काठमाडौँ – नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात हुँदा अधिकांश हिस्सा भारतमा गएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको छ । यसबाट २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ ।
निर्यात हुने जुसमध्ये सबैभन्दा ठूलो हिस्सा विभिन्न फलफूलको मिश्रणबाट तयार गरिएको मिक्स जुसको छ । समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ ।
मिक्स जुसको प्रमुख बजार पनि भारत नै रहेको छ । भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस निर्यात भएको छ । यसबाहेक जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको १० हजार २०० लिटर निर्यात भएको छ ।
मिक्स जुसपछि सुन्तला र भुइँकटहरको जुस निर्यात बढी भएको छ । पहिलो तीन महिनामा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ । त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस विदेश पठाइएको छ । यी दुवै प्रकारका जुस भारतमा मात्रै निर्यात भएका छन् ।
नेपालबाट स्याउको जुस पनि उल्लेख्य मात्रामा निर्यात भएको छ । तीन महिनामा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको विभागको तथ्यांक छ ।
यसैगरी, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट र १ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि निर्यात भएको छ । यी दुवै प्रकारका जुसको बजारसमेत भारत नै रहेको छ ।
तथ्यांकले नेपाली जुसको निर्यातमा भारतको निर्भरता उच्च रहेको देखाएको छ । चीन र जापानमा पनि केही मात्रामा नेपाली जुस पुगे पनि मुख्य बजारका रूपमा भारत नै रहेको छ ।














प्रतिक्रिया