फेरिए अनुहार, फेरिएन व्यवहार : संसद्‍मा मिचिँदै नियम, दोहोरिँदै अमर्यादित हर्कत « Khabarhub

फेरिए अनुहार, फेरिएन व्यवहार : संसद्‍मा मिचिँदै नियम, दोहोरिँदै अमर्यादित हर्कत



काठमाडौं- प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ । आइतबारको बैठकमा केही सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

आइतबार संसदको गरिमामा नै आँच आउनेगरी भाँडभैलो मच्चिएको थियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापति रहिसकेका सभामुख अर्यालले जबरजस्ती नियमावली पारित गर्न खोजेको भन्दै प्रतिपक्षी सांसदहरु होहल्ला गर्दै रोस्ट्रमतर्फ अघि बढेका थिए । यस क्रममा मर्यादापालक, सत्तारुढ सांसद र प्रतिपक्षीबीच हात हालाहालकै अवस्था आयो । यस क्रममा नेकपा एमालेका सांसद्‍द्वय ऐन महर र रिङ्गला यादवको हर्कत सबैभन्दा धेरै आलोचित बन्यो ।

उनीहरुले रोस्ट्रमतर्फ अघि बढेर सभामुखको माइक खोस्ने दुस्साहस गरेका थिए । अर्कोतर्फ, संसद चलिरहेकै बेला रास्वपा सांसद्‍ आशिका तामाङ पनि फायर भइन् । प्रतिपक्षले बारम्बार औँला उठाएर गाली गरेको र सभामुखलाई हेपेको भन्दै जङ्गिएकी उनलाई हलबाटै बाहिर निकाल्नुपरेको थियो ।

विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभाले सांसदहरूका लागि विशेषाधिकार प्रदान गर्नेगरी नियमावली पारित गर्‍यो । नियमावलीको नियम २५९ मा सांसदहरूलाई विशेषाधिकार दिइएको छ । नियमावली लागू हुनेबारे बुँदा नं. २५९ मा लेखिएको छ-

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुनेछ ।
(२) यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ ।

जेठ ४ गते प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । विभिन्न राजनीतिक दलका सांसदहरूबाट नियमावलीको नयाँ मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव परेको थियो । सभामुखले यसमा संशोधन राख्नका लागि समय खुला गरेका थिए । त्यसपछि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए ।

नियमावलीमा विपक्षी दलहरूले विशेष गरी तीन वटा विषयमा विरोध जनाएका थिए । प्रस्तावित नियमावलीमा मन्त्रीको उपस्थितिबिना पनि संसदीय समितिको बैठक बस्नसक्ने प्रावधान, सांसद्का लागि विशेषाधिकार र विधान संशोधन कार्यविधिसँग सम्बन्धित विषयमा विपक्षी दलहरूको असन्तुष्टि थियो ।

तर संसद्‍मा अमर्यादित व्यवहार भएको यो पहिलो भने होइन । आर्थिक वर्ष २०६७/६८ का लागि अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट बजेट वक्तव्य रहेको ‘ब्रिफकेस’ खोसिएको थियो । बजेट पेश गर्ने प्रक्रियाबारे सरकार र प्रतिपक्षीबीच विवाद हुँदा त्यसबेला अर्थमन्त्री पाण्डेमाथि नेकपा माओवादीका सांसदबाट संसदमै हातपातको प्रयास भएको थियो ।

अनुशासन भएन : समाजशास्त्री

समाजशास्त्री डा. दिपेश घिमिरे सत्तापक्ष र प्रतिपक्ष दुबैमा अनुशासनको अभाव भएको टिप्पणी गर्छन् । संसद्को गरिमा जोगाउन सबैको सामूहिक दायित्व हो । तर उक्त पक्षमा उनीहरु चुकिरहेका छन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘संसद्को आधारभूत गरिमा र मर्यादा छ । संसद् भनेको देशको सार्वभौमसत्ता नागरिकहरुले चुनेर पठाएका विधिहरुको संस्था हो । आइतबार भएको व्यवहार यसको विरुद्धमा देखियो । सार्वभौम निकायको मर्यादा हुन्छ । त्यो मर्यादा बाहिर गएर कसैले हर्कत गर्छ भने त्यसले समग्र संस्था र नागरिकहरुको प्रतिनिधिको अपमान गर्छ ।’

‘नागरिकको मतमाथिको अपमान हो । सांसद् व्यक्ति मात्रै होइन । उसले नागरिकहरुको प्रतिनिधित्व गरेर त्यहाँ पुगेको हुन्छ । संसदीय अभ्यास अभ्यास के हो भनेदेखी सरकार बहुमतको सरकार हुन्छ, उनले थप भने, ‘संसद् विपक्षीको हुने नियम हो । प्रतिपक्षको आवाजलाई बढी प्राथमिकता दिनुपर्छ । त्यो पाटोलाई इग्नोर गर्न हुँदैन ।’

२०१५ सालतिर विपी कोइरालाको पालाको संसदीय अभ्यासको बारेमा सम्झाउदै घिमिरेले विपक्षलाई धेरै स्पेस दिने चलनको बारेमा बताए । ‘प्रधानमन्त्री स्वयम उपस्थित भएर विपक्षीहरुको एकएक प्रश्नको सम्बोधन गर्नुहुन्थ्यो । सम्भवतः प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको उमेर उस्तै थियो । तत्कालीन सभामुख २८ वर्षको कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । हिजो दुबै पक्षबाट जुन क्रियाकलाप भयो, त्यसले संसदीय ओझ कम बनायो,’ उनले भने ।

विगतको चलनभन्दा फरक हुन नसकेको अवस्थामा भोलि नागरिकको मत बललिन कति पनि समय नलाग्ने उनको तर्क छ । ‘पहिले पनि संसद्‍मा यस्ता हर्कत भएका हुन् । त्यसैकारणले नागरिकले मत बदले । उनीहरु गलत अभ्यास नदोहोरियोस् भन्नेमा हुन्छन् । तर सरकारमा पुगेपछि विगतको गलत नजिरकै अभ्यास गरेपछि संस्थाको गरिमालाई विकृत गर्छ ।’

‘तत्कालिन विद्रोही नेकपा माओवादी जो भर्खर आएको थियो । उ स्वभाविकै संसदीय अभ्यासको विरुद्धमा थियो । अहिलेका दलहरु जो संसद्‍‍मा छन् । उहाँहरुलाई तालिम नपुगेको हो वा संसदीय मर्यादा सिकाइएन ? सत्तापक्षलाई पनि त्यो अभ्यास सिकाइएन कि ? संसदीय सचिवालयले काम गर्नुपर्ने हो ? दलहरु स्वयमले गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ७ : ५६ बजे

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

गोरखा– उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र

बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ?

काठमाडौँ – राजधानीसँग पूर्वी जिल्ला जोड्ने मुख्य मानिने बीपी राजमार्ग

फिफाको निलम्बनमा पर्‍यो एन्फा, सरकार र राखेपबाट हस्तक्षेप भएको निष्कर्ष  

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात  सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलान्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले