बालेनको ‘ब्लन्डर’को बचाउ गर्दा बब्लुले भारतीयलाई बनाइदिए नेपाली नागरिक « Khabarhub

बालेनको ‘ब्लन्डर’को बचाउ गर्दा बब्लुले भारतीयलाई बनाइदिए नेपाली नागरिक

सिरहाको गदियानीस्थित दसगजा जंगे पिलरमै छ भारतीयको घर


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा पहिलो पटक उभिएर नेपालले भारतीय भूमि मिचेको भनेपछि देखिएको राजनीतिक तरंग अझै जारी छ।

बालेन वरिष्ठ नेताका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अधिंकाश नेता-कार्यकर्ता र सांसद उनको भनाइको बचाउमा जोडतोडले लागेका छन् ।

कतिपयले त बालेनले अहिलेसम्मकै साहसी प्रधानमन्त्रीका रुपमा नेपालले भारतीय भूमि मिचेको भनेर बोल्ने आँट गरेको तर्क गरेका छन्।

यसरी तर्क गर्नेहरूमा सेनाका पूर्वजर्नेलदेखि नेपाल प्रहरीका पूर्वअधिकृतहरूसमेत छन् । उनीहरूसँगै बालेनको बचाउमा दौड लगाउने एकजना सांसदमध्ये हुन् बब्लु गुप्ता ।

गत फागुन २१ गतेको निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित गुप्ताले सोमबार बिहान नेपाल‍-भारत सीमाक्षेत्रस्थित एउटा जंगे पिल्लरको तस्बिरसहित एउटा दलिल पेश गरे।

जसमा भनिएको थियो,‘सिरहा नगरपालिका-२० गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ । अब भन्नुस्- प्रधानमन्त्री बालेन संसद्मा झुट बोले कि सही ? समस्या दुवैतिर छ, समाधान खोज्नुपर्छ ।’

बब्लुले भनेजस्तो के त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दशगजा मिचेको हो त ? कि भारतीय सेना नेपालको कालापानीमा ब्यारेक खडा गरेर बसेको जस्तै कब्जा गरेको बसेको हो त ? त्यो पनि होइन ।

त्यहाँको समस्या खासमा क्रस बोर्डर होल्डिङको हो । यसअन्तर्गत अर्को देशको सम्पत्ति वा भूभागमाथि स्वामित्व वा नियन्त्रण राख्नु भनेर बुझ्न सकिन्छ । तर त्यहाँ के नेपाल सरकारले गएर त्यो अभ्यास गरेको हो त? त्यो पनि होइन । खासमा सीमा आसपासका स्थानीयले नै उपभोग गर्ने क्रममा दशगजा क्षेत्रसम्म ओगटेर बसेका हुन् ।

भारतीयले मिचेको दशगजा क्षेत्र। तस्बिर सौजन्य : शम्भु यादव

खास कसले मिचेको हो ?

सिरहाबाट लामो समयदेखि पत्रकारितामा क्रियाशील शम्भु यादवका अनुसार बब्लुले गरेको दाबीभन्दा ठीक विपरीत दृश्य सिरहा नगरपालिका-२० गदियानीमा छ ।

खासमा सिरहा नगरपालिका-२० गदियानी निवासी भनेर नेपालीका रुपमा बब्लुले चित्रित गरेका ज्ञानी मुखिया भारतीय नागरिक हुन् । जंगे पिलर रहेको स्थानमै उनले बनाएको घरको आँगन छ । सीमा स्तम्भसम्मै उनले आफ्नो घरको आँगन बनाएका छन् ।

‘प्रधानमन्त्री बालेनको बचाउमा बब्लुले फेसबुकमा दिएको अभिव्यक्ति नै गलत छ । बब्लुको दाबी झुटो हो’, यादवले खबरहबसँग भने, ‘ज्ञानी मुखिया भारतीय नागरिक हुन्। दसगजा मिचेर ज्ञानी मुखिया जस्तै दर्जनौँ व्यक्तिले घर बनाएर अहिले पनि बसेका छन्।

यादवका अनुसार अहिले दक्षिणबाट भारतीय नागरिकसँगै सीमा सुरक्षा बल (एसएसबी) ले पनि दसगजा मिचेर चेक पोस्टिसमेत राखेका छन् ।

भारतीयहरूले सीमा मिच्दै दसगजासम्मै आइसकेका छन्। तस्बिर सौजन्य : शम्भु यादव

पुरानै मुद्दा

दक्षिणबाट दसगजा मिचिएको विषयमा उनै पत्रकार यादवले २०७६ कात्तिक २३ गते चर्चित दैनिक अन्नपूर्ण पोस्टमा सीमास्तम्भसहितको समाचार लेखेका छन् ।

वर्षौँदेखि दसगजा मिचिँदा पनि नेपाली पक्ष निरीह भएको अवस्थामा उनले त्यही बेला घच्घच्याउँदै समाचार लेखेका थिए । उक्त समाचारमा भनिएको थियो, ‘पारी (भारतीय) लगडी गाउँका ज्ञानी मुखियाको घरआँगनमै जंगे पिलर छन्। उनको सुत्ने घर पिलरदेखि भारततिर पर्छ भने गाईगोरू नेपालतिर बाँध्ने गर्छन्।’

के थियो समाचारमा ?

सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाको सीमावर्ती वडामा बसोबास गर्ने केही नेपाल र भारत दुवै देशका बासिन्दाले दसगजा मिचेका छन्। मिचेका ठाउँमा उनीहरूले खेतीपाती र पसल थाप्न स-साना टहरा बनाएका छन् ।

ठाडी बजारमा भारतीय प्रहरीले बोर्ड झुन्ड्याएरै दसगजामै चेकपोस्ट राखेका छन्। सिरहा नगरपालिका २० गदियानी गाउँस्थित ठाउँठाउँमा दसगजा मिचेर खेत बनाएका छन्।

पारी (भारतीय) लगडी गाउँका ज्ञानी मुखियाको घरआँगनमै जंगे पिलर छन्। उनको सुत्ने घर पिलरदेखि भारततिर पर्छ भने गाईगोरू नेपालतिर बाँध्ने गर्छन्।

‘पहिले दसगजा ऐलानी पर्ती थियो। सीमा टाँसिएका खेतवालाहरूले बिस्तारै मास्दै गएका छन्’, गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब सीमामा पिलर देखिन देखिन्छ। दसगजा देखिँदैनन्। दुवैतिरका बासिन्दाले पाएसम्म मासेका छन् ।’

ज्ञानीका अनुसार मासेका ठाउँमा कसैले खेती गरेका छन् त कसैले स-साना टहरा थापेर पसल खोलेका छन्। एकतर्फी रूपले भारतीयले मात्रै सीमा नमिचेको उनले सुनाए। ‘हामी पुस्तीदेखि दसगजामै बसोबास गर्दै आएका छौं। घरआँगनमै जंगे पिलर छ’, भारतीय लगडी गाउँका कपिलदेव यादवले भने, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भगाडेका छन् ।’

यहाँ दुवैतिरका बासिन्दाले जग्गा वारिपारी राखेको उनले सुनाए। दसगजा मिचेर बस्ती र खेती गर्ने जग्गा कतिपयले बनाएको उनले बताए।

मिचिएको दसगजा क्षेत्र । तस्बिर सौजन्य : शम्भु यादव

‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् त केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्’, उनले भने, ‘त्यस्ता व्यक्तिहरूको दुवैतिर जग्गा जमिन छ। खेती पनि गर्छन्। दसगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै भएको छैन।’

भारतीय प्रहरीले केही वर्षअघि दसगजामै चेकपोस्ट खडा गरेको ठाडीका कन्हैया भट्टले बताए। दसगजामै बसोबास गर्ने दुवैतिरका नागरिकले मिचेर घरटहरा र खेतीबारी बनाएको सिरहा नपा-२० का वडाअध्यक्ष रामचन्द्र यादव सुनाउँछन्।

‘सीमास्तम्भ नै उखाडेर मिचेको त्यति देखिँदैन’, उनले भने, ‘तर दसगजामा जसको खेत टाँसिएको छ, उनीहरूले केही भूभाग जग्गा मिचेका छन्।’

अरू देशको भूमि नै कब्जा गर्ने हिसाबले नमिच्ने गरेको उनको भनाइ छ।

‘दसगजा मासेर ३१ ठाउँमा खेतीपाती भइरहेको निरीक्षणको क्रममा भेटिएको थियो’, सशस्त्र प्रहरी सिरहाका एसपी प्रवीण कँडेलले भने, ‘यसवर्ष २० ठाउँमा खेती गर्न रोक लगाएका छौं। थप ठाउँहरूमा रोक लगाउन भारतीय अधिकारीसँग समन्वय भइरहेको छ। केही दिनमै ती ठाउँमा पनि खेती गर्न रोक लगाउँछौं।’

यस जिल्लामा ठूलो भूभाग सीमा नमिचिएको उनले बताए। हालसालमा सिरहामा कहीँ सीमा नमिचिए‌को सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

‘केही ठाउँमा सीमा स्तम्भमर्मत गर्नुपर्ने देखिन्छ। त्यसका लागि माथिल्लो निकायमा जानकारी गराइसकेका छौं’, उनले भने।

कप्रहरी/प्रशासनको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर छन्। जसमा मुख्य ७, सहायक २ र साना ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा देखिन्छ।

पत्रकार शम्भु यादवले २०७६ सालमै लेखेको समाचार

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ७ : ५४ बजे

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल)

कांग्रेसले बनायो छाया सरकार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनको प्रस्ताव

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू

फेरिए अनुहार, फेरिएन व्यवहार : संसद्‍मा मिचिँदै नियम, दोहोरिँदै अमर्यादित हर्कत

काठमाडौं- प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन