विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ? « Khabarhub

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?



काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको यात्रा सफल हुँदैन। खेलाडीका लागि विश्वकप सकिँदा अर्को प्रतियोगिताको तयारी सुरु हुन्छ, तर प्रशिक्षकका लागि भने एउटा खराब नतिजाले करिअर नै संकटमा पार्न सक्छ। फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै यस्तै दृश्य देखिएको छ।

नकआउट चरणमा पुग्न असफल भएका केही टोलीका प्रशिक्षकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् भने केहीलाई फुटबल संघले नै हटाएको छ। आखिर किन विश्वकपको असफलताको सबैभन्दा ठूलो मूल्य प्रशिक्षकले चुकाउनुपर्छ?

२० वर्षपछि विश्वकप फर्काएका प्रशिक्षकको बिदाइ
विश्वकपपछि सबैभन्दा पहिले पद छाड्ने प्रशिक्षक बने मिरोस्लाभ कुबेक। ७४ वर्षीय कुबेकले चेक रिपब्लिकलाई २० वर्षपछि विश्वकपमा पुनरागमन गराउँदै ठूलो उपलब्धि दिलाएका थिए। तर त्यो सफलता विश्वकपमा कायम रहन सकेन। आयोजक मेक्सिको, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेको समूह ‘ए’मा चेक रिपब्लिकले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन।

तीन खेलबाट एक अंक मात्र जोड्दै टोली समूहको पुछारमा रह्यो र नकआउट चरण पुग्ने सपना समूह चरणमै समाप्त भयो। निराशाजनक नतिजापछि कुबेकले टोलीको असफलताको नैतिक जिम्मेवारी आफूले लिँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिए। चेक फुटबल संघले पनि उनको निर्णय स्वीकार गर्दै टोलीका लागि नयाँ प्रशिक्षक खोज्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

दोस्रो पटक पनि सफल हुन सकेनन् होङ
हङ म्युङ–बोका लागि विश्वकप २०२६ पनि सुखद बन्न सकेन। दक्षिण कोरियाले समूह चरण पार गर्न नसकेपछि ५७ वर्षीय प्रशिक्षकले टोलीको असफलताको जिम्मेवारी स्वीकार्दै पदबाट राजीनामा दिएका छन्। मेक्सिकोको प्रशिक्षण शिविरमै समर्थकसँग सार्वजनिक रूपमा माफी माग्दै उनले आफ्नो निर्णय सुनाएका थिए।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार राष्ट्रिय टोलीको निराशाजनक प्रदर्शनलाई लिएर राष्ट्रपतिले समेत छानबिन गर्न निर्देशन दिएका छन्, जसले यो असफलताले देशभर कति ठूलो चर्चा पाएको छ भन्ने देखाउँछ। होङका लागि यो पहिलो यस्तो अनुभव भने होइन। सन् २०१४ को विश्वकपमा पनि उनकै प्रशिक्षणमा दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो। १२ वर्षपछि इतिहास फेरि दोहोरिएपछि उनले अन्ततः टोलीको नेतृत्वबाट अलग हुने निर्णय गरेका हुन्।

सात वर्षपछि स्कटल्यान्डसँग बिदाइ
विश्वकप २०२६ ले स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कको सात वर्ष लामो यात्राको पनि अन्त्य गरिदिएको छ। टोली नकआउट चरणमा पुग्न असफल भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन। क्लार्कले विश्वकप सुरु हुनुअघि नै यदि स्कटल्यान्ड नकआउट चरणमा पुग्न सकेन भने आफू पद छाड्ने स्पष्ट संकेत दिएका थिए। ब्राजिल, मोरक्को र हाइटी रहेको कठिन समूहबाट टोली अघि बढ्न नसकेपछि उनले आफ्नो प्रतिबद्धताअनुसार पद त्याग्ने निर्णय गरे।

यो निर्णय अझ रोचक यस कारण पनि बनेको छ कि केही साताअघि मात्रै क्लार्कले युरो २०२८ र विश्वकप २०३० सम्म स्कटल्यान्डको नेतृत्व गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए। तर विश्वकपको निराशाजनक नतिजाले त्यो सम्झौता लामो समय टिक्न सकेन। सन् २०१९ देखि स्कटल्यान्डको नेतृत्व सम्हालेका क्लार्कले टोलीलाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्‍याउने सफल प्रशिक्षकका रूपमा पहिचान बनाएका थिए। तर विश्वकप २०२६ मा समूह चरण पार गर्न नसक्नु नै अन्ततः उनको सात वर्षे कार्यकाल टुंगिने मुख्य कारण बन्यो।

ट्युनिसियामा पनि प्रशिक्षक परिवर्तन
विश्वकप २०२६ मा ट्युनिसिया पनि प्रशिक्षक परिवर्तन गर्ने टोलीको सूचीमा परेको छ। समूह चरणमा लगातार निराशाजनक प्रदर्शन गरेपछि टोलीको नेतृत्वमा फेरबदल गरिएको हो। नेदरल्यान्ड्ससँग ३–१ को पराजयपछि मुख्य प्रशिक्षक हर्भे रेनार्डले टोली छाडेका छन्। त्यसभन्दा अघि स्विडेनसँग ५–१ को लज्जास्पद हारपछि ट्युनिसियाली फुटबल संघले सबरी लामोचीलाई पदबाट बर्खास्त गरेको थियो। लगातार कमजोर प्रदर्शन र समूह चरणमै विश्वकप यात्रा टुंगिएपछि ट्युनिसियाले नयाँ नेतृत्वमार्फत टोलीलाई पुनः व्यवस्थित गर्ने तयारी थालेको छ।

यससँगै विश्वकप २०२६ ले फेरि एकपटक देखाएको छ कि ठूलो प्रतियोगितामा खराब नतिजाको सबैभन्दा ठूलो असर प्रायः प्रशिक्षकमाथि नै पर्छ।

हारको मूल्य किन प्रशिक्षकले चुकाउँछन्?
विश्वकपमा खेलाडी मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन संघर्ष गर्छन्, तर अन्तिम नतिजाको सबैभन्दा ठूलो जिम्मेवारी भने प्रायः मुख्य प्रशिक्षकमाथि आउँछ। टोलीले जित हासिल गर्दा त्यसको श्रेय खेलाडी, प्रशिक्षक र व्यवस्थापन सबैले बाँड्छन्। तर हार व्यहोर्नुपर्दा पहिलो प्रश्न र सबैभन्दा ठूलो दबाब प्रशिक्षकमाथि नै पर्न जान्छ। फिफा विश्वकप २०२६ को समूह चरणले पनि यही यथार्थ फेरि एकपटक पुष्टि गरेको छ। नकआउट चरणमा पुग्न नसकेका धेरै टोलीले अब नयाँ नेतृत्वको खोजी सुरु गरिसकेका छन्। कतिपय प्रशिक्षकले नैतिक जिम्मेवारी स्वीकार्दै स्वयं पदबाट राजीनामा दिएका छन् भने केहीलाई फुटबल संघले नै बर्खास्त गरेको छ।

यसले विश्व फुटबलमा एउटा स्पष्ट संदेश दिएको छ-विश्वकपमा केवल खेलाडीको प्रदर्शन मात्र होइन, प्रशिक्षकको रणनीति र नतिजाको पनि कठोर मूल्याङ्कन हुन्छ। त्यसैले प्रतियोगिता नकआउट चरणमा प्रवेश गरिसके पनि प्रशिक्षक परिवर्तनको चर्चा अझै सेलाएको छैन। विश्वकपको इतिहासले बारम्बार देखाएको छ, ठूला प्रतियोगितामा सफलता प्रशिक्षकलाई नायक बनाउँछ भने असफलताले केही क्षणमै उनको भविष्य बदलिन सक्छ। यही कारण विश्व फुटबलमा नतिजाभन्दा ठूलो मापनको आधार अर्को छैन।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ९ : ०२ बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा