युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ? « Khabarhub

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम हुनसक्ने बलियो सङ्केत दिएका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानी समकक्षीले अमेरिकासँग युद्धविरामको प्रस्ताव गरेको दाबी गरेका हुन् ।

यद्यपि त्यसका लागि शुरुमा होर्मुजको जलक्षेत्र खुला हुनुपर्ने उनको भनाइ छ । अन्यथा इरानलाई ढुङ्गेयुगमा पुग्नेगरी ‘पड्काइरहने’ चेतावनी पनि उनले दिएका छन् । इरानमा जारी युद्धबाट कसरी उम्कौँ भन्ने भाउँतामा रहेका ट्रम्पले इरानी राष्ट्रपतिले गरेको भनिएको प्रस्तावकै आधारमा युद्ध विराम गर्नसक्ने एकाथरी विश्लेषकको आँकलन छ ।

इरानको शक्तिशाली लडाकु दस्ता इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीले ट्रम्पको भनाइप्रति कडा टिप्पणी गरेको छ । आईआरजीसीले अमेरिकी राष्ट्रपतिको हास्यास्पद तमासाले दुश्मनका लागि होर्मुजको जलक्षेत्र खुला नहुने टिप्पणी गरेको छ । इरानले बारम्बार अमेरिकासँग कुनै किसिमको वार्ता भइरहेको भन्ने समाचार खण्डन गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले सार्वजनिक खपतका लागि मात्रै सामाजिक सञ्जालमा पोस्ट गर्छन् भनिन्छ । केही समयअघि ट्रम्पले ४८ घण्टाभित्र इरानको ऊर्जा संरचनालाई लक्षित गरी व्यापक हमला गर्ने चेतावनी दिएका थिए । ४० घण्टा हुन नपाउँदै त्यसलाई बढाएर पाँच दिन थप गरे ।

त्यसलाई पनि १० दिन थप गरी ट्रम्पले अप्रिल ६ सम्मको अल्टिमेटम दिएका छन् । यसबीचमा विभिन्न मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच प्रत्यक्ष/अप्रत्यक्ष वार्ता भइरहेको बताइन्छ । पाकिस्तानसहित टर्की र इजिप्टले यसका लागि विशेष पहल गरिरहेका छन् ।

मंगलबार अल जजीराले प्रसारण गरेको अन्तरवार्तामा इरानी विदेशमन्त्री अराघचीले आफूहरुले अमेरिकी सन्देश प्राप्त गरिरहेको पुष्टि गरेका थिए । यद्यपि त्यसलाई वार्ता भइरहेको अर्थमा बुझ्न नहुने उनको तर्क थियो ।

उनले अमेरिकाप्रति आफूहरुको विश्वास भने ‘शून्य रहेको’ टिप्पणी गरेका थिए । कुराकानीमा विदेशमन्त्री अराघचीले आफूहरु अमेरिकाविरुद्ध लामो समय लड्न तयार रहेको जनाएका थिए ।

राष्ट्रपति ट्रम्पले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । सोही सम्बोधनका क्रममा उनले केही विशेष घोषणा गर्नसक्ने आँकलन गरिएको छ । यद्यपि यसबारे विस्तृत र विश्वसनीय जानकारी भने बाहिरिएको छैन ।

सअघि कूटनीतिक वार्ता चलिरहेका बेला दुई पटक अमेरिकाले इरानमाथि हमला गरेकाले विदेशमन्त्री अराघचीले भनेजस्तै दुई मुलुकबीच ठूलो अविश्वास छ । यस्तोमा ट्रम्पले एकपक्षीय रुपमा युद्धविराम घोषणा गरेपनि त्यो कति दीगो हुन्छ भन्ने प्रश्न पनि कायम छ ।

साझेदारहरुलाई कुनै पूर्वजानकारी नदिइ इजरायलसँग मिलेर हमला गरेपछि जवाफमा इरानले होर्मुजको जलक्षेत्र बन्द गरिदिएको छ । ऊर्जा र अन्य महत्वपूर्ण सामग्री ओसारपसार हुने यो क्षेत्र बन्द भएसँगै विश्व अर्थतन्त्रमा चिन्ता पैदा भएको छ ।

अमेरिकी अर्थतन्त्रमा पनि यसले ठूलो हलचल ल्याएको छ । अमेरिकामा पेट्रोल पम्पमा तेलको मूल्य प्रतिग्यालेन औसत चार डलर पुगेको छ । नोभेम्बर महिनामा ट्रम्पले मध्यावधि चुनावको सामना गरिरहेका छन् । त्यसैले ट्रम्पका लागि यो विषय ठूलो टाउको दुखाइ बन्न पुगेको छ ।

यस्तोमा ट्रम्पले होर्मुजको जलक्षेत्र खोल्ने कूटनीतिक जिम्मा युरोपेली तथा खाडी क्षेत्रका साझेदारलाई दिएर आफू उम्किने बहाना खोजिरहेको विश्लेषण गरिएको छ । यसअघि ट्रम्पले होर्मुजको जलक्षेत्र बन्द रहेपनि इरानसँग युद्धविराम हुनसक्ने संकेत गरेका थिए ।

ट्रम्पले होर्मुजको जलक्षेत्र खुलाउन नेटो सदस्यहरुलाई इरानविरुद्ध उचालिरहेका छन् । यद्यपि धेरै नेटो मुलुकहरु इरानविरुद्ध युद्धमा फाल हाल्न आनाकानी गरिरहेका छन् ।

बुधबार यस्तो घटनाक्रम विकसित भइरहँदा अमेरिकाले पश्चिम एशिया क्षेत्रमा तीव्र गतिमा सेना तैनाथ गरिरहेको छ । अमेरिकाले हजारौँको सङ्ख्यामा मरिन र पाराट्रुपर पश्चिम एशियातर्फ पठाएको छ भने त्यहाँ उसैपनि ५० हजारको सङ्ख्यामा अमेरिकी सैनिकहरु रहेको बताइन्छ ।

त्यसबाहेक अमेरिकाले यूएसएस जर्ज डब्लू बुश नामक लडाकु विमानवाहक युद्धपोतलाई पश्चिम एशियातर्फ तैनाथ गरेको छ । एकातिर युद्धविरामको कुरा गर्ने र अर्कोतिर पश्चिम एशियामा सैनिक तैनाथी विस्तार गर्ने अमेरिकाको दोहोरो कदमलाई धेरैले अविश्वासको दृष्टिले हेरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ५६ बजे

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट