टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको छ । जापानी मौद्रिक अधिकारीहरूले विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न सक्ने सम्भावना र बैंक अफ जापानले यो वर्ष ब्याजदर अझ आक्रामक रूपमा बढाउन सक्ने लगानीकर्ताहरूको अनुमानका बीच अमेरिकी डलरको तुलनामा येन मजबुत बन्न पुगेको हो ।
बिहीबारको कारोबारमा येन प्रति अमेरिकी डलर १५७.६ सम्म पुगेर बलियो भएको छ । यसअघि येन लगातार कमजोर हुँदै प्रति डलर १६० को सीमा नजिक पुगेको थियो । डलरका साथै युरो र ब्रिटिस पाउन्डको तुलनामा पनि येनको मूल्यमा सुधार आएको छ ।
यसैबीच, जापान सरकारले ३० वर्ष अवधि भएको सरकारी ऋणपत्र (बन्ड) सफलतापूर्वक बिक्री गरेको छ । हालैका दिनहरूमा बन्ड बजारमा देखिएको गिरावटले लगानीकर्ताहरूमाझ चिन्ता बढाएको भए पनि यो बिक्रीले बजारलाई केही राहत दिएको छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार उक्त ३० वर्षे बन्डको औसत प्रतिफल ४ प्रतिशतभन्दा केही बढी कायम भएको छ ।
जापानका प्रधानमन्त्री सानाए ताकाइचीले सार्वजनिक खर्च बढाउने रणनीति अघि सारेसँगै बजार विश्लेषकहरूले जापानी अर्थतन्त्र, वित्तीय अनुशासन र केन्द्रीय बैंकको कदमलाई नजिकबाट नियालिरहेका छन् । गत जुलाई र अगस्ट महिनामा जापानी र अमेरिकी अधिकारीहरूले मुद्रा बजारमा संयुक्त रूपमा हस्तक्षेप गरेपछि येन १५५ प्रति डलरसम्म पुगेको थियो । तर त्यसपछि येन पुनः कमजोर बन्दै गएको थियो ।
वित्तीय विश्लेषकहरूका अनुसार येनमा आएको हालैको यो सुधार र बन्ड बजारको स्थिरताले बैंक अफ जापानलाई आउँदा महिनाहरूमा ब्याजदर थप वृद्धि गर्ने बाटो खुला गरिदिएको छ ।












प्रतिक्रिया