वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेका छन्। उनले इरान तथा मध्यपूर्वका केही देशबाट सम्झौताको प्रस्ताव आएपछि यो निर्णय गरिएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत् अमेरिका इरानमाथि ठूलो सैन्य आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन्।
उनले सम्झौताको प्रारम्भिक रूपरेखामा होर्मुज जलडमरूमध्य तत्काल खोल्ने र इरानको परमाणु जोखिम अन्त्य गर्ने विषयमा सहमति भएको दाबी गरेका छन्। यसकाा साथै, यस निर्णयमा इजरायल पनि अमेरिकासँग सहमत रहेको उनले बताएका छन् ।
यसअघि एक्सियोसको रिपोर्टमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोनमा कुरा गर्दै इरानमाथिको सम्भावित ठूलो आक्रमण रोक्न र संयम अपनाउन आग्रह गरेको दाबी गरिएको थियो।
हमला रोकिए पनि संकट उस्तै
मिडिल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो रस ह्यारिसनले ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरे पनि संकट समाप्त भएको नभएको बताएका छन् । उनले आगामी केही दिनले तनाव कम हुने वा फेरि युद्ध चर्किने भन्ने निर्धारण गर्ने बताए।
‘ट्रम्पले हमला रोकेपछि पनि अवस्था सामान्य भएको छैन। परिस्थिति अझै अत्यन्त संवेदनशील छ र जुनसुकै बेला बिग्रन सक्छ’, उनले भने, ‘इरान धम्कीको वातावरणमा वार्ता गर्न चाहँदैन, किनभने उसलाई हरेक पटक आफ्नो नरम व्यवहारको फाइदा अमेरिकाले उठाएको जस्तो लाग्छ।’
इरानले रणनीतिक जित ठान्न सक्छ
ह्यारिसनले अल जजिरासँग कुरा गर्दै ट्रम्पको निर्णयलाई इरानले आफ्नो रणनीतिक जितका रूपमा लिन सक्ने बताएका छन्।
उनले भने, ‘इरानले सम्भवतः डोनाल्ड ट्रम्प ठूलो युद्ध र त्यससँग जोडिएका जोखिमका कारण पछि हटेको निष्कर्ष निकाल्न सक्छ।’
ट्रम्पले किन हमला स्थगित गरे र वार्तामा दुवै पक्षबीच वास्तवमा के सहमति भयो भन्ने अझै स्पष्ट भएको छैन। होर्मुज जलडमरूमध्य खोल्ने र नाकाबन्दी अन्त्य गर्ने विषयमा ठोस सहमति नभएसम्म अहिलेको शान्तिलाई दीर्घकालीन मान्न नसकिने उनको भनाइ छ।
‘अमेरिका अगाडि धम्की दिन्छ, पछाडि वार्ता खोज्छ’
इरानले अमेरिकामाथि दोहोरो नीति अपनाएको आरोप लगाएको छ। इरानी सांसद हसन गशगावीले अमेरिका एकातिर सैन्य आक्रमणको धम्की दिने र अर्कोतर्फ वार्ताको प्रयास गर्ने गरेको बताएका छन्।
उनले भने, ‘अमेरिकाले इस्लामिक गणतन्त्र इरानलाई धोका दिन सक्दैन। युद्ध होस् वा वार्ता, होर्मुज जलडमरूमध्यबाट जहाज आवतजावत हुने वा नहुने निर्णय इरानले नै गर्नेछ।’
२४ घण्टामा के के भयो ?
अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्व छोड्न सुझाव दिएको छ। अमेरिकी विदेश मन्त्रालयले सुरक्षा अवस्था थप बिग्रिन सक्ने भन्दै आफ्ना नागरिकलाई पश्चिम एसिया छोड्ने तयारी गर्न आग्रह गरेको छ। ट्रम्पको कडा चेतावनीबीच यो यात्रा परामर्श जारी गरिएको हो।
इरानले पनि अमेरिकी आक्रमणको कडा जवाफ दिने बताएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले कुनै पनि अमेरिकी सैन्य आक्रमणको जवाफ दिन तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले पाकिस्तान र टर्कीका नेताहरूसँगको वार्तामा पनि यही सन्देश दोहोर्याएका छन्।
इजरायलको रक्षा गर्न अमेरिकासँग स्रोत अभाव हुन थालेको दाबीसहितका समाचार पनि आएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी सेनाका एक वरिष्ठ जनरलले इरानका निरन्तर आक्रमणका कारण इजरायलको रक्षा गर्न हाल उपलब्ध नौसैनिक स्रोत पर्याप्त नरहेको भन्दै पेन्टागनलाई चेतावनी दिएका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरले इरानसँग व्यावसायिक जहाजको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । जयशंकरले इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्दै व्यापारिक जहाज र नाभिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन्। भारत सरकारले पश्चिम एसियाको द्वन्द्वमा हालसम्म १६ भारतीयको मृत्यु भएको र ७५ जना घाइते भएको जनाएको छ।
अमेरिकाले इजरायलमा थप रिफ्युलिङ विमान पठाउने तयारी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार अमेरिका बेन गुरियन विमानस्थलमा थप १० वटा रिफ्युलिङ विमान पठाउने तयारीमा छ। त्यसपछि त्यहाँ यस्ता विमानको संख्या ४० पुग्नेछ, जसले क्षेत्रमा अमेरिकी सैन्य तयारीलाई थप बलियो बनाउने बताइएको छ।












प्रतिक्रिया