काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले संसद्मा आएर जवाफ दिनुपर्ने बताए ।
प्रधानमन्त्रीजस्तो व्यक्तिले जेठ १७ गते राखेको अभिव्यक्ति सच्याउनुपर्छ’, उनले भने ।
साम्पाङले सदनको नियमावलीको नियम ४ को उपनियम १ लाई उद्धृत गर्दै प्रत्येक सदस्यले बैठकमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र हाजिर गर्नुपर्ने उल्लेख गरे।
साम्पाङले प्रधानमन्त्री शाहले संसद्मा आएर हाजिर गरेको वा नगरेको विषयमा जाँच गर्नुपर्ने बताए। यदि शाहले हाजिर नगरेको अवस्थामा संविधानको धारा ७७ को उपधारा (१) को (ग) अनुसार उनी प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने बताए।
उनले थप भने, ‘प्रधानमन्त्रीले बैठकमा आएर कति पटक हाजिर गर्नुभयो, यो हेर्नुपर्छ।’
हर्क साम्पाङले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति पनि प्रश्न उठाए। उनले भने, ‘प्रधानमन्त्रीले भनेअनुसार नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ, यो कुरा पुष्टि हुनुपर्छ।’
सरकारले गल्ती गर्न नहुनेमा पनि साम्पाङले जोड दिए । ‘सरकारले गल्ती गर्न पाउँदैन, गर्नु पनि हुँदैन। गल्ती गर्छ भने त्यो सरकार होइन’, उनले भने ।
उनले प्रधानमन्त्रीले गलत बोलेको भए संसद्मा उभिएर तीन करोड नेपाली जनतालाई माफी माग्नुपर्ने बताए।













प्रतिक्रिया