काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र अन्य घटनालाई नियन्त्रण गर्न कोशी प्रदेशका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडबाडका बेला भिडभाड हुने भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा हुन सक्ने ठगी रोक्न र सुरक्षित यात्राका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर स्थित बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो ।
शुक्रबार एक कार्यक्रमबीच कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले यात्रु सहायता कक्षको उद्घाटन गरे ।
प्रहरी नायब महानिरीक्षक खनालले चाडबाडका बेला भिडभाड हुने र यस्तो बेला प्रहरी खोज्दै हिँड्न नपरोस् भनेर तत्काल प्रहरीको सेवा उपलब्ध गराउन यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
उनले कानुनले उपलब्ध गराएको परिधिमा रहेर कानुन पालना गराउन प्रहरी तथा ट्राफिक प्रहरीले लाग्नुपर्ने धारणा व्यक्त गरे ।
प्रत्येक वर्ष चाडबाडको समयमा मात्र सञ्चालन हुने यात्रु सहायता कक्षलाई वर्षौभरी सञ्चालन गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने यातायात व्यवसायी र यात्रुहरूले बताएका छन् । यात्रु सहायता कक्ष कोशी प्रदेशका विभिन्न जिल्लामा एकै साथ स्थापना गरिएको छ ।














प्रतिक्रिया