प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर « Khabarhub

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । यो मन्दिरले पुरातात्त्विक महत्व बोकेको छ ।  

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा अवस्थित छ, यो मन्दिर । यहाँ अवस्थित गढीहरूको संरक्षण गर्न सके यो क्षेत्रलाई रसुवाकै अग्रणी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । 

रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण तथा सङ्घीय राजधानी काठमाडौँबाट ९४ किलोमिटर उत्तरमा उक्त मन्दिर अवस्थित छ । पासाङल्हामु राजमार्गको छेउमै रहेको  यो ऐतिहासिक स्थलमा अनुकूल हावापानी पाइन्छ । 

गर्मी महिनामा बहने हिमाली शीतल हावा र जाडोमा समेत तुसारो नपर्ने विशेषताका कारण यो स्थल भ्रमणका लागि आकर्षक मानिन्छ ।  मन्दिरसँग नेपाल चीन(भोट) युद्धको गौरवशाली इतिहाससँग जोडिएको कालिका क्षेत्र विकास समितिले उल्लेख गरेको छ ।  

दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज नेपाली सेनालाई पछि हटाउँदै बेत्रावतीसम्म आइपुग्दा यसै मन्दिर परिसरमा गाई र गोरूको बली चढाइएको किंवदन्ती छ ।

सोही घटनापछि एकाएक उत्पन्न भएको भीषण चट्याङ, हावाहुरी र प्राकृतिक विपत्तिमा परी चिनियाँ फौज ठूलो क्षति बेहोर्दै त्रिशूली नदीमा होमिन पुगेको र नेपाली भूमि सुरक्षित रहेको इतिहास छ । 

त्यसै बेलादेखि नै कालिकामाईको शक्तिको चर्चा चुलिएको र यसलाई ‘धैबुङ चित्र कालिका’ का रूपमा पुज्न थालिएको हो । यद्यपि, समयक्रमसँगै यो ऐतिहासिक नाम भने विस्तारै ओझेलमा पर्दै जान थालेकोमा संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन् । 

पण्डित टंकप्रसाद ढकालले विवाह, व्रतबन्ध वा ठूला सांस्कृतिक कार्य हुँदा मन्दिरमा रहेकी कालिका माईसँग प्रार्थना गरेकै भरमा आवश्यकता अनुसारका तामा–पित्तलका भाँडाकुँडा उपलब्ध हुने गर्दथे । 

तर, पछि मानिसहरूमा लोभ र अशुद्धता बढेसँगै नियमानुसार भाँडाकुँडा फिर्ता नगरेपछि माई रिसाएर सो चमत्कार रोकिएको लोकविश्वास छ । पण्डित ढकालका अनुसार यो स्थल केवल एउटा मन्दिर मात्र नभएर सिङ्गो रसुवाकै धार्मिक र सांस्कृतिक पहिचानको जीवित इतिहास हो ।

रसुवाको कालिका गाउँपालिका–२ का वडा अध्यक्ष उमेशबहादुर न्यौपानेले परापूर्वकालदेखिनै महाशक्तिपीठको रूपमा पुजिँदै आएको धैबुङ कालिका रसुवाकै एक अमूल्य धरोहर बताए। 

गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले पालिका भित्रका पुरातात्त्विक र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । यहाँको धार्मिक तथा ऐतिहासिक पर्यटनको विकासका लागि गाउँपालिकाले विशेष नीति र बजेटको व्यवस्था गरेको छ । 

विसं २०६० मा राम्चेमा गएको विनाशकारी पहिरोले सैनिक ब्यारेक बगाएपछि विस्थापित सेनाका जवानहरू अस्थायी रूपमा मन्दिर परिसरमा बस्दै आएका छन् । ब्यारेकले ठाउँ ओगटेपछि मन्दिरको नियमित पूजापाठ र सर्वसाधारणको सहज आवागमनमा केही सङ्कुचन आएको छ । 

विगतमा काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक तथा वनभोज का लागि आउने भक्तजनको लर्को लाग्ने गरे पनि हाल पर्याप्त खुला स्थानको अभाव देखिएको छ ।

मन्दिरको पूर्वपट्टी रहेको नेपाल–चीन युद्धकालको ऐतिहासिक ’कोतघर’ अहिले भग्नावशेषमा परिणत भइसकेको छ । वरपरका कमारेगढी र घलेगढी जस्ता पुरातात्त्विक महत्त्वका प्राचीन किल्लासमेत उचित मर्मत–सम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

पासाङल्हामु राजमार्गबाट मात्र पाँच मिनेटको पैदल यात्रामा सहजै पुग्न सकिने यो स्थल पहुँचका दृष्टिले अत्यन्तै सुलभ छ ।  

यहाँको अद्वितीय प्राकृतिक दृश्य, अनुकूल मौसम र ऐतिहासिक विरासतलाई एकापसमा जोडेर राज्यले बेलैमा प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सके यो क्षेत्र रसुवाकै समग्र पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई गति दिने एउटा दरो खम्बा बन्न सक्ने प्रगाढ सम्भावना देखिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : ५७ बजे

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

काठमाडौँ – जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा