काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार प्रयास जारी छ ।
भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँग समन्वय गरी हाल लाङ्टाङ र चिलिमेमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
“चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली ३ ‘ए’ मा परिचालन गरिएको छ र उहाँहरूले नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहनुभएको छ । उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ”, भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उनले भने ।
कोरियाली सुरुङ उद्धार टोलीले पनि नेपाली टोलीसँग मिलेर अपर त्रिशूली १ को सुरुङ खोल्ने कार्य गरिरहेको उनले जानकारी दिए । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गणतन्त्र कोरियाबाट थप सहयोग तथा ‘लजिस्टिक्स’ आउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।
यसैगरी, सरकारले १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डिएनए नमुना विश्लेषणको कार्य जारी राखेको छ । प्रवक्ता क्षेत्रीले भने, “चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली हिजो आइपुगेको छ । त्यसयता नेपाल प्रहरीले गरिरहेको कार्यमा सहभागी भई डिएनए नमुनाको प्रशोधन तथा विश्लेषणलाई तीव्र बनाउन काम गरिरहेको छ ।”
यस प्रक्रियालाई तीव्र बनाउन सिङ्गापुरबाट छ सदस्यीय ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ पनि आइपुगेको भने थप १३ सदस्य डिएनए परीक्षण उपकरणसहित आज आइरहेको मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य लजिस्टिक्ससहित थप सदस्यहरू भोलि त्यस टोलीमा सहभागी हुनेछन् ।
आवश्यक उपकरण तथा साधनसहितको थप कोरियाली फरेन्सिक टोली पनि हालै यस कार्यमा सहभागी भएको छ । त्यस्तै, सुरक्षा निकाय, सरकारी निकाय, चिकित्सा तथा आपतकालीन प्रतिक्रिया टोली र अन्य सम्बन्धित निकाय प्रभावित क्षेत्रमा एकसाथ काम गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले प्रभावित क्षेत्र तथा आसपासमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ ।
पछिल्लो जानकारीअनुसार एक हजार ११४ वटा शव फेला पारिएको छ, करिब तीन हजार ९०० जना अझै बेपत्ता छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका र तीमध्ये पाँच जना सम्पर्कमा रहेका तथा सुरक्षित अवस्थामा रहेका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।
दुई हजार ५०० जना तीर्थयात्री फर्किए
“विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित तीन हजार जनामध्ये करिब दुई हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी हुँदै फर्किसकेका छन् । बाँकी मानिसलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही जना ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्”, उनले भने ।
मन्त्रालयले करिब एक हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेका जनाउँदै चाँडै फर्कन चाहनेका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको उल्लेख गरेको छ ।
केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरका सम्बन्धमा उपयुक्त सीमा नाकामार्फत उनीहरूको पुनःरुट निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ । त्यस दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता छन् ।












प्रतिक्रिया