काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर जम्मा हुने समर्थकलाई अभिवादन गर्दै आएका छन् ।
तर, यसपटक मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिरको दृश्य केही फरक देखियो । घरमा बम विस्फोट गराउने धम्की पाएपछि पहिलोपटक समर्थकमाझ देखिएका अमिताभ कडा सुरक्षा घेराभित्र थिए ।
आइतबार सधैँझैँ प्रशंसकको अभिवादन स्वीकार गर्न घरबाहिर पुगेका उनी यसपटक पारदर्शी बुलेटप्रूफ सिसाभित्र उभिएका थिए । उनले त्यहीँबाट हात जोड्दै र हात हल्लाउँदै समर्थकहरूको माया तथा शुभेच्छा स्वीकार गरे ।
यस भेटघाटमा उनका छोरा अभिषेक बच्चन पनि सँगै देखिए । सार्वजनिक भएका भिडियो तथा तस्बिरमा अभिषेक बुबाको पछाडि उभिएर वरपरको गतिविधि र समर्थकहरूको भीडलाई सतर्कतापूर्वक नियालिरहेको देखिन्छ। जलसाबाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति पनि थियो ।
बम विस्फोटको धम्कीपछि अमिताभको सुरक्षामा विशेष सतर्कता अपनाइएको देखिन्छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनलाई बुलेटप्रूफ सिसाको घेराभित्र राखेर समर्थकसँग भेट गराइएको हो ।
धम्कीका कारण सुरक्षामा कडाइ गरिए पनि अमिताभले आफ्ना प्रशंसकसँगको वर्षौँ पुरानो आइतबारको परम्परा भने तोडेनन् । जोखिमकाबीच पनि समर्थकलाई भेट्न पुगेका उनको यसपटकको उपस्थितिले प्रशंसकसँगको सम्बन्धलाई उनी कति महत्त्व दिन्छन् भन्ने देखाएको छ ।















प्रतिक्रिया