगै फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउने स्थानका रूपमा यसको सम्भावना बढेको स्थानीयवासी बाचिधन राईले बताए ।

उचित प्रचारप्रसार गर्न सकेमा थलथले पोखरी आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने उनको भनाइ छ । पोखरी संरक्षणसँगै पानीको स्रोत सुरक्षित भएकाले  वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न योजना अघि बढाउने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । स्थानीय समुदायको सहभागितामा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्राकृतिक मुहानहरुको संरक्षणको लागि गाउँपालिकाले एक टोल एक पोखरीको अवधारणा अनुसार काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । यहाँको प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइएको छ । थलथले पोखरीको संरक्षणले केवल एक जलस्रोत जोगाउने मात्र नभई सामाजिक र पर्यावरणीय विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : १३ बजे

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट