चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार बिहानको पहिरोले क्षतिग्रस्त महत्वपूर्ण राजमार्ग एक सातामै पुनः सञ्चालनमा आएको छ।
चौबीसै घण्टा जारी उद्धार प्रयासबीच राजमार्ग सञ्चालनमा आएपछि गत साता गएको विनाशकारी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यले थप गति लिने भएको छ।
चाइना मिडिया ग्रुप (सीएमजी) का पत्रकारहरूले केरूङ बन्दरगाहबाट जनाएअनुसार जी–२१६ राष्ट्रिय राजमार्ग हुँदै ठूला सवारीसाधन तथा भारी उपकरण विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेका छन्। यससँगै अझै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई थप व्यापक र गहिराइमा अघि बढाउन सकिने भएको छ।
गत अगस्ट २६ मा आएको हिमपहिरो र ढुंगेपहिरोका कारण उत्पन्न माटो तथा ढुंगाको ठूलो प्रवाह केरूङ बन्दरगाहमा पुगेको थियो। घटनामा शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको र ५४६ जना सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले बताएका थिए।
‘कसैलाई छाड्ने छैनौँ’
केरूङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धारकर्मी परिचालन गरिएको छ। शिचाङ सीमा प्रहरी अधिकारीसहितका उद्धारकर्मीले कठिन परिस्थितिका बाबजुद खोजी कार्यलाई निरन्तरता दिने बताएका छन्।
शिचाङ जनरल बोर्डर इन्स्पेक्सन स्टेसनअन्तर्गत सिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीले भने, ‘हामी खोजी कार्यलाई तीव्र बनाउनेछौँ। हामी हार मान्ने छैनौँ, कसैलाई छाड्ने छैनौँ र सम्पर्कविहीन सबैलाई खोज्न आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्नेछौँ।’
कठिन भौगोलिक अवस्था, खराब मौसम र विपद्को ठूलो प्रभावका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। विज्ञहरूका अनुसार भूभागको कठिन भिरालोपन, पहिरोको तीव्र गति र साँघुरो उपत्यकाका कारण पहिरोको प्रभाव झन् भयावह बनेको हो।
विपद् प्रभावित क्षेत्रमा जमिनमा जमेको बाक्लो लेदोका कारण उद्धार टोलीको आवतजावतसमेत कठिन भएको छ। केही स्थानमा लेदो घुँडा र कतिपय क्षेत्रमा कम्मरसम्म पुगेको उद्धारकर्मीहरूले बताएका छन्। लेदोका कारण सामान्यतया प्रयोग हुने केही खोज तथा पत्ता लगाउने उपकरणको प्रभावकारितासमेत घटेको छ।
यस्तो कठिन परिस्थितिका बीच उद्धार टोलीले विभिन्न विधिबाट खोजी गरिरहेको छ। जमिनमा खटिएका टोलीले हातैले खोजी गर्दै टकटक्याउने, आवाज दिने र सुन्ने काम गरिरहेका छन्।
तोकिएका क्षेत्रमा दुईवटा खोजी कुकुर परिचालन गरिएको छ भने भग्नावशेषमुनि पुरिएका व्यक्तिको सम्भावित स्थान पत्ता लगाउन जीवन पत्ता लगाउने उपकरणलगायत अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको छ।
उद्धारकर्मीका अनुसार पछिल्ला दिनमा बन्दरगाहको सम्पूर्ण क्षेत्रमा सतही खोजी गरिएको छ र माथिल्लो तहमा पटकपटक खोजी भइसकेको छ।

सञ्चार सेवा खुल्यो
शिचाङका दूरसञ्चार कम्पनीहरूले मंगलबार साँझ ५ बजेसम्म पहिरो प्रभावित क्षेत्रमा एउटा बेस स्टेसन पुनः सञ्चालनमा ल्याउनुका साथै थप १२ वटा आपत्कालीन स्टेसन स्थापना गरेका छन्। यससँगै उद्धारको कमान्ड, खोजी तथा राहत सामग्री व्यवस्थापनका लागि आवश्यक सञ्चार सेवा पूर्ण र अविच्छिन्न बनेको जनाइएको छ।
स्थानीय दूरसञ्चार निकायले हवाई तथा जमिनमा आधारित एकीकृत सञ्चार सहायता प्रणाली पनि सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत विङ लुङलगायत सञ्चार रिले ड्रोन परिचालन गरिएको छ।
विस्थापितलाई स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग
विपद्बाट विस्थापितका लागि बनाइएका अस्थायी शिविरमा आवश्यक सामग्री पर्याप्त रहेको सीएमजीले जनाएको छ। नगरपालिका, काउन्टी र टाउनसिप तहमा स्वास्थ्यकर्मी परिचालन गरी नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श प्रदान भइरहेको छ।
केरुङ काउन्टीको जिफु गाउँमा स्थापना गरिएका तीनवटा अस्थायी शिविरमा १५० भन्दा बढी गाउँलेलाई राखिएको छ।
चिनियाँ जनमुक्ति सेनाको शिजाङ सैन्य कमान्डअन्तर्गतका स्वास्थ्य टोलीले विस्थापितलाई औषधि उपलब्ध गराउने, उपचार गर्ने तथा मनोसामाजिक सहयोग प्रदान गर्ने काम जारी राखेका छन्।
यसैबीच, महामारी रोकथाम तथा सरसफाइ टोलीले आवास क्षेत्र र सार्वजनिक पैदलमार्गलगायतका महत्वपूर्ण स्थानमा व्यापक सरसफाइ तथा कीटाणुशोधन गरिरहेका छन्।
चीनबाट नेपालमा डीएनए विज्ञसहित दोस्रो राहत
चीनले मंगलबार नेपालमा दोस्रो चरणको आपत्कालीन राहत सामग्री र डीएनए विज्ञहरूको टोली पठाएको छ। यसअघि पहिलो चरणको राहत सामग्री आइतबार नेपाल पुगेको थियो।
नेपालको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर पठाइएको पछिल्लो राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरणका उपकरण र प्रकाश व्यवस्थापनका सामग्री छन्।
चीनको तेस्रो विशेषज्ञ टोलीअन्तर्गतका पाँच जना डीएनए पहिचान विशेषज्ञ पनि सोही विमानबाट नेपाल आएका छन्। नेपाल आइपुगेलगत्तै उनीहरू विपद् प्रभावित क्षेत्रमा पुगेर स्थलगत कार्यमा सहयोग गर्न अघि बढेका छन्।
नेपाली अधिकारीहरूका अनुसार मंगलबारसम्म विनाशकारी बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुगेको र ४ हजार ६०६ जना अझै बेपत्ता छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार चीनले विपद्पछि नेपालसँग निरन्तर समन्वय गरिरहेको बताएका छन्। उनका अनुसार मौसम विज्ञान, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणलगायतका क्षेत्रमा दुवै देशबीच सहकार्य र सूचनाको आदानप्रदान भइरहेको छ।
‘छिमेकी मुलुकका रूपमा रहेको परम्परागत मित्रतालाई अघि बढाउँदै चीन नेपालसँग दृढतापूर्वक उभिनेछ र कठिनाइ सामना गर्न संयुक्त रूपमा अघि बढ्नेछ,’ गुओले भने।
उनले चीनले सम्पर्कविहीन चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि ‘हरसम्भव प्रयास’ गरिरहेको बताए। विदेशी नागरिकको पहिचान तथा उनीहरूका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन चीनको विदेश मन्त्रालयले सम्बन्धित देशका दूतावाससँग समेत नजिकबाट समन्वय गरिरहेको जनाएको छ।












प्रतिक्रिया