काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले विगतमा राजनीतिक धक्का खाए पनि पुनः दुई तिहाइ ल्याउने दावी गरेका छन्।
शुक्रवार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ गराउँदैयस्तो दावी गरेका हुन्। उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र बोध आवश्यक रहेको बताए। पार्टीमा आत्मालोचना मात्र नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको तर्क गरे। सत्यलाई आत्मसात गर्नसके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने बताए।
अध्यक्ष ओलीले हाल पार्टीले ब्यहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरे। उनले आफ्नो दल पहिलेको ‘दुई तिहाइ’ को नजिक पुगेको स्मरण गर्दै त्यो नै अन्तिम गन्तव्य नभएको स्पष्ट पारे।
ओलीले भने, ‘सानातिना कुरा र विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौँ। फेरि उठ्ने र अझ बलियो भएर अघि बढ्ने क्षमता विकास गर्नुपर्छ। हामी विगतमा दुईतिहाइको अवस्थामा पुगेका थियौँ। त्यो अवस्थालाई आधार बनाएर अझ ठूलो उद्देश्यतर्फ अघि बढ्नु हाम्रो लक्ष्य हो।’
नवनियुक्त सदस्यहरूलाई पार्टीको जिम्मेवारी बोध गराउँदै अध्यक्ष ओलीले दत्तचित्त भएर जनताको काममा लाग्न निर्देशन दिए। उनले आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण सामर्थ्य र बुद्धि लगाउन आह्वान गर्दै पार्टीको भविष्य कार्यकर्ताकै निष्ठामा निर्भर रहेको बताए।














प्रतिक्रिया