काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। बिहीबार बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा-अर्चना गर्दै दर्शन गरेका हुन्। दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ ।
गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपतिनाथ पुगेका हुन्।
हनुमान जयन्ती हिन्दू धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ। विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतीकका रूपमा हनुमानलाई पूज्ने गरिन्छ। देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना हुने गर्छन् भने भक्तजन बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ।
आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो। सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको थियो। गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए।
दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्। साथै उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए। गुरुङले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
















प्रतिक्रिया