काठमाडौँ – यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ ।
समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका परेको छ ।
समितिले सार्वजनिक गरेको पर्वतालिकाअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउन समितिले जनाएको छ ।














प्रतिक्रिया