जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान « Khabarhub

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। नेपाल सरकारले वैदेशिक लगानीका लागि हरसम्भव सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न इच्छुक रहेको बताए।

उनले लगानीकर्ताका लागि आकर्षक प्रतिफल, नाफा र पुँजी फिर्ती सुनिश्चित गर्ने सहज प्रक्रिया र स्थिर समष्टिगत आर्थिक वातावरण नेपालमा तयार गरिएको उल्लेख गरे।

 ‘नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइरहँदा पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने यो उपयुक्त समय हो,’ राष्ट्रपति पौडेलले भने ।

गौतमबुद्धको दर्शन र शान्तिको सन्देशले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध प्राचीनकालदेखि जोडिएको उल्लेख गर्दै उनले ‘शान्तिको विजय त्यो हो, जसमा कसैको हार हुँदैन’ भन्ने बुद्धवचन स्मरण गराए।

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा निर्धक्क लगानी गर्न जापानी व्यवसायीलाई आग्रह गरे ।

 ‘नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,’ उनले भने। 

नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आजको सहभागिताले दुवै देशबीच व्यापार र लगानी सम्बन्ध विस्तारमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उहाँले दशकौँदेखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले विश्वसनीय विकास साझेदारका रूपमा दिएको योगदानको उच्च प्रशंसा गरे । राजनीतिक स्थिरतासँगै नेपाल सामाजिक न्याय, सुशासन र जनसमृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य रहेको जानकारी दिए।

विदेशी लगानी आकर्षित गर्न उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत अधिकांश क्षेत्र खुला गरिएको र कानुनी तथा संस्थागत सुधारहरू गरिएको उनको भनाइ थियो। नेपाल लगानी बोर्डमार्फत ठूला लगानीकर्तालाई एकद्वार सेवा उपलब्ध गराइने र नेपालले दक्षिण एसियामै अनुकूल व्यावसायिक वातावरण प्रदान गरेको अन्तर्राष्ट्रिय निकायहरूको मूल्याङ्कनले पुष्टि गरेको राष्ट्रपति पौडेलले बताए।

भारत र चीनजस्ता उदीयमान अर्थतन्त्रको बीचमा रहेको नेपालको भौगोलिक अवस्थाले लगानीकर्तालाई थप फाइदा पुर्‍याउने उनको विश्वास थियो।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति राखेका थिए। 

जापानी व्यापारिक समुदायका सहभागीहरूले नेपालमा लगानीका अवसरबारे जानकारी पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ४३ बजे

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना

एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ र चित्लाङ बराबरी 

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लव र

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै