म, किशोर गन्धर्व । तनहुँ जिल्लास्थित भानु नगरपालिका– १० को माटोमा जन्मिएको हुँ । जहाँ पहाडको फेदीसँगै गाउँको सरल जीवन र असीमित सपनाहरूले मेरो बालापनलाई हुर्काएका थिए । सुविधाभन्दा संघर्षलाई नजिकबाट नियाल्दै गर्दा सीमित साधन, सामान्य परिवेश, तर मनभित्र उर्लिरहेको भविष्यको दृढ चाहनालाई कहिल्यै मर्न दिइएन ।
जीवन सोचेजस्तो सरल र सहज हुँदैन भन्ने कठोर सत्यसँग सानैदेखि साक्षात्कार भए पनि मेरा अभिभावकहरू कहिल्यै हतारिएनन्, न त थाके । विशेषगरी मेरो शिक्षाप्रतिको उनीहरूको अटल आस्थामा सधैँ साथ रह्यो ।
मडारिइरहेका कठिनाइका काला बादलबीच चाँदीको घेरा खोजेजस्तै उहाँहरूले म भित्र देखेको उज्यालो सम्भावनाको दियोलाई निभ्न दिनुभएन । यही आड–भरोसाको जगमा मलाई काठमाडौंस्थित एउटा बोर्डिङ स्कुलमा पठाइयो, र त्यही क्षणबाट मेरो औपचारिक शैक्षिक यात्राले नयाँदिशा पायो– सपनाबाट लक्ष्यतर्फ, संघर्षबाट सम्भावनातर्फ ।
सन् २००७ तिर मैले एसएलसीको यात्रालाई सफलतापूर्वक पूरा गरेँ । त्यसपछि सोही वर्ष जीवनको नयाँ अध्याय सुरु गर्दै काठमाडौंको मीनभवनस्थित भीएस निकेतन उच्च माध्यमिक विद्यालयमा प्लस टु को विज्ञान संकायमा भर्ना भएँ । संघीय राजधानीको कलेज मेरा लागि केवल पढाइको ठाउँ मात्र थिएन । सर्घषका रुझानबीच असंख्य सपनाहरू एकै छानामुनि भेटिने संसारजस्तै थियो । जहाँ हामी प्रत्येक विद्यार्थी आफ्नै भविष्यको रूपरेखा कोर्दै अघि बढिरहेको थियौँ ।
म जीवविज्ञान समूहको एक विद्यार्थी थिएँ । उता भौतिक शास्त्र समूहमा अध्ययनरत विद्यार्थीमध्ये अहिले काठमाडौं महानगरपालिकाका सम्मानित मेयरका रूपमा चिनिनु भएका बालेन शाह पनि हाम्रै सहपाठी हुनुहुन्थ्यो । उहाँलाई त्यही कलेजमा देख्दा सधैँ भविष्यका सम्भावनाहरू झनै गहिरो भएको महसूस हुन्थ्यो । सन् २००९ मा मैले प्लस टु को शैक्षिक यात्रा सम्पन्न गरेँ र जीवन अर्को मोडतर्फ उन्मुख भयो ।
तर जीवन सधैँ योजना र अपेक्षाको सीधारेखामा मात्र नहिँड्ने रहेछ । पारिवारिक, आर्थिक चुनौतीका कारण करिब डेढ वर्षसम्म मेरो शैक्षिक यात्रा मनले नचाहँदा नचाहँदै धनको अभावका कारण रोकियो । त्यो समय मेरो जीवनको सबैभन्दा कठिन मोड थियो-जहाँ सपनाहरू आँखाभित्र आँसु झैँ टिलपिलाइरहेका थिए । तर यथार्थका कठोर भित्ताहरूले मार्ग अवरुद्ध गरिरहेको थियो । चाहना र परिस्थितिबीचको त्यो मौन संघर्षले मलाई दृढता, सहनशक्ति र जीवनप्रति नयाँ बुझाइ सिकायो ।
सो समयमा बाआमाको अथक प्रयास र दृढ संकल्पले घरको आर्थिक अवस्था पुनः सम्हालियो । अनि म काठमाडौं फरेस्ट्री कलेजमा बीएस्सी वन विज्ञान अध्ययनका लागि भर्ना हुन पुगेँ । यही विषय मेरो जीवनको मोड मात्र बनेन, बरु मेरो सोच, दृष्टि र यात्राको गन्तव्य नै बदलिने आधार बन्यो ।
पढाइसँगै म विभिन्न अनुसन्धान परियोजना र वनवातावरण क्षेत्रमा हुने फिल्डवर्कमा सक्रिय भएर संलग्न भएँ । वन, समुदाय र प्रकृतिसँग नजिकिएर काम गर्ने क्रममा मैले पुस्तकका पानामा नअटाउने माटोको गन्ध, रुखको मौनभाषा र समुदायको अनुभवबाट सिकिएको जीवनउपयोगी ज्ञान सँगाल्न पाएँ । यही परिवेशमा सन् २०१५ मा मैले विशिष्ट श्रेणीसहित स्नातक अध्ययन पूरा गरेँ ।
त्यसपछि विदेश गएर उच्च अध्ययन गर्ने कि भन्ने सपना फेरि मनमष्तिकमा आइरहेको थियो । तर त्यही वर्षको विनाशकारी भूकम्पले देशलाई मात्र होइन, मेरो योजना र जीवनको आधारलाई पनि गहिरो रूपमा हल्लाइदियो । परिवारको जिम्मेवारी थपियो, किनकि म विवाहित जीवनसँगै मेरी नानी संसारमा आइसकेकी थिइन् । त्यसबेलाबाट पढाइभन्दा मेरा अगाडि कर्तव्य उभियो र यही जिम्मेवारीले मलाई कर्मशील जीवनको यात्रातर्फ अघि बढायो ।
दाङबाट सुरु भएको मेरो जागिरे यात्राले जीवनको नयाँ क्षितिज खोलेको अनुभव हुन्छ । यूएसएडद्वारा सञ्चालित जलवायु परिवर्तन र वनसम्बन्धी महत्वपूर्ण परियोजनामा राष्ट्रिय गैरसरकारी संस्था ‘रूपान्तरण’मा जिल्ला संयोजकका रूपमा काम गर्दै मैले विकासको धरातल नजिकबाट अनुभूति गर्ने अवसर पाएँ ।
सन् २०१७ मा म सुर्खेत पुगेँ, जहाँ डीएफआईडीद्वारा सञ्चालित जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन कार्यक्रममा संलग्न हुँदै विपद् संवेदनशील समुदायसँग हातेमालो गर्न पाएँ । त्यहीँबाट सुरु भयो मेरो पेशागत परिपक्वताको अर्को चरण सेप्टेम्बर २०१७ देखि यूएसएडको ‘हरियो वन कार्यक्रम’ अन्तर्गत एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने सौभाग्य प्राप्त भयो, जसले मेरो अनुभवलाई अझ अन्तर्राष्ट्रिय आयाम दियो ।
यी पेशागत वर्षहरूले मलाई जलवायु परिवर्तन अनुकूलन, वन व्यवस्थापन, सुशासन, जैविक विविधता संरक्षण, विपद् जोखिम न्यूनीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, एकीकृत विकास योजना निर्माण तथा रणनीतिक योजना तयारीका क्षेत्रमा गहिरो ज्ञान, परिपक्व दृष्टि र समृद्ध अनुभव प्रदान गरे ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको २० वर्षे दीर्घकालीन गुरुयोजना तयार गर्ने प्राविधिक समूहको सदस्य बन्ने अवसरले स्थानीय विकासको यात्रा नजिकबाट देख्न र योगदान गर्न मद्दत गर्याे । यस क्रममा मैले थुप्रै स्थानीय जलवायु अनुकूलन योजना, विपद् तयारी तथा प्रतिकार्य योजना (डीपीआरपी) निर्माणको नेतृत्व गर्दै सामुदायिक वनका संस्थागत क्षमता अभिवृद्धि प्याकेजहरूको विकास र कार्यान्वयनमा समेत सक्रिय भूमिका निर्वाह गर्न पाएको छु ।
कोभिड– १९ को महामारी प्रकोपले देशकै रोजगारीका अवसरहरू क्रमशः सङ्कुचित हुँदै गएका थिए । त्यसैबीच, मेरो कार्यकाल पनि सन् २०२१ जनवरीमा समाप्त भयो । त्यसपछिदेखि परिवारको सम्पूर्ण जिम्मेवारी पुनः मेरो काँधमा आइसकेको अनुभूति भयो । एउटा अर्को परियोजनामा अन्तिम चयन सूचीसम्म पुगे पनि, आन्तरिक कर्मचारी समायोजनको नाममा मेरो नाम दोस्रो स्थानमा सारिएको खबर कतैबाट कानमा पर्याे र त्यसै क्षण मनमनै अनेक सोचका छालहरू उर्लिए ।
जीवनयात्राको मोडमा, २०२१ को अक्टोबरमा विश्वप्रसिद्ध डाड (DAAD) छात्रवृत्ति प्राप्त गर्दै म जर्मनीको दिशामा उडेँ । त्यहीँ, जर्ज–अगस्ट विश्वविद्यालय, गोटिङ्गेनमा वनको विविधता विषयमा स्नातकोत्तर अध्ययनको नयाँ अध्याय सुरु भयो । त्यहाँ मैले विश्वस्तरीय विज्ञ, वैज्ञानिक र प्रतिष्ठित प्राध्यापकहरूसँग सँगसँगै अनुसन्धानमा सहभागी हुने दुर्लभ अवसर पाएँ । वन, वातावरण र जलवायु सम्बन्धी आफ्नो ज्ञान तथा सीपलाई थप निखार्ने, सुदृढ बनाउने र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट विस्तार गर्ने अवसर त्यो यात्राले प्रदान ग¥यो ।
अध्ययन पूरा भएपछि भने, जीवन फेरि अर्को दोबाटोमा उभियो । जीवीकोपार्जनका लागि जागिरे जीवन पुनः आरम्भ गर्ने कि शैक्षिक यात्रालाई अगाडि बढाउँदै पीएचडीतर्फ अघि बढ्ने ? यही दुई बाटोको संगममा म केही समयसम्म द्विविधामै उभिइरहेँ ।
यही संवेदनशील घडीमा नेपालमा जेन–जी आन्दोलनले अर्को जनआन्दोलनको झल्को दिएझैँ पुनरावृति भयो । देशमा देखा परेको अनिश्चितताको अवस्थाले मन थप भारी बनायो । म फर्किन चाहन्थेँ, तर दिगो जीवनयापनको क्षितिज भने अझै कुहिरोसरी धमिलो थियो । त्यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशबाट फर्कन इच्छुक युवाहरूका लागि दश प्रतिशत सहभागिता सुनिश्चित गर्ने घोषणा गर्याे । यो मेरा लागि एक राजनीतिक कदम मात्र थिएन, आशाको किरण खुलेको आभाष भयो ।
म त्यो पुस्ताको आवाज हुँ, जसले नेपाल एकीकरणको यात्रादेखि गणतन्त्रको उदयसम्म इतिहासभर राष्ट्र निर्माणमा पसिना बगायो । तर विडम्बना, नीतिनिर्माण तहमा हाम्रो पुस्ताले कहिल्यै आफ्नो प्रतिनिधित्व पाएको थिएन । यही कारण यो प्लेटफर्मले मलाई घर फर्कने अर्थपूर्ण कारण दियो । त्यसै विश्वासका साथ, मैले समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएँ । यो केवल अवसरको खोजीका लागि होइन, बरु म जस्तै आवाजविहीन पुस्ताको सपनालाई साकार बनाउन एउटा कोशेढुंगाको प्राप्ति हो ।
म गन्धर्व समुदायको सन्तान हुँ । त्यो समुदाय, जसले इतिहासको साक्षी हरेक गल्लीगल्लीमा आवाज, शब्द र स्मृतिको ज्योति बोक्यो, तर आफैँ चाहिँ इतिहासको सबैभन्दा टाढाको, ओझेल परेको पानामा धकेलियो । देश एकीकरणको यात्रादेखि सामाजिक चेतना जागरणको मुहानसम्म गन्धर्वले सारंगीका तान, गीतका स्वर र शब्दका धागोले समाजलाई गाँसिरहे । तर, निर्णय हुने ठूला कोठाहरूमा, नीति बन्ने टेबलहरूमा हाम्रो उपस्थितिको आवाज कहिल्यै सुनिएन ।
हाम्रो पहिचानलाई ‘लोकसंस्कृति’को नाममा सम्मान त दिइयो, तर हाम्रो जीवनलाई ‘निम्न’ ठानियो । शिक्षा, रोजगारी, इज्जत र अवसरका ढोकाहरू सधैँ आधा, अधुरो । अपुरो गरी मात्रै खुलाइयो । कहिले जातको पहिरनमा, कहिले गरिबीको बोझमा, त कहिले मौन बसेको अदृश्य पूर्वाग्रहमा ।
गन्धर्व हुनु केवल एक जातीय चिनारी मात्र होइन– यो त पुस्तौँदेखिको संघर्षको इतिहास हो, अदृश्य पीडाको दह्रो र दरिलो आवाज हो, आत्मसम्मानको अखण्ड ज्योति हो । यही विभेद, यही बहिष्करण, यही मौन घाउहरूले मलाई केवल आफ्नै लागि होइन-संरचनाले पछाडि पारेका सबै समुदायको पक्षमा आवाज उठाउने साहस दिएको छ ।
सीमान्तकृत र अल्पसङ्ख्यक गन्धर्व समुदायबाट उभिएको मैले कहिल्यै सोचेको थिइनँ कि एक दिन यस्तो यात्रामा आफैँलाई समाहित गरुँला भनेर । इतिहासमा न राज्यले, न त राजनीतिक शक्तिहरूले हाम्रो समुदायलाई यस्तो विश्वास कहिल्यै दिएका थिए । इतिहासले नदिएको, तर वर्तमानले दिएर पहिचान दिलाएको यो अवसरमा मेरो बौद्धिकता, क्षमता, सीप र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्ने प्रण गर्दछु । अबको यो यात्रा केवल मेरो मात्र होइन, यो मेरो समुदायको स्वर हो । मेरो पुस्ताको अटल दृढता हो र परिवर्तनको आकांक्षा बोकेर हिँडिरहेका सबै नेपालीहरूको सामूहिक कथा हो ।
(लेखक किशोर गन्धर्व हाल जर्मनी, प्रवास समानुपातिक दलित क्लष्टर रास्वपाबाट सिफारिस भएका छन् )













प्रतिक्रिया