को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ? « Khabarhub

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

ट्रकको क्याबिनदेखि इन्टरनेट स्टारसम्म



सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै ठोक्किएको हुन सक्छ, जसलाई हेर्नेबित्तिकै हाँसो आउँछ । हातमा चियाको कप, अनुहारमा कुनै बनावटीपन छैन र मन खोलेर हाँसिरहेका एक किशोर। फेसबुकदेखि इन्स्टाग्राम, टिकटकदेखि युट्युबसम्म विभिन्न मिम, रियाक्सन र हास्य भिडियोमा यो अनुहार बारम्बार देखिन्छ ।

इन्टरनेटमा यही अनुहारलाई धेरैले ‘लाफिङ ब्वाई’ भनेर चिन्छन् । उनको हाँसोले करोडौँ मानिसलाई मनोरञ्जन दिएको छ । तर, यो हाँसोको पछाडि लुकेको वास्तविक कथा भने त्यति रमाइलो छैन । गरिबीका कारण सानै उमेरमा पढाइ छाड्न बाध्य भएको एउटा बालक, ट्रकको क्याबिनमै किताब खोलेर पढ्न सिकेको संघर्ष, उनलाई आफ्नै भाइजस्तो मानेर भविष्य बनाउने प्रयास गरेका एक ट्रक चालक र संयोगले कैद भएको एउटा सामान्य भिडियो— यिनै घटनाले अरुण कुमारको जीवनलाई एउटा अनपेक्षित मोडमा पुर्‍याएको हो ।

को हुन् ‘लाफिङ ब्वाई’ ?
सामाजिक सञ्जालमा भाइरल भएका यी किशोरको वास्तविक नाम अरुण कुमार हो। घरमा उनलाई मायाले बन्नी वा लड्डु भनेर बोलाइने गरेको बताइन्छ। उनी भारतको तेलङ्गना राज्यको जयशङ्कर भुपालपल्ली जिल्लास्थित एक गाउँका बासिन्दा हुन्। अरुणको बाल्यकाल आर्थिक अभावमै बित्यो। उनका आमाबुबा कृषि मजदुरका रूपमा काम गर्थे। परिवारको कमजोर आर्थिक अवस्थाका कारण अरुणले कक्षा ४ मै पढाइ छाड्नुपर्‍यो। त्यतिबेला उनको उमेर केवल १० वर्ष थियो।

पढ्ने उमेरमा किताब बोक्नुपर्ने अरुणले परिवारलाई सहयोग गर्न ट्रकमा क्लिनरको काम सुरु गरे। यही कामका क्रममा उनको भेट भयो— नेहरू नामका एक ट्रक चालकसँग । त्यो भेट अरुणका लागि सामान्य भेट मात्र रहेन । यही सम्बन्धले उनको जीवनको दिशा बदलिदियो । नेहरू आफैँ पनि पढाइ पूरा गर्न नपाएका व्यक्ति थिए। तर अरुणको अवस्था देखेपछि उनले उनको भविष्यबारे सोच्न थाले। गाउँमा कतिपय मानिसले अरुणलाई ‘तिमी अब पढ्न सक्दैनौ’ भन्दै निरुत्साहित गर्थे। तर नेहरू त्यही कुरा स्वीकार गर्न तयार भएनन् ।

उनले अरुणलाई कामदारको रूपमा मात्र हेरेनन्, बरु पढाइ पूरा गराउने जिम्मेवारीसमेत लिए । पुस्तक किनिदिए, परीक्षा शुल्क तिरिदिए र अरुणलाई खुला विद्यालयमार्फत कक्षा १० को बोर्ड परीक्षामा सहभागी गराए । सबैभन्दा रोचक कुरा, अरुणको पढाइका लागि छुट्टै विद्यालय वा कक्षा थिएन । गुडिरहेको ट्रकको सानो क्याबिन नै उनको विद्यालय बन्यो ।

यात्राका क्रममा समय मिलाएर नेहरूले उनलाई पढाउने, अक्षर चिनाउने र गणित सिकाउने गर्थे। काम र पढाइ दुवैलाई अघि बढाउँदै अरुणले अन्ततः कक्षा १० को बोर्ड परीक्षा उत्तीर्ण गरे। सानैमा‘‘पढाइ अब सकियो’ भन्ने अवस्थामा पुगेका अरुणका लागि यो उपलब्धि आफैँमा ठूलो परिवर्तन थियो।

कसरी बने भाइरल ?
अब आउँछ उनको जीवनकै सबैभन्दा चर्चित अध्याय । अरुण र नेहरू कोइला लोड गर्ने काममा थिए । काम सकिएपछि अरुणले नुहाएर सफा कपडा लगाएका थिए । अर्कोतर्फ, कोइलाको कामका कारण नेहरूको हात पूरै कालो थियो । नेहरूले ठट्टा गर्दै अरुणको सफा कपडा छुन खोजे । अरुणले आफूलाई नछुन आग्रह गरे। त्यसपछि दुवैबीच रमाइलो कुराकानी चल्यो।

नेहरूले सडकछेउको पसलबाट चिया किनेर अरुणको हातमा दिए। फेरि उनलाई ट्रकको काम गर्न जिस्क्याए। भर्खरै नुहाएर सफा भएका अरुणलाई फोहोर हुने डर थियो। नेहरूको ठट्टा र आफ्नो अवस्थालाई लिएर उनी हाँस्न थाले। त्यही बेला तातो चियाले हातमा हल्का पोल्दा उनी झन् छटपटाउँदै मन खोलेर हाँसे। त्यो हाँसो अभिनय थिएन। कुनै स्क्रिप्ट थिएन। क्यामेरा अगाडि हाँस्न लगाइएको पनि थिएन। नेहरूले मोबाइलबाट त्यही क्षण कैद गरेका थिए ।

केही समयपछि उनले सामान्य सम्पादन गरेर भिडियो सामाजिक सञ्जालमा राखे। सुरुमा सामान्य भिडियोझैँ देखिएको त्यो क्लिप विस्तारै फैलिन थाल्यो। केही समयमै लाखौँ मानिसले हेर्न थाले। त्यसपछि त यसको यात्रा करोडौँ भ्युजसम्म पुग्यो। अरुणको एउटा सामान्य हाँसो इन्टरनेटको स्थायी ‘रियाक्सन फेस’ बन्न पुग्यो।

भाइरल भएपछि पनि जीवन उस्तै
इन्टरनेटमा करोडौँ मानिसले चिनेपछि अरुणको जीवन पूरै बदलिएको होला भन्ने लाग्न सक्छ। तर वास्तविकता केही फरक छ । अरुण साधारण परिवारबाट आएका युवक हुन् । उनका आमाबुबा मजदुरी गर्छन् । उनी परिवारसँग सामान्य घरमा बस्दै आएका छन् । घरमा वर्षायाममा पानी चुहिने र संरचना कमजोर रहेको विवरणसमेत सार्वजनिक भएका छन् । तर सामाजिक सञ्जालबाट प्राप्त आम्दानी र आफ्नै बचतका कारण उनीहरूको परिवारले अहिले नयाँ पक्की घर बनाउने काम सुरु गरेको बताइएको छ।

अरुणले सामाजिक सञ्जालमा पनि आफ्नै उपस्थिति बनाएका छन् । इन्स्टाग्राममा उनका लाखौँ फलोअर्स छन् भने युट्युबमा पनि उनीहरूको सामग्री लोकप्रिय छ । तर लोकप्रियतासँगै आएको हरेक अवसर उनीहरूले स्वीकार गरेका भने छैनन्।

भाइरल भएपछि अरुण र नेहरूलाई विभिन्न बेटिङ एपको प्रचार गर्न आकर्षक आर्थिक प्रस्ताव आएको बताइएको छ। सामान्य अवस्थामा आर्थिक अभावबाट आएका व्यक्तिका लागि यस्ता प्रस्ताव आकर्षक हुन सक्छन्। तर उनीहरूले त्यस्ता प्रस्ताव अस्वीकार गरे। यसको कारण उनीहरूको आफ्नै जीवनसँग जोडिएको थियो।

गाउँकै एक नजिकका साथीले बेटिङको लतका कारण ज्यान गुमाएको घटना उनीहरूले देखेका थिए। त्यसैले पैसाका लागि अरूलाई त्यही बाटोमा लैजाने सामग्रीको प्रचार नगर्ने उनीहरूले निर्णय गरेका छन्। यो निर्णयले उनीहरूको भाइरल यात्राको अर्को पक्ष देखाउँछ, लोकप्रियता बढ्दै जाँदा पनि आफूले विश्वास गरेको कुरामा सम्झौता नगर्ने प्रयास ।

हाँसोभन्दा ठूलो कथा
आज अरुणको हाँसो संसारभरका मिम र रियाक्सन भिडियोमा प्रयोग भइरहेको छ। कतिपयले उनको वास्तविक नामसमेत नजानेर केवल ‘लाफिङ ब्वाई’का रूपमा चिन्छन् । तर त्यो केही सेकेन्डको भिडियोभित्र एउटा लामो संघर्ष लुकेको छ । १० वर्षको उमेरमै विद्यालय छाडेर ट्रकको टायर र सामानसँग आफ्नो बाल्यकाल बिताउन बाध्य भएका अरुणले त्यही ट्रकको क्याबिनबाट फेरि किताब समाते।

उनलाई बाटो देखाउने नेहरू नभएको भए उनको जीवनको दिशा कस्तो हुन्थ्यो, त्यो अनुमान गर्न कठिन छ। अझ रोचक कुरा– करोडौँ मानिसले हेरेको त्यो भाइरल भिडियो कुनै योजनाबद्ध ‘कन्टेन्ट’ थिएन। साथीबीचको सामान्य ठट्टा, हातमा चियाको कप र स्वाभाविक रूपमा निस्किएको एउटा हाँसोले अरुणलाई इन्टरनेटको परिचित अनुहार बनाइदियो।

त्यसैले लाफिङ ब्वाई’को कथा केवल भाइरल भएको एउटा भिडियोको कथा होइन। यो गरिबीका कारण रोकिएको पढाइ फेरि सुरु गर्ने चाहना, सही समयमा पाएको साथ, संघर्षबीचको मित्रता र एउटा सामान्य क्षणले जीवनलाई अप्रत्याशित रूपमा बदलिदिन सक्ने कथा हो। स्क्रिनमा देखिने उनको हाँसो केही सेकेन्डको मात्र हुन्छ। तर त्यो हाँसोसम्म आइपुग्न उनले पार गरेको यात्रा भने निकै लामो छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ११ : ५१ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१