स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता  « Khabarhub

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत आचरण, सेवाग्राहीप्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘आचारसंहिता, २०८३’ लागू गरेको छ ।

मन्त्रालयले जारी गरेको आचारसंहितामा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

आचारसंहिताअनुसार कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निष्पक्ष, इमानदार र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्नेछ। कुनै पनि राजनीतिक विचार, आस्था वा दबाबबाट प्रभावित नभई पूर्ण रूपमा राजनीतिक तटस्थता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहप्रति सहयोगी तथा सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै बिरामी, कुरुवा तथा सेवाग्राहीसँग शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने, जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र, आर्थिक अवस्था वा अन्य कुनै आधारमा भेदभाव गर्न नहुने व्यवस्था गरिएको छ । 

आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

मन्त्रालयले बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरणको गोपनीयता कायम राख्नुपर्ने, उपचार प्रक्रिया, उपलब्ध सेवा तथा सेवाशुल्कबारे स्पष्ट जानकारी दिनुपर्ने र अनावश्यक रूपमा सेवाग्राहीलाई प्रतीक्षा गराउने वा विभिन्न कक्षमा भौतारिन बाध्य पार्ने कार्य गर्न नहुने व्यवस्था गरेको छ ।

आचारसंहितामा स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्नो पेसागत दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने, सेवाका क्रममा कुनै पनि प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पत्ति, औषधि, उपकरण र अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनसम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौनजन्य दुर्व्यवहार, हिंसा वा उत्पीडन गर्न नहुने उल्लेख छ ।

आचारसंहिताले विपद्, महामारी तथा अन्य आकस्मिक अवस्थाका बेला उच्च जिम्मेवारी, समर्पण र व्यावसायिकता प्रदर्शन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने व्यवस्था पनि गरेको छ । 

कर्मचारीको व्यवहार र कार्यशैलीले स्वास्थ्य संस्थाको गरिमा तथा जनविश्वास अभिवृद्धि हुने खालको हुनुपर्नेमा जोड दिइएको छ ।

सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोगसम्बन्धी व्यवस्थाअन्तर्गत कर्मचारीले आफ्नो पदीय हैसियतका आधारमा प्राप्त गोप्य वा कार्यालयसम्बन्धी सूचना कानुनले अनुमति दिएको अवस्थाबाहेक सार्वजनिक गर्न नपाउने उल्लेख गरिएको छ । 

सरकारी निर्णय वा नीतिको गलत अर्थ लाग्ने गरी सूचना, अभिव्यक्ति वा सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ‘आचारसंहिता, २०८३’ को मुख्य उद्देश्य स्वास्थ्य संस्थामा अनुशासित, नैतिक, पारदर्शी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच र विश्वास अभिवृद्धि गर्नु हो ।
 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ६ : ०९ बजे

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी