चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन उपत्यका बाहिरै सिलिन्डरमा ‘बोटलिङ’ गरेर पठाउन थालिएको छ। ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट पनि उपत्यका प्रवेश गर्न नसकेपछि बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रकमा राखी काठमाडौँ पठाउने व्यवस्था मिलाइएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार आयल निगमले उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगलाई बाहिरका उद्योगबाट ग्यास भर्न अनुमति दिएको छ। सोही अनुसार बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका ग्यास उद्योगहरूसँग समन्वय गरी सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको छ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार धादिङ नौबिसेस्थित श्री ग्यासका १ हजार ५०० सिलिन्डर चितवनको बाबा ग्यासमा भरेर पठाइएको छ। यस्तै, चितवनकै साईबाबाले आफ्नै ९०० सिलिन्डर र नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर उपत्यका पठाएका छन्।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा र काठमाडौँका एभरेष्ट तथा सुगम ग्यास हेटौँडाको साहारा ग्यासमा भरेर पठाइएको छ। बनेपाका सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायतका उद्योगहरूले पनि उपत्यका बाहिरका प्लान्टमा बोटलिङ गराई आपूर्ति सहज बनाइरहेका छन्।
भारतबाट आउने ग्यासको आयात नघटेको र वैकल्पिक माध्यमबाट आपूर्ति भइरहेकाले उपत्यकामा ग्यासको अभाव नहुने सञ्चालक कालाखेतीले बताए। गत महिना भारतबाट हालसम्मकै उच्च ६० हजार २०० मेट्रिकटन ग्यास भित्रिएको र सोही अनुपातमा आयात जारी रहेको सङ्घले जनाएको छ। उपत्यका र वरपरका जिल्लामा देशभरको कुल खपतको ४० प्रतिशत ग्यास खपत हुने गर्छ।












प्रतिक्रिया