काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपत्तिको क्षतिपूर्ति विकसित देशसँग माग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै झाले रसुवाको भोटेकोशीमा आएको बाढी नेपालका कारण नभएको भन्दै अत्यधिक कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
‘हामीले उनीहरूसँग राहत होइन, क्षतिपूर्ति माग्नुपर्छ। उनीहरूलाई राहत पठाइदेऊ भन्ने होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति देऊ भन्न सक्नुपर्छ,’ उनले भने।
झाका अनुसार नेपालले विश्वको कुल कार्बन उत्सर्जनमा ०.००२५ प्रतिशत पनि योगदान गर्दैन। तर जलवायु परिवर्तनका कारण सिर्जित विपद्को ठूलो क्षति नेपालले व्यहोर्नुपरेको उनको भनाइ छ।
‘बाढी हाम्रो कारण आएको होइन भने हामीले किन बारम्बार क्षति भोगिरहने?’ उनले प्रश्न गरे।
उनले चीन, अमेरिका र भारतजस्ता ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने देशले नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकले भोगेको क्षतिको जिम्मेवारी लिनुपर्ने बताए। नेपालले विद्युतीय सवारी साधनको प्रयोग र जलविद्युत्मार्फत स्वच्छ ऊर्जाको प्रवर्द्धन गरिरहेको पनि उनले उल्लेख गरे।
राष्ट्रसंघमा आवाज उठाउन आग्रह
झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई ढिला नगरी अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको मुद्दा उठाउन आग्रह गरेका छन्।
उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए।
‘राष्ट्रसंघीय महासन्धि र अन्तर्राष्ट्रिय अधिकारका दफा पल्टाएर विश्वसामु प्रश्न गर्नुपर्छ। राष्ट्रसंघमा गएर आवाज उठाउनुपर्छ,’ झाले भने, ‘त्यसका लागि हामी साथ दिन तयार छौँ।’
सरकारलाई दलहरूको समर्थन स्वागतयोग्य
झाले भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना गर्ने क्रममा सबै राजनीतिक दलले रास्वपा नेतृत्वको सरकारप्रति देखाएको समर्थन र सद्भाव अनुकरणीय रहेको बताए।
रास्वपाको आह्वानमा भएको सर्वदलीय बैठकमा सबै दल सहभागी भएर आ–आफ्ना धारणा राख्नु सकारात्मक भएको उनको भनाइ थियो।
उनले विपत्तिका बेला समाज पनि एकजुट भएको बताए। धनुषाको रघुनाथपुरमा राहत संकलन भइरहँदा आफ्नै दुई छाक टार्न कठिन हुने नागरिकले समेत पहाडी क्षेत्रमा राहत पठाइरहेको उदाहरण उनले प्रस्तुत गरे।
‘पहाडमा बाढीपहिरो आए तराईले छेक्नु र खेप्नुपर्छ भन्ने सुनेका छौँ। त्यो अहिले जनस्तरमै हुँदैछ,’ उनले भने।
‘प्रहरीसँग एउटा पनि हेलिकप्टर छैन’
झाले विपद्का बेला सुरक्षाकर्मीले सीमित स्रोतसाधनका बाबजुद गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै प्रहरीको आफ्नै हेलिकप्टर नहुनु गम्भीर विषय भएको बताए।
‘हाम्रो प्रहरीसँग एउटा पनि हेलिकप्टर छैन। विदेशमा टेलिभिजनसँग हेलिकप्टर हुन्छ। के प्रहरीले चाहिँ लाठीकै भरमा खट्नुपर्ने हो?’ उनले प्रश्न गरे।
आफ्नै सहकर्मीलाई भोटेकोशीले बगाएर बेपत्ता बनाए पनि सुरक्षाकर्मी उद्धारमा खटिएको भन्दै उनले उनीहरूको योगदानको प्रशंसा गरे।
झाले भोटेकोशी बाढीबाट भएको क्षतिलाई तत्कालीन राहत र उद्धारको विषयमा मात्रै सीमित नगरी जलवायु न्यायको मुद्दासँग जोडेर अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्नेमा जोड दिए।
‘हामी हाम्रो आगामी पुस्तालाई पनि यो क्षति भोगाउन चाहँदैनौँ,’ उनले भने, ‘अब समय आएको छ, कार्बन उत्सर्जनमा जसले भूमिका खेलेका छन्, उनीहरूले हामीलाई क्षतिपूर्ति दिनुपर्छ।’











प्रतिक्रिया