काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा थापाले बिपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने भन्दै संसद्लाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्ने माग गरे ।
उनले विद्यमान संकटको सामना गर्न राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरू सम्मिलित संयन्त्र निर्माणको पहल तत्काल गर्न समेत सुझाव दिए ।
सरकारलाई आवश्यक सचेत गराउन, निगरानी गर्न र सहयोग पुर्याउन सभामुखको अग्रसरतामा विशेष संसदीय समिति गठन गर्न उनले माग गरे ।
उनले जलवायु परिवर्तनजन्य संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र रणनीति तय गर्न सरकारले ’सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्ने धारणा राखे ।












प्रतिक्रिया