सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै « Khabarhub

सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै



काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन आयोजना निर्माणको काम ८ महिनादेखि ठप्प छ । आयोजना अन्तर्गत चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले पहिलो चरणमा २०८१ मा १३.३ किलोमिटर सुरुङ निर्माण गरेको थियो ।

यहीबीच, २०७९ पुस १७ गते रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटमा बाँध (हेडवर्क्स), विद्युत गृहसहित सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि नयाँ ठेक्का आह्वान गरियो । यस अनुसार २०८४ भित्र निर्माण सम्पन्न गर्नेगरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनसँग आयोजनाले सम्झौता गर्‍यो ।

तर, निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत २४ कार्तिकमा ठेक्का तोड्न सूचना जारी गरेअनुरुप ८ मंसिरमा यो ठेक्का तोडियो । त्यसपछि आयोजनाले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखिएको बैंक ग्यारेन्टी जफत गर्ने सार्वजनिक खरिद ऐनको प्रावधान अनुरुप प्रक्रिया थाल्यो ।

यस अनुसार कार्यसम्पादन जमानत २ अर्ब ४० करोड र अग्रिम भुक्तानीतर्फको १ अर्ब २० करोड रुपैयाँ गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ सरकारको राजस्व खातामा आउनुपर्ने थियो । उक्त निर्णय विरुद्ध निर्माण पक्ष सर्वोच्च अदालत पुग्यो ।

कम्पनीलाई १० मंसिरमा सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले माघ २७मा कम्पनीको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो ।

यतिबेला जफतबापतको रकम सरकारको खातामा फिर्ता आइसकेको छ । यस्तै, निर्माण कम्पनीलाई पनि सरकारले कालोसूचीमा राखेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै पटेल–रमण जेभीसहति ११ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सरकाले यस वर्ष उक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा आयोजनाको पुनःठेक्का सहित निर्माण अघि बढाउन २ अर्ब ९२ करोड रुपैँया विनियोजन गरिएको छ ।

बिहीबार संघीय सरकारको पूर्वाधार विकास समिति अध्यक्ष आशिष गजुरेलले एकहप्ताभित्र आयोजनाको पुनः ठेक्का आह्वान गर्ने तयारी भइरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । खबरहबसँगको कुराकानीमा उनी भन्छन्, ‘ठ्याक्कै दिन नै तोकेर ठेक्का खोल्ने फैसला त भइसकेको छैन । हामीले ठेक्का आह्वानका लागि उहाँहरुलाई दबाब दिइरहेका छौँ, तयारी पनि भइरहेको छ ।’

यसबारे आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी अशोकराज गौतमसँग कुरा गर्दा उनी एक हप्ताभित्र ठेक्का खोल्ने तयारी भइरहेको बताउँछन् । ‘सोमबारदेखि कार्यालय खुलेको मितिले सम्भवत एक हप्ता, अर्को सोमबारसम्म ठेक्का खोल्ने तयारी छ । आयोजनाको लागतमा खासै वृद्धि हुँदैन । उस्तै नै कायम हुनेछ,’ उनले भने ।

उनका अनुसार आयोजनाको मूल्याङ्कनमा निर्माण कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्रै काम गरेको छ । ‘अस्थायी संरचनाको कामलाई जोड्दा ९.१३ प्रतिशत भौतिक प्रगति भन्न सकिन्छ । जसमा हामीले मोबिलाइजेसनबापत १४ प्रतिशत अर्थात् १ अर्ब २० करोड १४ लाख र बिल पेस गरेबापत ७६ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरिसकेका छौँ,’ उनले भने, ‘बाँकी कामका लागि भने सरकारले विनियोजन गरेको बजेट र जमानत बापत सरकारको खातामा फिर्ता भएको रकम परिचालन गरिनेछ ।’

उनका अनुसार उक्त आयोजनाको बाँधको काम पटेल–रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । पहिला विविधसहित २४ अर्ब लागत अनुमान गरिएकोमा जेभीसँग सबैभन्दा कम दर करिब १४ अर्बमा सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको यो आयोजनाको मुख्य उद्देश्य तराईका पाँच जिल्लामा वर्षभरी सिँचाई सुविधा पुर्‍याउनु हो । २०७३ सालबाटै चर्चामा आएको आयोजना २०७७ फागुन २ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । यस परियोजनाबाट धान उत्पादनको पकेट क्षेत्र मानिने बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरी जिल्लाको १.२ लाख हेक्टर जमिन सिञ्चित हुनेछ ।

त्यसपछि देशको कूल धान उत्पादनमा १६ प्रतिशत योगदान गर्दै आएको यो क्षेत्र २५ प्रतिशतमा बढोत्तरी हुने लक्ष्य समेत राखिएको छ । यससँगै आयोजनाबाट ३१.०७ मेगावाट जलविद्युत् उत्पादन गरिनेछ । देशलाई दोहोरो फाइदा पुग्नेगरी उक्त आयोजना ४६ अर्ब १९ करोड रुपैयाँ लागत अनुमानमा अघि बढाएको हो ।

यस्तै, राष्ट्रिय आयोजना आयोगले गौरवका आयोजनाको लागत सम्बन्धि गत भदौमा सार्वजनिक गरेको अध्ययन अनुसार निर्माणको सुरुवाती चरण २०७३/०७४ मा आयोजनाको समग्र लागत ४६ अर्ब १९ करोड ३९ लाख रुपैँया रहेकोमा निर्माण सम्पन्न हुने मिति २०८६ सम्म सोही रहने अनुमान छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ८ : २४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना

भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु

आईसीसीको ‘सिक्सर क्लब’मा युवराज सिंहदेखि कुशल भुर्तेलसम्म : को को छन् अरु ?

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ओपनर कुशल भुर्तेलले

सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै

काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन आयोजना निर्माणको काम