काठमाडौं– रसुवामा आएको बाढीले गरेको सडक कटानका कारण धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।
संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनबीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ ।
अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको छ । ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन् ।
रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो तथा लेदो थुप्रिँदा आवागमन प्रभावित हुँदै आएको छ । कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग नै पूर्ण रूपमा बन्द भएपछि यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा पर्न थालेको हो ।
विशेषगरी खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधन उपत्यका प्रवेश गर्न नसक्दा आगामी दिनमा आपूर्ति थप प्रभावित हुनसक्ने देखिएको छ । सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया