३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा ! « Khabarhub

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

बजेटबाट बिच्कियो सीमान्तकृत समुदाय



काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको ठुलो आशा थियो । युवाले नेतृत्व सम्हालेका बेला सामाजिक सुरक्षाको विषय पहिलेभन्दा न्यायोचित हुनेमा ज्येष्ठ नागरिक तथा सीमान्तकृत वर्ग ढुक्क थिए । लामो समयदेखिको राजनीतिक कुशासन, भ्रष्टाचार, बेरोजगारी र नातावादले जागेको चरम आक्रोशले भदौमा जेन–जी आन्दोलन भयो।

ज्येष्ठ नागरिक, महिला, दलित र सीमान्तकृत सबैले पुराना राजनीतिक दलले देशलाई निकास दिन नसकेको निष्कर्ष निकाल्दै युवालाई नेतृत्व सुम्पियो । तर अहिले यिनै वर्गका लागि सरकारले यथोचित न्याय गर्ने कुनै नयाँ कार्यक्रम घोषणा गर्न सकेन ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कुनै उल्लेखनीय सुरक्षा भत्ताको व्यवस्था छैन । दलित बालबालिकालाई पोषणमा दोब्बर बनाउने र चेपाङ समुदायका बालबालिकालाई आवासीय विद्यालयबाहेक दिगो आयका कार्यक्रम आएनन् । सबै पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्ष्ययुक्त बनाउन सरकारले १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ, जुन रकमले पुरानै कार्यक्रम धान्न सक्छ । त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ २ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्ष्ययुक्त बनाउन सरकारले १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ, जुन रकमले पुरानै कार्यक्रम धान्न सक्छ ।

त्यसमा पनि आर्थिक रूपले सक्षम नागरिकलाई वृद्धभत्ता स्वेच्छिक रूपमा त्याग्न आह्वान गर्‍यो । ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यस अभियानमा योगदान दिनेलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणको रूपमा सम्मान गर्ने बताएको छ ।

हरेक नयाँ सरकारले विगतभन्दा राम्रो गर्छ भन्ने कुरा नागरिकले आशा गरेका हुन्छन् । नयाँ सरकारले पनि नागरिकलाई खुसी बनाउने हरप्रयास गरेकै हुन्छ । सरकारको नीति तथा कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली अर्थतन्त्र अब ‘सामाजिक बजार अर्थतन्त्र’ हुने बताएका थिए । सामाजिक बजार अर्थतन्त्रको मूल मान्यता नै ‘सामाजिक न्याय’ हो तर यो बजेट समतामूलक भने देखिएन ।

नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले सीमान्तकृत वर्गलाई बजेटले फोकस गर्न नसकेको आरोप लगाएका छन् । उनले बजेट सहरको दुई–चार टापुमा मात्रै केन्द्रित भएको बताए । उनले भने, ‘राष्ट्रिय बजेटको दृष्टिकोण गरिबको निरपेक्ष रेखामुनि रहेका सीमान्तकृत, दलित, शोषित, आदिवासी, जनजाति केन्द्रित हुनुपर्ने थियो । राष्ट्रले उनीहरूको आयको सुनिश्चितता र सामाजिक सुरक्षाको प्रत्याभूतिलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

सीमान्तकृत वर्गपछि मात्रै अन्य क्षेत्र दोस्रो र तेस्रो हुँदै क्रमशः प्राथमिकतामा पर्ने केसीको तर्क छ ।

ज्येष्ठ नागरिक, एकल र विधवा महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी जनजाति, बालबालिका (बाल संरक्षण अनुदान) र ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक उपचार शीर्षकमा सरकारले सामाजिक सुरक्षा खर्च गर्ने गर्छ । जसमध्ये ज्येष्ठ नागरिक भत्तामा सरकारको सबैभन्दा ठूलो खर्च हुने गरेको छ ।

पुराना राजनीतिक दलले केही गरेनन् भन्ने समयमा पनि सामाजिक सुरक्षाका लागि केही काम भएका छन् । २०५१/५२ मा प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्ताबाट सुरुवात गरेका थिए । मनमोहनको नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिने व्यवस्था सुरु गरेको थियो ।

७५ वर्ष वा सोभन्दा बढी उमेर भएका वृद्धलाई भत्ता वितरण गर्न सुरु गरेका थिए । यो कार्यक्रम नेपालमा सामाजिक सुरक्षाको महत्त्वपूर्ण सुरुवात मानिन्छ ।

त्यसैगरी २०७५ सालमा ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धार कार्यक्रम’ सुरु भएको थियो । यो सेवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ केपी शर्मा ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति भएको समयमा सुरु गरिएको थियो ।

दुर्गम हिमाली तथा पहाडी क्षेत्रका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याउने काम गर्छ, जसबाट धेरै महिलाले सेवा प्राप्त गरिरहेका छन् ।

सरकारले हाल ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई चार हजार, कर्णाली भेगका नागरिक र देशभरिका दलित नागरिक ६० वर्षमाथिकालाई दुई हजार ६ सय ६०, एकल महिला ६० वर्ष उमेर पुगेकालाई २ हजार ६ सय ६० रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी विधवा भत्ता २ हजार ६ सय ६०, पूर्ण अपाङ्गता भएकालाई तीन हजार ९ सय ९०, अति अशक्त अपाङ्गता भएकालाई दुई हजार १ सय ८०, लोपोन्मुख आदिवासी र जनजातिलाई तीन हजार ९ सय ९० र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई पाँच सय ३२ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर आगामी बजेटमा नयाँ कार्यक्रम समेट्न सकेको छैन, न त उपलब्ध सुविधालाई बढाउन नै सकेको देखिन्छ । विज्ञले पनि गरिब तथा सीमान्तकृत वर्गका लागि बजेटमा कुनै कार्यक्रम नरहेको टिप्पणी गरेका छन् ।

कांगेस, एमाले र माओवादीलाई सत्तोसराप गरेर उदाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले पनि केपी ओलीको पालामा भन्दा कम बजेट आएको बताएका छन् । मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘कर्णालीलाई सधैँ गरिब बनाउने भए । एमआरआई मेसिन दिएनन् । ट्रमा सेन्टर पनि दिएनन् । कोही मान्छे घाइते भए हेलिकप्टरबाट उद्धार गरिदिउँला रे ! यस्तो पनि हुन्छ ?’

शाहीले समग्रमा बजेट कर्णालीमैत्री नआएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : ४९ बजे

इरान–अमेरिका तनाव फेरि चुलियो, दुवै पक्षबाट सैन्य लक्ष्यमा आक्रमण

दुबई– इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थानान्तरण गरिने

रतुवा खोलामा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो

झापा- झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र बाँधिएको अवस्थामा मृत

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती– चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता

एजेन्सी– जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप