बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी, भन्छन् – यस्तो रूप देख्दा रून मन लाग्छ (तस्बिर) « Khabarhub

बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी, भन्छन् – यस्तो रूप देख्दा रून मन लाग्छ (तस्बिर)


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन – कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको शनिबार बिहानको दृश्य हो । एक हप्ताअघि (असोज ९ देखि १२ गतेसम्म) निकै उर्लिएको नारायणी नदी अहिले शान्त छ । नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि सुरू हुन थालेको छ ।

बाढी आउनुअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने किनारमा आज ढुंगा र हिलो छ । करिब १ सय ५० देखि २ सय साना ठेला व्यवसायीहरूको रोजीरोटी जोडिएको यो क्षेत्रमा अहिले साना ठेलाहरू किनारका छेउछाउमा बसेर व्यापार गर्ने प्रयासमा छन् भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन् ।

उनीहरूले भरतपुर महानगरपालिकालाई कर तिरेर व्यापार गर्दै आएका छन् । बाढीपछि महानगरपालिकासँग छलफल गरेर उनीहरू पुनः व्यापारमा फर्किएका हुन् । महानगरपालिकाले किनारमा व्यापार सहज हुने गरेर आवतजावत गर्ने बाटो बनाइदिने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो १० वर्ष नारायणी किनारमा बिताएकी तारादेवी परियार बाढीपछि ठेला लिएर फेरि फर्किएकी छन् । ‘यो देख्दा रुन मन लाग्छ,’ उनी भन्छिन्, ‘कति रमझम थियो । परारको बाढीले अलिअलि भत्काएर लग्यो । यसपालि त झन् सोत्तरै पारिदियो । खोला र पानीसित मान्छेको के लाग्छ ?’

उनको ३ जनाको परिवार यही व्यापारमा आश्रित छ । तर अहिले दैनिक लगानी उठाउनै धौ–धौ परेको छ । ‘दैनिक चटपटे र मःमका लागि प्याज, मैदा, २ किलो मासु, मसला र पानी किन्दा ३ हजार रूपैयाँ त लगानी नै गर्नुपर्छ । हिजो २००० को मात्रै व्यापार भयो,’ उनले सुनाइन् ।

नारायणी किनारमा पाका मात्र होइन, आफ्नै देशमा भविष्य खोजिरहेका युवाहरू पनि उत्तिकै भेटिन्छन् । बिहान स्नातक पढ्ने र दिउँसो ठेला चलाउने गैँडाकोटकी ज्योति पौडेलका दुई दिदीबहिनी ५ वर्षदेखि यहीँ फास्टफुड बेचिरहेका छन् । ‘हामी त युवा हो, भर्खरै पढ्दै छौँ । विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर दिउँसो ठेला चलाएको,’ उनले सुनाइन्, ‘तर बाढी आएपछि मान्छे आउने बाटो नै बाँकी रहेन । हिँड्ने ठाउँ सबै ढुंगैढुंगा छ । घुम्ने ठाउँ नै ध्वस्त भएपछि व्यापार पुरै डाउन भयो ।’

व्यापार खस्किएपनि साना व्यवसायीहरूका लागि सरकारी तथा स्थानीय शुल्कको बोझ घटेको छैन । पोखराबाट भरतपुर आएर भाडामा बस्दै ५ वर्षदेखि ठेला चलाउँदै आएकी पवित्र अधिकारीको गुनासो पनि उस्तै छ । ‘अहिले त कोही मान्छे नै आउँदैनन्, फोटो खिच्ने ठाउँ नै छैन,’ उनले सुनाइन्, ‘व्यापार भए नि नभए नि महिनाको २५ सय रूपैयाँ महानगरलाई र दुई सय फोहोरको बुझाउनै पर्छ ।’ कमाउने र खाने माध्यम नै ठेलाको व्यापार रहेकाले व्यापार कम भए कसरी चल्ने भन्ने उनको चिन्ता छ ।

शब्द/तस्बिर : निशा श्रेष्ठरनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : १४ बजे

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २०

पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने

मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत

गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का