काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ।
उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले सोमबार गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘जापानले नेपाललाई द्विपक्षीय अनुदान र ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरूमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझै लाभान्वित हुन चाहन्छौँ’, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।
‘नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौँ’ राष्ट्रपति पौडेलले भने ।
सांस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उनले लुम्बिनीको विकासमा जापानले पुर्याएको सहयोगप्रति आभार प्रकट गरे। राष्ट्रपति पौडेलले जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्दत पुर्याएको उनको भनाइ थियो ।
सो अवसरमा जापानका विदेश राज्यमन्त्री इवाओले गत भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेलेको भूमिकाप्रति देशबाहिर पनि अत्यन्त प्रशंसा भएको बताउँदै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोग गर्ने बताए ।
जापानी राज्यमन्त्रीले नेपालको शान्ति र समृद्धि भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै दिगो शान्ति र स्थायित्वका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने जापानको अपेक्षा रहेको बताएका थिए ।
यसैगरी उनले नेपालको विकासमा जापानका तर्फबाट निरन्तर सहयोग हुने विश्वास दिलाउँदै बाढीबाट क्षतिग्रस्त काठमाडौं–सिन्धुली सडकको पुनर्निर्माण र काठमाडौँ–कोटेश्वरको सवारी व्यवस्थापन गर्न आवश्यक ‘अन्डर पास’ निर्माण गर्ने निर्णय गरिसकेको पनि जानकारी दिएका थिए ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डल अहिले यहाँ उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । चारदिने भ्रमणका क्रममा राष्ट्रपति पौडेलसहितको प्रतिनिधिमण्डल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।













प्रतिक्रिया