कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । सोमालियामा इस्लामिक विद्रोही समूह अल–शबाबविरुद्धको अन्तरराष्ट्रिय सैन्य अभियानमा प्रमुख भूमिका निर्वाह गर्दै आएको युगान्डाले सन् २०२७ को अन्त्यसम्म सबै सैनिक फिर्ता गर्ने योजना बनाएको छ ।
युगान्डाली सेनाले जारी गरेको विज्ञप्तिमा सोमालियाको सङ्घीय सरकारसँग भएको द्विपक्षीय सम्झौताअनुसार सैनिक फिर्ती प्रक्रिया तत्काल सुरु गरिएको उल्लेख छ । अफ्रिकी सङ्घ सहयोग तथा स्थिरीकरण मिसन इन सोमालिया (एयूएसओएम) अन्तर्गत परिचालित सैनिक पनि फिर्ता हुने विज्ञप्तिमा जनाइएको छ ।
सन् २००७ मा अफ्रिकी सङ्घले सोमालियामा इस्लामिक विद्रोहीविरुद्ध सैन्य अभियान सुरु गर्दा युगान्डा सेना पठाउने पहिलो देश बनेको थियो । त्यसयता अफ्रिकी सङ्घका विभिन्न अभियानमा हजारौँ सैनिक परिचालन गर्दै युगान्डाले प्रमुख भूमिका निर्वाह गर्दै आएको थियो ।
पछिल्ला महिनामा अमेरिका लगायतका प्रमुख आर्थिक सहयोगीले आर्थिक सहायता कटौती गरेपछि सोमालियामा सञ्चालित अन्तरराष्ट्रिय सैन्य अभियानको भविष्य अनिश्चित बनेको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घको रसद तथा बन्दोबस्तीसम्बन्धी मिसनलाई दिँदै आएको आर्थिक सहयोगसमेत फिर्ता लिएको छ ।
सोमालियामा पछिल्लो अफ्रिकी सङ्घीय मिसनअन्तर्गत युगान्डाका चार हजार पाँच सयदेखि छ हजार सैनिक तैनाथ थिए । त्यस्तै, द्विपक्षीय सम्झौताअन्तर्गत थप दुई हजारदेखि दुई हजार पाँच सय सैनिक परिचालित थिए ।
अन्तरराष्ट्रिय सैन्य अभियान जारी रहे पनि अलकायदासँग आबद्ध अल–शबाब समूहले सोमालियाका मध्यवर्ती क्षेत्रका ठूला भूभागमा अझै नियन्त्रण कायम राखेको छ । विद्रोहीविरुद्धको कारबाहीमा पर्याप्त प्रगति नभएको र सोमाली सरकारले राष्ट्रिय एकता तथा राजनीतिक सुधारमा अपेक्षित काम गर्न नसकेको भन्दै अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ ।
युगान्डाली सेनाले सेना फिर्तीको निर्णयसँगै सोमालियामा शान्ति र स्थायित्व कायम गर्न विगत २० वर्षदेखि गर्दै आएको सहयोग अभियान अन्त्य हुने जनाएको छ । यस कदमले सोमाली सशस्त्र बललाई देशको सुरक्षाको पूर्ण जिम्मेवारी लिन सक्षम बनाउने सेनाको भनाइ छ ।














प्रतिक्रिया