काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान नगर्न सर्वसाधारण तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत वितरणका कार्यमा अवरोध पुग्न सक्ने भएकाले अनधिकृत ड्रोन उडानमा रोक लगाइएको हो।
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा मृतकको शव स्थानान्तरणका लागि प्रयोग हुने र १०० किलोग्रामसम्म भार बोक्न सक्ने अनुमति प्राप्त ठूला ड्रोनलाई मात्र सञ्चालन गर्न दिइने मन्त्रालयले जनाएको छ।
अनुमति नलिई वा तोकिएको मापदण्डविपरीत ड्रोन उडाएको पाइएमा एन्टी–ड्रोन टोली परिचालन गरी त्यस्ता ड्रोनलाई नियन्त्रणमा लिएर जफत गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत वितरण कार्यलाई सुरक्षित, समन्वयात्मक र अवरोधरहित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीको काममा कुनै पनि किसिमको अवरोध नपुग्ने गरी आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
हाल बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी र नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरणका कार्य सञ्चालन गरिरहेका छन्।












प्रतिक्रिया