रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम बिन्दु बनेको रसुवाको स्याफ्रुबेंसी नजिकैको १२ घुम्ती पुग्दा त्यहाँको दृश्य सामान्य छैन।
ही दिनअघिसम्म चहलपहल हुने बस्ती अहिले बाढीको विनाशले उजाड बनेको छ। भोटेकोशीमा भदौ १० गते आएको बाढीले बजारको अस्तित्व नै मेटिएको छ।
चीनतर्फबाट सुनामीको शैलीमा उर्लिएको विनाशकारी बाढीले स्याफ्रुबेशी क्षेत्रका घर, होटल, पसल, सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ।
उत्तरी रसुवाको प्रमुख व्यापारिक तथा यातायात केन्द्रका रूपमा रहेको स्याफ्रुबेंसी बाढीअघि लाङटाङ क्षेत्र र नेपाल–चीन सीमातर्फ जाने यात्रुका लागि व्यस्त ट्रान्जिट प्वाइन्ट थियो। अहिले त्यही ठाउँमा बाढीले छाडेको हिलो, ढुंगा र भग्नावशेष मात्रै देखिन्छ।
झरीको मौसम अझै उस्तै छ। बाढीबाट जोगिएका तथा विस्थापित नागरिकका लागि टाउको लुकाउने सुरक्षित ठाउँसमेत पर्याप्त छैन। घर बगेका छन्, बस्ती बगेको छ, पसल र व्यवसाय बगेका छन्। कतिपयको हातमा अहिले शरीरको कपडाबाहेक केही बाँकी छैन।
आकाशमा उद्धार तथा राहतका हेलिकप्टरको चाप छ। सडकमा राहत सामग्री बोकेका गाडीको लाम देखिन्छ। बाहिरबाट हेर्दा राहत तथा उद्धारको गतिविधि तीव्र देखिए पनि त्यसको वास्तविक पहुँच यहाँका बासिन्दासम्म छैन।
राहत पुगेकै होला। तर कसले पाए, कसले पाएनन्? त्यसको व्यवस्थित लेखाजोखा कहाँ छ?
अझ विडम्बनापूर्ण अवस्था त त्यहाँ देखिन्छ, जहाँ पीडितका लागि पठाइएको राहत सामग्री नै अन्यत्र थुप्रिएको छ। जसलाई राहत आवश्यक छ, उसैसँग राहत राख्ने ठाउँ छैन।
घर छैन। गोठ छैन। पसल छैन। सुरक्षित भण्डारण गर्ने ठाउँ छैन।
त्यसैले अहिले स्याफ्रुबेंसी बाढीपीडितका लागि आवश्यकता खाद्यान्न र राहत सामग्री थुपार्नु मात्रै होइन, मानिसलाई वर्षा र चिसोबाट जोगाउने अस्थायी बासस्थानको व्यवस्था गर्नु पनि उत्तिकै जरुरी देखिएको छ।
बाढीले भौतिक संरचना मात्रै बगाएको छैन, सयौँ परिवारको दैनिकी र भविष्य पनि अस्तव्यस्त बनाएको छ। स्याफ्रुबेशीको उजाड दृश्यले विपत्तिपछिको उद्धार सकिए पनि पीडितको वास्तविक पुनर्स्थापना अझै बाँकी रहेको देखाउँछ।
रासस



















प्रतिक्रिया