ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ? « Khabarhub

ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ?


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै हत्या गर्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ । उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका प्रचार सामग्री राखिँदै आएका छन् ।

यसैबीच, मध्यपूर्वमा जारी युद्ध थप चर्किन नदिन तेहरान र वासिङ्टनलाई वार्तामा ल्याउने कूटनीतिक प्रयास भइरहेका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि भएको छ ।

अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन हुन लागेका बेला राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन् । इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो ।

तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पलाई लक्षित विभिन्न चित्र र कलाकृति राखिएका छन् । एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्कोमा उनको टाउकोमाथि एक व्यक्तिको खुट्टा राखिएको दृश्य चित्रण गरिएको छ ।

त्यस्तै, अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ । उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित रहेको बताइएको छ ।

प्रदर्शनीस्थल नजिकै जेलको कोठाजस्तो संरचनासमेत निर्माण गरिएको छ । त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गरेका छन् । छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यहरू प्रदर्शन गरिन्छन् ।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ । त्यस्ता आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको इरानको दाबी छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ, ब्यानर र भित्तेचित्रमार्फत राजनीतिक सन्देश दिने परम्परा रहँदै आएको छ । यस्ता प्रचार सामग्रीमा सहयोगी राष्ट्र र सैन्य व्यक्तित्वको प्रशंसा गर्नुका साथै अमेरिका र इजरायलजस्ता विरोधी राष्ट्रलाई लक्षित सन्देश प्रस्तुत गरिन्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ३९ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा

काठमाडौं– प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि

जखेरा तालमा डुबेर एक बालिकाको मृत्यु

दाङ– लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने