प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर « Khabarhub

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । यो मन्दिरले पुरातात्त्विक महत्व बोकेको छ ।  

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा अवस्थित छ, यो मन्दिर । यहाँ अवस्थित गढीहरूको संरक्षण गर्न सके यो क्षेत्रलाई रसुवाकै अग्रणी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । 

रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण तथा सङ्घीय राजधानी काठमाडौँबाट ९४ किलोमिटर उत्तरमा उक्त मन्दिर अवस्थित छ । पासाङल्हामु राजमार्गको छेउमै रहेको  यो ऐतिहासिक स्थलमा अनुकूल हावापानी पाइन्छ । 

गर्मी महिनामा बहने हिमाली शीतल हावा र जाडोमा समेत तुसारो नपर्ने विशेषताका कारण यो स्थल भ्रमणका लागि आकर्षक मानिन्छ ।  मन्दिरसँग नेपाल चीन(भोट) युद्धको गौरवशाली इतिहाससँग जोडिएको कालिका क्षेत्र विकास समितिले उल्लेख गरेको छ ।  

दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज नेपाली सेनालाई पछि हटाउँदै बेत्रावतीसम्म आइपुग्दा यसै मन्दिर परिसरमा गाई र गोरूको बली चढाइएको किंवदन्ती छ ।

सोही घटनापछि एकाएक उत्पन्न भएको भीषण चट्याङ, हावाहुरी र प्राकृतिक विपत्तिमा परी चिनियाँ फौज ठूलो क्षति बेहोर्दै त्रिशूली नदीमा होमिन पुगेको र नेपाली भूमि सुरक्षित रहेको इतिहास छ । 

त्यसै बेलादेखि नै कालिकामाईको शक्तिको चर्चा चुलिएको र यसलाई ‘धैबुङ चित्र कालिका’ का रूपमा पुज्न थालिएको हो । यद्यपि, समयक्रमसँगै यो ऐतिहासिक नाम भने विस्तारै ओझेलमा पर्दै जान थालेकोमा संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन् । 

पण्डित टंकप्रसाद ढकालले विवाह, व्रतबन्ध वा ठूला सांस्कृतिक कार्य हुँदा मन्दिरमा रहेकी कालिका माईसँग प्रार्थना गरेकै भरमा आवश्यकता अनुसारका तामा–पित्तलका भाँडाकुँडा उपलब्ध हुने गर्दथे । 

तर, पछि मानिसहरूमा लोभ र अशुद्धता बढेसँगै नियमानुसार भाँडाकुँडा फिर्ता नगरेपछि माई रिसाएर सो चमत्कार रोकिएको लोकविश्वास छ । पण्डित ढकालका अनुसार यो स्थल केवल एउटा मन्दिर मात्र नभएर सिङ्गो रसुवाकै धार्मिक र सांस्कृतिक पहिचानको जीवित इतिहास हो ।

रसुवाको कालिका गाउँपालिका–२ का वडा अध्यक्ष उमेशबहादुर न्यौपानेले परापूर्वकालदेखिनै महाशक्तिपीठको रूपमा पुजिँदै आएको धैबुङ कालिका रसुवाकै एक अमूल्य धरोहर बताए। 

गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले पालिका भित्रका पुरातात्त्विक र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । यहाँको धार्मिक तथा ऐतिहासिक पर्यटनको विकासका लागि गाउँपालिकाले विशेष नीति र बजेटको व्यवस्था गरेको छ । 

विसं २०६० मा राम्चेमा गएको विनाशकारी पहिरोले सैनिक ब्यारेक बगाएपछि विस्थापित सेनाका जवानहरू अस्थायी रूपमा मन्दिर परिसरमा बस्दै आएका छन् । ब्यारेकले ठाउँ ओगटेपछि मन्दिरको नियमित पूजापाठ र सर्वसाधारणको सहज आवागमनमा केही सङ्कुचन आएको छ । 

विगतमा काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक तथा वनभोज का लागि आउने भक्तजनको लर्को लाग्ने गरे पनि हाल पर्याप्त खुला स्थानको अभाव देखिएको छ ।

मन्दिरको पूर्वपट्टी रहेको नेपाल–चीन युद्धकालको ऐतिहासिक ’कोतघर’ अहिले भग्नावशेषमा परिणत भइसकेको छ । वरपरका कमारेगढी र घलेगढी जस्ता पुरातात्त्विक महत्त्वका प्राचीन किल्लासमेत उचित मर्मत–सम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

पासाङल्हामु राजमार्गबाट मात्र पाँच मिनेटको पैदल यात्रामा सहजै पुग्न सकिने यो स्थल पहुँचका दृष्टिले अत्यन्तै सुलभ छ ।  

यहाँको अद्वितीय प्राकृतिक दृश्य, अनुकूल मौसम र ऐतिहासिक विरासतलाई एकापसमा जोडेर राज्यले बेलैमा प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सके यो क्षेत्र रसुवाकै समग्र पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई गति दिने एउटा दरो खम्बा बन्न सक्ने प्रगाढ सम्भावना देखिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : ५७ बजे

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झैँ बनाए

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  फेरि सैन्य आक्रमण हुन सक्ने

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर

आरोप निराधार रहेको गगन सचिवालयको दाबी, सरकारले भ्रम फैलायो

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक