विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्? « Khabarhub

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

पुराना स्टारको सुखद् बिदाइमाझ उदाइरहेका नयाँ पुस्ताका नायक



मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका बेला, २०२६ को विश्वकपले अर्को पुस्ताका नायकलाई पनि जन्म दिइरहेको छ। केही किशोर खेलाडीले आफ्नो पहिलो विश्वकपमै यस्तो प्रदर्शन गरेका छन्, जसले विश्वभरका समर्थक मात्र होइन, युरोपका ठूला क्लबलाई पनि प्रभावित बनाएको छ। आखिर को हुन् ती पाँच युवा स्टार, जसले अहिले नै विश्व फुटबलको भविष्य आफ्नो काँधमा बोक्ने संकेत दिएका छन् ?

सबैभन्दा पहिले चर्चा गरौँ सेनेगलका १८ वर्षीय इब्राहिम एमबायेको। उनले फ्रान्सविरुद्ध गोल गर्दै विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बन्ने कीर्तिमान बनाए। टोली पराजित भए पनि उनको गोलले एउटा स्पष्ट सन्देश दियो- सेनेगलले भविष्यका स्टार फेला पारिसकेको छ।

लामिन यमल

स्पेनका १८ वर्षीय लामिन यमलले साउदी अरेबियाविरुद्ध गोल गर्दै आफू किन विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गरे। क्लब फुटबलमा जस्तै उनले विश्वकपमा पनि आफ्नो प्रभाव देखाउन थालेका छन्।

गिल्बर्टो मोरा

मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोराको कथा झन् रोचक छ। सन् २००६ को विश्वकप हुँदा उनी जन्मिएका पनि थिएनन्। तर आज उनी आयोजक राष्ट्रका तर्फबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। दक्षिण अफ्रिकाविरुद्ध मैदान प्रवेश गर्दा उनले नयाँ इतिहास रचे। तर यी मात्र होइनन्, समूह चरणमा पाँच युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा कमाएका छन्।

अयुब बुआदी

विश्वकपको दबाबमा धेरै खेलाडी नर्भस देखिन्छन्। तर मोरक्कोका १८ वर्षीय अयुब बुआदीले भने आफ्नो डेब्युमै असाधारण आत्मविश्वास प्रदर्शन गरे। जुन १३ मा ब्राजिलविरुद्धको खेलमा लिलेका यी युवा मिडफिल्डरले ६६ सफल पास पूरा गर्दै यस शताब्दीमा विश्वकपको एकै खेलमा ५० भन्दा बढी पास खेल्ने दोस्रो कान्छा खेलाडी बन्न सफल भए।

उनको संयमित खेलले इंग्ल्यान्डका पूर्वकप्तान एलन शियरर समेत प्रभावित भए। यति मात्र होइन, बुआदीले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरे। सन् १९६६ यता विश्वकपको एउटै संस्करणमा लगातार दुई खेलमा ५० भन्दा बढी सफल पास पूरा गर्ने १८ वर्ष वा सोभन्दा कम उमेरका पहिलो खेलाडी बने। विश्व फुटबलले अब मोरक्कोका यी किशोर मिडफिल्डरलाई भविष्यका ठूला स्टारका रूपमा हेर्न थालेको छ।

यान डियोमान्डे

विश्वकप २०२६ मा सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एक हुन् यान डियोमान्डे। उनी किन युरोपका दुई ठूला क्लब पीएसजी र लिभरपुलको नजरमा परेका छन् भन्ने कुरा उनको प्रदर्शनले नै स्पष्ट पार्छ। आरबी लाइपजिगका यी १९ वर्षीय विङ्गरले आफ्नो तीव्र गति, आकर्षक ड्रिब्लिङ र अवसर सिर्जना गर्ने क्षमताले विपक्षी डिफेन्डरहरूलाई निरन्तर दबाबमा राखिरहेका छन्। इक्वेडरविरुद्ध १–० को जितमा उनले पाँच गोल अवसर सिर्जना गरे भने जर्मनीसँग २–१ ले पराजित भएको खेलमा पनि दुई निर्णायक पास दिँदै टोलीको आक्रमणलाई जीवन्त बनाए।

डियोमान्डेको प्रभाव व्यक्तिगत प्रदर्शनमा मात्र सीमित रहेन। यसअघि लगातार तीन विश्वकपमा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टलाई उनले पहिलो पटक नकआउट चरण पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले। विश्वकपको ठूलो मञ्चमा उनले देखाएको आत्मविश्वास र सिर्जनशील खेलले अब उनलाई भविष्यका उत्कृष्ट विङ्गरमध्ये एकका रूपमा स्थापित गरिरहेको छ।

जोहान मान्जाम्बी

जोहान मान्जाम्बी स्विट्जरल्यान्डका भरपर्दा मिडफिल्डर हुन्। तर धेरैलाई थाहा नहुन सक्छ, जोहान मान्जाम्बीले आफ्नो फुटबल यात्रा गोलकिपरबाट सुरु गरेका थिए। जर्मनीका महान् गोलरक्षक म्यानुअल नेउर उनका पहिलो आदर्श थिए। तर समयसँगै उनले आफ्नो भूमिका परिवर्तन गरे र अहिले आक्रमण निर्माणसँगै गोल गर्न माहिर सिर्जनशील मिडफिल्डरका रूपमा परिचित छन्। विश्वकप २०२६ मा मान्जाम्बीले आफ्नो प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका छन्। स्विट्जरल्यान्डले समूह चरणमा गरेको सात गोलमध्ये तीन गोल उनकै नाममा रह्यो, जसले टोलीलाई नकआउट चरणसम्म पुग्न ठूलो योगदान पुर्‍यायो।

यति मात्र होइन, उनले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि बनाए। २० वर्ष २४७ दिनको उमेरमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर एकै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भए। गोलकिपर बन्ने सपना देखेका मान्जाम्बी अहिले विश्व फुटबलका उदाउँदा मिडफिल्डरमध्ये एक बनेका छन्, जसले भविष्यमा अझ ठूलो प्रभाव छोड्ने संकेत दिएका छन्।

केरिमी अलाजबेगोभिच

विश्वकपमा केही गोल केवल स्कोरबोर्डमा अंक थप्ने माध्यम बन्छन्, तर केही गोलले इतिहास नै बदलिदिन्छन्। केरिमी अलाजबेगोभिचले कतारविरुद्ध गरेको गोल पनि त्यस्तै बन्यो। जुन २४ मा भएको खेलमा उनले पेनाल्टी बक्स बाहिरबाट गरेको शानदार प्रहारले बोस्निया–हर्जगोभिनालाई अग्रता दिलायो। त्यो गोलसँगै १८ वर्ष २७६ दिनका अलाजबेगोभिचले सन् १९६६ यता विश्वकपमा पेनाल्टी बक्स बाहिरबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने ऐतिहासिक उपलब्धि हासिल गरे।

यसअघि यो कीर्तिमान किलियन एम्बाप्पेको नाममा थियो। उनले २०१८ को विश्वकपमा क्रोएसियाविरुद्ध १९ वर्ष २०७ दिनको उमेरमा यस्तो गोल गरेका थिए। तर अलाजबेगोभिचले त्यो कीर्तिमान तोड्दै आफूलाई विश्व फुटबलका उदाउँदा प्रतिभामध्ये एकका रूपमा स्थापित गरेका छन्। विश्वकपको ठूलो मञ्चमा उनले गरेको त्यो एक प्रहारले केवल टोलीलाई अग्रता मात्र दिलाएन, भविष्यमा बोस्नियाको नयाँ स्टार जन्मिएको संकेत पनि दियो।

नेस्टोरी इरानकुन्डा

नेस्टोरी इरानकुन्डाको कथा केवल फुटबलको होइन, संघर्ष, सपना र सफलताको प्रेरणादायी यात्रा पनि हो। शरणार्थी शिविरबाट विश्वकपसम्मको उनको यात्रा अहिले लाखौँ फुटबल समर्थकका लागि प्रेरणाको स्रोत बनेको छ। टर्कीविरुद्ध अस्ट्रेलियाको २–० को जितमा पहिलो गोल गर्दै २० वर्षीय इरानकुन्डा विश्वकपमा अस्ट्रेलियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने।

इरानकुन्डाको जीवनयात्रा झन् प्रेरणादायी छ। सन् २००६ मा उनी तान्जानियाको एक शरणार्थी शिविरमा जन्मिएका थिए, जहाँका उनका बुरुन्डियन आमाबुबा गृहयुद्धका कारण आश्रय लिन पुगेका थिए। कठिन परिस्थितिबाट सुरु भएको यात्रा अहिले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चसम्म आइपुगेको छ।

क्लब फुटबलमा पनि उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। बढी खेल्ने अवसरको खोजीमा एफसी बायर्न म्युनिख छाडेर वाटफोर्ड एफसी पुगेका इरानकुन्डाले २०२५–२६ को च्याम्पियनसिप सिजनमा चार गोल गर्दै समर्थकको मन जितेका थिए। अब विश्वकपमा कीर्तिमानसहितको प्रदर्शनले उनले आफू भविष्यका स्टार मात्र होइन, वर्तमानमै निर्णायक खेलाडी बन्न सक्ने क्षमता राख्ने खेलाडी भएको प्रमाणित गरेका छन्।

नयाँ युगको सुरुवात ?

हरेक विश्वकपले नयाँ नायक जन्माउँछ। २०२६ को विश्वकप पनि त्यसको अपवाद बनेको छैन। मेसी, रोनाल्डो, एम्बाप्पे र मोड्रिचजस्ता महान खेलाडीको युग अझै जारी छ। तर उनीहरूसँगै अब नयाँ पुस्ताले पनि आफ्नो उपस्थिति बलियो रूपमा दर्ता गराउन थालेको छ। यी युवा खेलाडीहरू केवल भविष्यका आशा मात्र होइनन्, अहिले नै आफ्नो टोलीका निर्णायक खेलाडी बनिरहेका छन्। समूह चरणको प्रदर्शन हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, त्यो हो विश्व फुटबल नयाँ युगतर्फ अघि बढिरहेको छ र त्यसको नेतृत्व सम्भवतः यही युवा पुस्ताले गर्नेछ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : २९ बजे

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको

रास्वपाको उदय र दिशाहीन परराष्ट्र नीतिको निरन्तरता

विगत एक दशकभन्दा पनि लामो समयदेखि नेपालको परराष्ट्र नीति अस्थिर

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक