तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिइरहेका बेला इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।
इरानमाथि अमेरिकाले गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा १९ जना इरानी मारिएको दाबीपछि ट्रम्पले अमेरिकी सेना इरानमा थप आक्रमण गर्न जुनसुकै बेला तयार रहेको बताएका थिए ।
त्यसको जवाफमा इरानले कुवेतसहित जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य लक्ष्यलाई निशाना बनाएको जनाएको छ।
कुवेतको सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र तथा ड्रोनमध्ये अधिकांशलाई रोकिएको जनाएको छ। इरानको सरकारी टेलिभिजनले भने कुवेतमा रहेको अमेरिकी सैन्य आधारलाई ‘इरानी जनताविरुद्ध अमेरिकी अपराधको प्रतिक्रिया’स्वरूप लक्षित गरिएको पुष्टि गरेको छ।
यसैबीच, इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले इरानले युद्धमा ‘नयाँ रणनीति’ अपनाएको बताउँदै अमेरिकालाई थप कारबाही नगर्न चेतावनी दिएका छन्।
होर्मुज जलडमरूमध्यमा तनाव
अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यलाई समेत प्रभावित गरेको छ। इरानले उक्त जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरिरहेको आरोप अमेरिकाले लगाएको छ।
वासिङ्टनले इरानले होर्मुज जलडमरूमध्यमा समुद्री खानी राख्ने प्रयास गरेको आरोप लगाउँदै इरानी लक्ष्यमा आक्रमण गरेको जनाएको छ। इरानले भने अमेरिकी आक्रमणमा क्षति भएको दाबी गर्दै जोर्डन र यूएईमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेर जबाफी कारबाही गरेको बताएको छ।
इरानमाथि ‘अधिकतम दबाब’को तयारी
सैन्य कारबाहीसँगै अमेरिकाले इरानमाथि आर्थिक दबाबसमेत बढाउने संकेत गरेको छ। वासिङ्टनले इरानका व्यापारिक तथा आर्थिक साझेदारलाई समेत प्रतिबन्धको दायरामा ल्याउने चेतावनी दिएको छ।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गरी थप प्रतिबन्ध लगाउने अमेरिकी योजना ‘पूर्ण रूपमा अधिकतम दबाब’ कायम गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए।
यसैबीच, ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा इरानले प्रभावकारी रूपमा बन्द गरेको दाबी गरिएको रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्यको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझावसमेत दिए।
अमेरिका र इरानबीच लगातार बढिरहेको सैन्य तथा कूटनीतिक तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत चिन्ता बढाएको छ।












प्रतिक्रिया