कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु « Khabarhub

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ । 
    
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रूख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन् । 

बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने यकिन गर्न सकिने मिश्रले बताए। 

दिनभरमा सफा गरिसक्ने अनुमान गरिएको छ । डाँडो सफा गरेपछि विज्ञहरूले हेरेसँगै कहाँबाट ट्याक खोल्न उपयुक्त हुन्छ । त्यसका लागि आवश्यक निर्देशनअनुसार काम अघि बढ्ने उनले जानकारी दिए । 

सडक विस्तारको काम गरिरहेको निर्माण कम्पनी शर्मा जेभीले सरसफाइ र रुख काट्ने काम गरेको हो । निर्माण कम्पनीले डाँडाको दुवैतर्फ एक्साभेटर तयारी अवस्थामा राखेको छ । 

मिश्रका अनुसार यो पहिलो डाँडो ८० मिटर हाराहारी चौडा छ । सडकबाट ३० मिटर अग्लाइमा पहिलो डाँडो छ । त्योभन्दा माथि अर्को डाँडो छ । झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो ।
 
त्रिशूली नदीले फेदमा रहेको बलियो संरचनासमेत बगाएपछि सडक भासिएको हो । निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काले नक्सांकन तयार भएसँगै काम गर्न तयारी अवस्थामा रहेको बताए। 

भदौ १४ गते बिहान यो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथासक्य छिटो  सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिई सकेको छ । भदौ महिनाभित्र वैकल्पिक मार्ग बनाउने गरी काम अघि बढाइएको हो । विसं २०५६ तिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख दिएको थियो । यससँगै सडकलाइन मर्मत सम्भारपछि विसं २०६० यता सडकले दुःख दिएको थिएन । 

दुवैतर्फ कडा चट्टान छ भने भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इञ्जिनियर मिश्र बताउँछन्। सोही ठाउँमा समस्या आएको हो । गतवर्ष सोही सडकको छेउ पट्टीको भाग भासिएपछि मर्मत भइरहेको थियो ।

यसै क्रममा पूरै सडक भासिएको हो । यो सडक भासिएसँगै गोरखातर्फबाट वैकल्पिक मार्गको खोजी भइरहेको छ । गोरखा तर्फबाट धादिङका फरक–फरक ठाउँमा निस्कने थुप्रै मार्ग छन् । तीमध्ये उपयुक्तलाई मर्मत सम्भार गरी वैकल्पिक रुपमा प्रयोगमा ल्याउन लागिएको हो । 

भोटेकोशीको बाढीसँगै आएको लेदो र गेग्रयानले त्रिशूली नदीको कृष्णभीरसहित  विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।
 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : ३१ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन