काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने बताए।
उनले आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। प्रतिकूल अवस्था र विभिन्न दबाबका बाबजुद पार्टीका नेता तथा कार्यकर्ता आफ्नै खर्चमा कुनै तामझाम नगरी देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको उनको भनाइ थियो।
विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास भइरहेको भन्दै महतले त्यसको विरोधमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको बताए।
पार्टीको मूल आदर्श, मूल्य र मान्यता जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको उल्लेख गर्दै उनले अदालतबाट समेत न्याय पाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए।
अर्को अधिवेशनमा भ्रममा परेर सहभागी भएका नेता तथा कार्यकर्ता पनि आफ्नो गल्ती महसुस गर्दै वडा तहदेखि नै आधिकारिक प्रक्रिया र अभियानमा पुनः जोडिन थालेको महतको दाबी थियो।














प्रतिक्रिया