काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार तथा विज्ञ टोलीमा कुल २५ जना पदाधिकारी तथा कर्मचारीहरू कार्यरत रहेका छन् ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक भएको विवरणअनुसार उक्त २५ सदस्यीय टोलीमा मन्त्री सरहको सुविधा र दर्जा पाउने ३ जना, राज्यमन्त्री सरहका २ जना तथा अन्य विभिन्न प्रशासनिक एवं प्राविधिक श्रेणीका सल्लाहकार, विज्ञ र स्वकीय कर्मचारीहरू समावेश छन् ।
प्रधानमन्त्रीको सल्लाहकार समूहमा कुमार व्यञ्जनकार अवैतनिक मुख्य सल्लाहकारका रूपमा मन्त्री सरहको दर्जामा कार्यरत छन् । त्यसैगरी, असिम शाह राजनीतिक सल्लाहकारका रूपमा मन्त्री सरहको पदमा छन् ।
नीति, प्रशासन तथा सुशासन सल्लाहकारका रूपमा सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रूपमा विवेक मिश्र राज्यमन्त्री सरहको श्रेणीमा रहेका छन् ।
यस्तै, विज्ञ समूह अन्तर्गत प्रा.डा जगदिश प्रसाद अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा मन्त्री सरहको श्रेणीमा छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयको प्रशासनिक नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरेका छन्, जो राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा छन् ।
स्वकीय सचिवालयमा राजपत्राङ्कित प्रथम श्रेणी सरहका ६ जना पदाधिकारीहरू छन् । जसमा स्वकीय सचिवका रूपमा नवीन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना) का रूपमा संजिव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) का रूपमा दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजकका रूपमा सन्तोष गिरी र विज्ञ (सामाजिक विकास) का रूपमा विश्व राई छन् ।
यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणी सरह पदमा ५ जना कार्यरत छन् । जसमा स्वकीय उपसचिव प्रकृति ढकाल, स्वकीय उपसचिव विशाल अधिकारी, सहायक विज्ञ (नागरिक उड्डयन) सुमन गौतम, सहायक विज्ञ (भाषा तथा मस्यौदा) रवि किरण अधिकारी र स्वकीय उपसचिव विनय शाक्य छन् ।
राजपत्राङ्कित तृतीय श्रेणी सरहको शाखा अधिकृत तहमा ४ जना पदाधिकारीहरू छन् । जसमा स्वकीय शाखा अधिकृत (प्रेस सहकर्ता) सुरेन्द्र बजगाईं, स्वकीय शाखा अधिकृत (ग्राफिक डिजाइन) रोसन तामाङ्ग, स्वकीय शाखा अधिकृत बेदानन्द जोशी र अनुसन्धान अधिकृत हेम नारायणदास चौधरी कार्यरत रहेका छन् ।
त्यस्तै, सचिवालयको प्राविधिक तथा प्रशासनिक सहयोगका लागि राजपत्रअनङ्कित प्रथम श्रेणी सरहको पदमा ५ जना कर्मचारीहरू रहेका छन् । जसमा प्रशासन सहायकका रूपमा अनुप थापा मगर, ऋषी थापा, राजकुमार गौतम र बेनिस कार्की छन् भने कम्प्युटर सहायक (भिडियो सम्पादक) का रूपमा अमृत पाण्डे कार्यरत छन् ।




















प्रतिक्रिया