उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट ६ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी आरोप अस्वीकार गरेको छ । आरोपलाई राजनीतिक उक्साहटको संज्ञा दिँदै खण्डन गरेको उत्तर कोरियाले नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षणसमेत गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले साइबर चोरीमा आफ्नो देशको संलग्नता रहेको अमेरिकी आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्दै अस्वीकार गरेकी छन् ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले शनिबार बाइनान्सबाट भएको उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको जनाएको थियो । विज्ञहरूका अनुसार चोरी भएको रकम उत्तर कोरियाको अनुमानित वार्षिक कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ बराबर छ ।

घटनापछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले देशको साइबर सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । सन् २०२४ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले साइबर आक्रमणबाट प्राप्त गर्ने आम्दानी सामूहिक विनाशका हतियार विकासमा प्रयोग हुने गरेको उल्लेख गरेको थियो ।

यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले सोमबार नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरिएको जनाएको छ । परीक्षणका क्रममा मिसाइलको वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र ध्वस्त पार्न सक्ने क्षमता प्रदर्शन गरेको दाबी गरिएको छ ।

केसीएनएका अनुसार परीक्षणले मिसाइलको लक्ष्यमा ठाडो प्रहार गर्ने क्षमतामा सुधार भएको देखाएको छ । सुरक्षा विज्ञहरूका अनुसार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आफ्नो आक्रमण क्षमता प्रदर्शन गर्न तथा परम्परागत हतियारमार्फत सैन्य प्रतिरोध बलियो बनाउन यस्तो परीक्षण गरेको हुन सक्छ ।

दक्षिण कोरियाली सेनाले भने उक्त परीक्षणबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन । दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेको संयुक्त चिफ्स अफ स्टाफका प्रवक्ता जाङ डो–यङले बताएका छन् ।

उनका अनुसार परिचालन सुरक्षाको संवेदनशीलता र गुप्तचर स्रोतको संरक्षणका कारण दक्षिण कोरियाली सेनाले उत्तर कोरियाका सबै मिसाइल परीक्षणबारे सार्वजनिक जानकारी दिँदैन ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ३ : ४३ बजे

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का नवनियुक्त

प्रचण्डले भने- अहिले देशमा विवेक र राज्यमा विचार हरायो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

काठमाडौँ– सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर

प्रदर्शनअघि नै ‘किङ’ को ६६५ करोडको कारोबार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको फिल्म ‘किङ’ प्रदर्शनमा आउनुअघि नै

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं- सरकारले प्रेस काउन्सिल ऐन २०४८ र संस्कृति, पर्यटन तथा