‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन « Khabarhub

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन



एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित र स्थापित नाम हो। मानव मनका सूक्ष्म तरङ्ग, आन्तरिक भाव-द्वन्द्व, प्रेम, विरह, आशा र जीवनका विविध दार्शनिक पक्षलाई सरल तर गहिरो शब्द-शिल्पमा रूपान्तरण गर्न सिपालु स्रष्टाका रूपमा कोइरालालाई चिनिन्छ। आधुनिक नेपाली गीत लेखनमा आफ्नो बेग्लै पहिचान बनाएका कोइरालाका रचनामा भावुकता र जीवन दर्शन-दृष्टिकोणको सुन्दर सन्तुलन पाइन्छ।

गीतकार एस्पी कोइरालाले नेपाली भाषा र सुगम सङ्गीतलाई समृद्ध बनाउन निरन्तर योगदान दिँदै आएका छन्। उनका गीतमा केवल शब्दको जोडजाड मात्र नभई जीवन्त अनुभूति, सामाजिक परिवेश र आत्मीय संवेदना छचल्किएको हुन्छ। रेडियो, टेलिभिजन तथा विभिन्न गीति एल्बममार्फत श्रोतामाझ पुगेका उनका गीतले नेपाली सुगम सङ्गीत पारखीको मनमा विशेष स्थान ओगट्न सफल भएका छन्।

कविका रूपमा एस्पी कोइरालाका प्रकाशित कृतिमा ‘टाँकीको घाँस’ (२०५७), ‘निर्वस्त्र नगरीमा’ (२०६४) र ‘सङ्स् अफ स्वालोज’ (२०७४) नेपाली तथा अङ्ग्रेजी कवितासङ्ग्रह प्रकाशित छन् भने ‘धड्कनभित्र’ (२०६१) र ‘आधा जिन्दगी’ (२०८३) गीतसङ्ग्रह प्रकाशित छन्। गीतकार एस्पी कोइरालाका एकल गीति एल्बममा ‘धड्कनभित्र’ (२०६१), ‘उपमा’ (२०६४), ‘प्रहर’ (२०६५ सहलेखन), ‘उत्साह’ (२०७०), ‘समय’ (२०७६) र ‘धुन’ (२०८३) रहेका छन्।

उनका विभिन्न फुटकर गीत रचनाहरू नेपाली सङ्गीत आकाशमा गुञ्जिँदै आएका छन्। उनको गीति यात्राको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको ‘आधा जिन्दगी’ (२०८३) गीतसङ्ग्रहमा एक सय ३५ गीत समाविष्ट रहेका छन्। ‘आमा भन्दै रुन पाऊँ’, ‘धड्कनभित्र’, ‘लाजको लाली’ जस्ता अत्यन्तै लोकप्रिय गीतका सर्जक एस्पी कोइरालाको यस सङ्ग्रहको नामकरण गरिएको अत्यन्तै चर्चित मर्मस्पर्शी ‘आधा जिन्दगी’ बोलको गीतमा जीवन दर्शनको समग्र पक्षको चित्रण यसप्रकार रहेको छ :

आधा जिन्दगी रित्तिसक्यो भनेर, कहिले शोक मनाएँ

अझै बाँकी रहेछ ठानेर, उत्सव पनि मनाएँ

जसरी हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी, बल्ल होस पाएँ ।।१।।

उज्यालोले मलाई देख्यो टाढा कतै, फूलले मन सजाएँ

अँधेरीले मितेरी गाँस्यो अनायासै, काँढाले बार लगाएँ

जस्तो ठान्यो त्यस्तै भैदिन्छ जिन्दगी, बल्ल ज्ञान पाएँ ।।२।।

देखाउन हाँसें कहिले आफूमाथि पनि हाँसें, आज होसमा आएँ

कहिले जित पछ्याएँ कहिले हार सम्हालें, अब पो थाहा पाएँ

जसरी चाह्यो त्यसरी भोगिन्छ जिन्दगी, बल्ल चाल पाएँ ।।३।।

आधा जिन्दगी रित्तिसक्यो भनेर, कहिले शोक मनाएँ

अझै बाँकी रहेछ ठानेर, उत्सव पनि मनाएँ

जसरी हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी, बल्ल होस पाएँ ।।४।। (पृ. ३१)

२०५६ मै लेखिएको प्रस्तुत गीतमा जीवनको आरोह-अवरोहमा आएका विभिन्न पक्षको चर्चा गर्दै गीतकार कोइरालाले सङ्घर्ष गर्दै बिताएका सुन्दर पललाई सकारात्मक तरिकाले प्रस्तुत गरेका छन्। यो उनको प्रमुख र चर्चित गीति कृति हो, जसले नेपाली गीति-साहित्यमा उनलाई एक सशक्त गीतकारका रूपमा लोकप्रिय र स्थापित गराएको छ। यसबाहेक उनका थुप्रै गीतहरू चर्चित गायक-गायिकाको स्वर र दिग्गज सङ्गीतकारको सङ्गीत संयोजनमा रेकर्ड भई बजारमा आएका छन्।

गीतकार एस्पी कोइरालाका रचनाको गहिरो अध्ययन गर्दा उनका गीतको प्राथमिक धरातल प्रेम र मानवीय सम्बन्धको ऐना हो। उनका गीतमा प्रेमका विभिन्न रूप-प्रारम्भिक आकर्षण, आत्मीयता, समर्पण र विछोडको वेदनालाई अत्यन्त कोमल ढङ्गले अभिव्यक्त गरिएको पाइन्छ भने गीतका भावमा जीवनका भोगाइ, समयको गतिशीलता, अनिच्छापूर्वक सहनुपरेका बाध्यता र अस्तित्वको खोजजस्ता दार्शनिक विषयलाई उठान गरिएको पाइन्छ।

सरल भाषाको प्रयोग गरिएका उनका गीतको मुख्य विशेषता अर्थात् विशेष गुण गेयता हो। क्लिष्ट वा जटिल शब्द प्रयोग गर्नुभन्दा जनबोलीका सरल र मिठासपूर्ण शब्द छनोट गरी गहिरो अर्थ सम्प्रेषण गर्नु उनको गीति-शिल्पको मुख्य विशेषता हो।

त्यस्तै गीतकार कोइरालाले आफ्ना भावलाई स्पष्ट पार्न प्रकृति, समय, छाया, बाटो, रात र आधा बाटोजस्ता जीवन्त बिम्ब तथा प्रतीकको प्रयोग गरेका छन्। यसले गर्दा उनका गीतमा दृश्यगत र अनुभूतिगत सघनता पाइन्छ। सरल भाषाको प्रयोग गरिएका उनका गीतको मुख्य विशेषता अर्थात् विशेष गुण गेयता हो। क्लिष्ट वा जटिल शब्द प्रयोग गर्नुभन्दा जनबोलीका सरल र मिठासपूर्ण शब्द छनोट गरी गहिरो अर्थ सम्प्रेषण गर्नु उनको गीति-शिल्पको मुख्य विशेषता हो।

प्रस्तुत ‘आधा जिन्दगी’ (२०८३) शीर्षक आफैँमा बिम्बात्मक र अर्थपूर्ण छ। जीवन कहिल्यै पनि पूर्ण हुँदैन; यसमा केही न केही छुटिरहेकै हुन्छ-चाहनाहरू, सपनाहरू, सम्बन्ध वा समय। ‘आधा जिन्दगी’ ले मानिसले भोगेको आधा भाग र पाउन बाँकी वा गुमाइसकेको आधा भागबीचको द्वन्द्वलाई सङ्केत गर्दछ। यस अर्थमा यो शीर्षक समग्र सङ्ग्रहको भावभूमिको प्रतिनिधित्व गर्न पूर्णतः सफल छ। ‘आधा जिन्दगी’ सङ्ग्रहभित्र सङ्ग्रहीत गीतहरूमा मानव जीवनका बहुआयामिक पाटोसँगै समग्र जीवन दर्शन समेटिएका छन्।

यस सङ्ग्रहका अधिकतर गीतमा जीवनको अपूर्णताप्रतिको चेतना भेटिन्छ। मानिसले जीवनमा चाहेका सबै कुरा पूरा हुँदैनन्। केही न केही अधुरो रहनु नै मानव नियति हो भन्ने भावलाई गीतकार एस्पी कोइरालाले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेका छन्। त्यस्तै मानिसले भोगेका पललाई स्मरण गर्दै गीतकार कोइरालाले विगतका सम्झनाहरूले वर्तमानलाई कसरी प्रभावित पार्छ भन्ने कुरालाई गीतमा गहिरोसँग उतारेको पाइन्छ। बितेका दिन, छुटेका साथीभाइ र विगतका प्रिय पलको सम्झना नै मानिसको जीवनको ठूलो सहारा बन्न पुग्छ भन्ने सत्यलाई यस गीतमा अभिव्यक्त गरिएको छ। मानवीय नाता-सम्बन्धमा आउने विश्वास, शङ्का, सामीप्य र दूरीलाई सङ्ग्रहका गीतमा सूक्ष्म ढङ्गले केलाइएको छ।

प्रेमको सुखद अनुभूतिसँगै विछोडको आन्तरिक वेदनालाई कलात्मक तरिकाले समेटिएको छ। ‘आधा जिन्दगी’ सङ्ग्रहका गीत आधुनिक नेपाली सुगम गीतको संरचनाअनुसार स्थायी र अन्तराको सन्तुलित ढाँचामा रचिएका छन्। अत्यन्तै सुन्दर र बोधगम्य शब्द चयन गरिएका आधा जिन्दगीका गीत सरल र गहन अर्थपूर्ण रहेका छन्। भावअनुकूलका कोमल र अर्थपूर्ण शब्दको छनोटले गीतलाई जीवन्त बनाएको छ। यस सङ्ग्रहका प्रायः गीतमा अनुप्रास अलङ्कारको स्वाभाविक प्रयोग पाइन्छ। शब्द-शब्दमा अनुभूतिका बिम्बहरू उतारिएका छन्, जसले पाठक तथा श्रोताको मनमा सिधा छाप छाड्न सफल रहेको छ।

कोइरालाको गीति-यात्रा र ‘आधा जिन्दगी’ सङ्ग्रह नेपाली सुगम सङ्गीत तथा साहित्यका लागि एक अमूल्य निधि हो, जसले नेपाली गीति साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

नेपाली गीति साहित्यमा एस्पी कोइराला एक निष्ठावान् र संवेदनशील स्रष्टा हुन्। उनको ‘आधा जिन्दगी’ गीतसङ्ग्रहले नेपाली गीत लेखनमा भावनात्मक गहिराइ, सरल भाषा र दार्शनिक चेतनाको सुन्दर नमुना प्रस्तुत गरेको छ। जीवनका अधुरा सपना, आत्मीय सम्बन्ध र आन्तरिक संवेदनालाई गीतको रूप दिने उनको कला प्रशंसनीय छ। गीतमार्फत जीवनकै अर्थबोध गराउन सक्ने दर्शन बोकेका गीतकार कोइरालाका गीतमा जीवनकै समग्रता र पूर्ण जीवन दर्शन पाउन सकिन्छ।

समग्रमा, एस्पी कोइरालाको गीति-यात्रा र ‘आधा जिन्दगी’ सङ्ग्रह नेपाली सुगम सङ्गीत तथा साहित्यका लागि एक अमूल्य निधि हो, जसले नेपाली गीति साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। पेज टर्नर प्रकाशनले बजारमा ल्याएको यस कृतिमा गीतकार प्रा.डा. कृष्णहरि बराल, किरण खरेल र समालोचक महेश पौड्यालले गीतकार एस्पी कोइरालाका व्यक्तित्व र गीतिकारिताको पक्षमा चर्चा गरेका छन्। एक सय ७१ पृष्ठमा संरचित आधा जिन्दगी गीतसङ्ग्रह कृति पठनीय र सङ्ग्रहणीय रहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : ३६ बजे

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको