काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग (एनपीएल)मा हारजित खेलको स्वाभाविक हिस्सा भएको बताएका छन्। उनले पहिलो खेलमा बेहोरेको हारलाई ‘दशा कटेजस्तै’ भएको अनुभवका रूपमा व्याख्या गरेका छन् ।
तेस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनको हार बेहोरेको थियो। उक्त खेलमा सुदूरपश्चिमको ब्याटिङ चल्न सकेको थिएन । तर, टोलीले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गर्यो।
पोखराविरुद्धको जितमा इशानले पनि महत्त्वपूर्ण योगदान दिए । उनले ३१ बलमा ३७ रन बनाउँदै कप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर टोलीको जितको आधार तयार पारे। दीपेन्द्रले अविजित ५१ रन बनाएपछि सुदूरपश्चिमले १४६ रनको लक्ष्य १६ ओभर ५ बलमै पूरा गरेको थियो ।
इशानले खेलमा उतारचढाव आउने बताउँदै पहिलो हारलाई पछाडि छाडेर अघि बढ्नु महत्त्वपूर्ण रहेको संकेत गरेका छन् ।
सुदूरपश्चिम गत संस्करणको उपविजेता टोली हो। यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको टोलीले सुरुवाती हारपछि जित निकाल्दै आफ्नो लय समात्ने संकेत गरेको छ ।














प्रतिक्रिया