काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र भारी हिमपातका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ। हिमपातका कारण हिल्सा-ताक्लाकोट सडक खण्ड ठप्प हुँदा ४१ जना नेपाली नागरिक नाकामै अलपत्र परेका छन्।
नाकामा रोकिएकाहरूमा अधिकांश नाम्खा गाउँपालिका–१, २ र ३ का बासिन्दा रहेका छन्। उनीहरू चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका र गत शुक्रबार हिल्सा पुगेका थिए।
अध्यागमन अधिकृत विमल पौडेलका अनुसार हिल्सामा झण्डै अढाइ फिटसम्म हिउँ जमेकाले आवतजावत पूर्ण रूपमा बन्द भएको छ। हिमपातपछि चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शनका लागि सीमा आवतजावतमा रोक लगाएको छ। हिल्सास्थित अध्यागमन कार्यालयका अनुसार अक्टोबर ४ (असोज १८) देखि नाका पुन: सञ्चालनमा आउन सक्ने सम्भावना छ।
हिल्सा पुग्ने मुख्य बाटो नारा लेकमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन ठूलो चुनौती थपिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार चीनतर्फ सडक सफा गर्ने काम जारी रहे पनि नेपालतर्फको बाटो खुलाउन समय लाग्नेछ। हिल्सा क्षेत्रमा एउटा मात्र स्काभेटर उपलब्ध हुनु र इन्धनको अभाव हुनुले सडक पन्छाउने काम सुस्त बनेको छ। अहिले स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा हिउँ पन्छाउने काम भइरहेको छ।
चालु वर्ष हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। अध्यागमन कार्यालयका अनुसार मानसरोवर जाने पर्यटकमा सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् भने त्यसपछि बेलायत, अमेरिका र नेपालका पर्यटक छन्।
कैलाश मानसरोवर यात्राको मुख्य मौसम सकिनै लाग्दा भएको यो अप्रत्याशित हिमपातले पर्यटक तथा स्थानीय व्यापारीलाई मारमा पारेको छ भने सीमा क्षेत्रको जनजीवन प्रभावित बनाएको छ।














प्रतिक्रिया