देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा « Khabarhub

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा



काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय भेलामा मंगलबार ‘अब सके राजनीति गर्छु, नसके आलु खेती गर्छु, तर कांग्रेस छाड्दिनँ’ भन्ने अभिव्यक्ति दिए । उनी तीन दशक बढी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र थिए ।

तर, देउवा–शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा भने उनले देउवाको उछितो नै काढे । प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने, ‘१० जना मानिसले शेरबहादुर देउवालाई नेता मानेर हिँड्यौँ, हामीले के पायौँ ?’ २०४६ यता देउवलाई सघाउँदै आएका उनको प्रश्नले कांग्रेस इतर पक्षमा तरङ्ग नै निम्त्यायो ।

सोही मञ्चबाट उनले अब आफूले क्रियाशील सदस्यता अद्यावधिक गर्ने घोषणा समेत गरे । जबकी इतर खेमाले उक्त विषयलाई प्राथमिकतामा नराख्ने नीति लिइरहेको छ । उनले भेलामा सहभागी अरु नेता कार्यकर्तालाई पनि सदस्यता अद्यावधिक गर्न मञ्चबाटै आह्वान समेत गरे ।

राठौरले भनेजस्तो देउवासँग उनको राजनीतिक सहयात्रा २०४६ साल देखिकै हो । उनै देउवालाई नेता मानेर राजनीतिमा सक्रिय भएका राठौर पार्टीभित्र देउवा समूहका भरोसायोग्य नेतामध्ये एक हुन् । यसै कारण १३औँ महाधिवेशनपछि २०७३ जेठ २८ गते सभापति देउवाले उनलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेका थिए ।

०७८ मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा वर्तमान पार्टी प्रवक्ता देवराज चालिसेलाई राठौरले सहमहामन्त्रीमा पराजित गरेका थिए । त्यसयता उनी सार्वजनिक रूपमा देउवा नेतृत्वको बचाउ गर्ने प्रखर नेताका रूपमा चिनिन्थे ।

तर, अहिले भने राठौरले आफू सहमहामन्त्रीमा रहेको तत्कालीन नेतृत्वप्रति रोश पोखे । ‘हामीलाई संस्थापन हुन २० वर्ष लागेको थियो । जसको जिम्मेवारी थियो उसैको हातबाट संस्थापन गयो,’ उनले भने । आफूले कांग्रेस नछाड्ने भन्दै उनले अब गगन थापाको नेतृत्वमै रहेर संघर्ष गर्ने स्पष्ट अडान पनि राखे ।

के भन्छन्, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन ?

राठौरको सम्बोधनमा प्रदेश सभापति पुनले पार्टीमा लामोसमय संघर्ष गर्दा पनि क्षमता अनुरुप ठाउँ नपाएका नेता कार्यकर्ताले कुनै बिमति नराखेको बताए । ‘शेरबहादुर देउवासँग लागेर कति साथिहरु विभिन्न माध्यमबाट लामो समय लाभको पदमा बसे । तर कतिले क्षमता हुँदा पनि बाहिर रहनुपर्‍यो,’ उनले थपे, ‘उहाँहरुमा पार्टी राम्रो बनाउने चाहाना छ । त्यहीँ अनुरुप नै हिजो पूर्वसहमहामन्त्रीज्यूले त्यसो भन्नुभएको हो ।’

डिजिटल क्रियाशील सदस्यता लुम्बिनी प्रदेशमा सबैभन्दा बढी अद्यावधिक भएको उनले जानकारी दिए । तर, उनले तथ्याङ्क नआइसकेकाले डिजिटल सदस्यता अद्यावधिक गर्नेको यकिन संख्या भने स्पष्ट नभएको बताए । उनले यस अघिदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशिल सदस्यता अद्यावधिक अभियानलाई समर्थन गरिरहेको जानकारी दिए । शेखर कोइराला निकट नेता मानिने उनी पछिल्लो समय संस्थापनसँग नजिक छन् ।

‘उहाँले कार्यक्रम जुन उद्देश्यले राखिएको छ, त्यो भन्दा फरक कुरा राख्दै विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन गर्ने र त्यसको नेतृत्वमा रहँदा वा नरहँदा पनि पार्टी नछोड्ने अडान प्रष्ट राख्नुभयो,’ सभापति पुनले भने ।

देउवालाई पाँच पटक प्रधानमन्त्री बनाउन विशेष भूमिका खेलेका गोपालमान श्रेष्ठ पनि

उनीमात्रै होइनन्, देउवालाई उसैगरी सघाउने सबैभन्दा निकट सारथी गोपालमान श्रेष्ठले पनि उसैगरी आलोचना गरे । उनले पुस २७ गतेदेखि काठमाडौँ भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशन स्थलबाटै देउवालाई तानशाहीसम्म भनेका थिए ।

‘शेरबहादुरले तानाशाही प्रवृत्ति देखाएपछि गगन–विश्वलाई साथ दिने निर्णय गरेँ । उनलाई आपत् पर्दा साथ दिएकोमा पछुतो लागिरहेको छ,’ उनले सोही कार्यक्रममा सम्बोधन गर्दै गर्दा भनेका थिए । देउवाका विश्वासिला राजनीतिक सहयात्री मानिने गोपालमान श्रेष्ठले ०४८ सालको आमनिर्वाचनपछि देउवा गृहमन्त्री बनेका बेला बागमती क्षेत्रको पार्टी संगठनमा भूमिका पाएका थिए ।

०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस प्रतिपक्षमा पुगेपनि उनले देउवाको साथ छाडेनन् । ०५२ सालमा देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा श्रेष्ठले सरकार र पार्टीबीच समन्वय गर्ने नेताको भूमिका निर्वाह गरेका थिए । उनी मन्त्रिपरिषदमा नरहे पनि संगठनमा देउवाका भरपर्दा सहयोगीका रूपमा स्थापित थिए । ०५५/०५६ सालतिर गिरिजाप्रसाद कोइराला र देउवा पक्षबीच आन्तरिक शक्ति संघर्ष तीव्र बनेका बेला पनि श्रेष्ठ देउवा समूहको संगठन विस्तार, कार्यकर्ता परिचालन र महाधिवेशनको तयारीमा तल्लीन रहे ।

अहिले उनी विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति सदस्य मात्रै हुन् ।

देउवाले राज्यमनत्री बनाएका अर्का श्रेष्ठ

देउवाले उमेश श्रेष्ठलाई ०७८ साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि देउवा नेतृत्वमै उनले कांग्रेसको कोषाध्यक्षका रुपमा दोहोरो जिम्मेवारी सम्हाले । विशेष महाधिवेशनमा नखुलेका उनलाई अहिले गगन थापाले कोषाध्यक्षमा दोहोर्‍याउँदै आफुतर्फ तानेका छन् ।

नेता श्रेष्ठद्वय मात्रै होइन्, शेखर कोइराला समूहतर्फबाट १४औँ महाधिवेशनमार्फत सहमहामन्त्री बनेका जीवन परियार पनि संस्थापन नेतृत्व मातहत आइसकेका छन् । यस्तै, वौद्धिक नेताका रुपमा परिचित नेता डा. मीनेन्द्र रिजाल पनि थापा नेतृत्वमा आउनुको विकल्प नहरेको बताएका छन् ।

इतर समूहमा उभिएका प्रभावशाली नेता डा. शेखर कोइरालाका भाइ पर्ने शंशाक कोइरालाले पनि १५ असारमा आयोजित दही चिउरा कार्यक्रममा बाल्दै आफू सभापति थापाको पक्षमा खुलेको घोषणा गरिसकेका छन् । यस्तै अन्य थुप्रै नेता तथा कार्यकर्ता विस्तारै चोइटिँदै संस्थापन नेतृत्वबाटै संघर्ष गर्नेमा सकारातमक रहेको देखिन्छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : १७ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर